Comments Add Comment

‘परजिवी हो सोसल मिडिया, आफू बाँच्न तपाईंलाई चुसिरहेको छ’

काठमाडौं । तपाई‌ंका लागि सोसल मिडिया आवश्यक छैन, तर सोसल मिडियालाई तपाईं चाहिन्छ ।

सोसल मिडिया परजिवी हो । यसको जीवन नै तपाईंका फोटो, मिम, स्विकारोक्ति तथा अभिव्यक्तिहरुका कारण बाँचेको हुन्छ । यसले तपाईंलाई यसरी विश्वस्त बनाएको हुन्छ कि आफ्नो करिअर र मानसिक स्वास्थ्यका लागि यससँग जोडिनु पर्छ भन्ने मानसिकताका साथ ‘नरभक्षी’ सोसल मिडियालाई आहार जुटाइदिन तपाईं आफैं जुटिरहनु भएको हुन्छ ।

ट्वीटर, फेसबुक, इन्स्टाग्राम तथा यस्तैखाले अन्य सोसल मिडियाहरु मूल रुपमा खराब साइटहरु होइनन् । तर यिनीहरु यस्तो गैरसामाजिक प्रकारले सञ्चालित हुन्छन् कि आफ्नो फाइदाको लागि अरुको स्विकृतिविनै अरुलाई उपयोग गरिरहेका हुन्छन् ।

यी सोसल मिडियाहरुले प्रवद्र्धन तथा इनामको लोभ देखाएर मानिसहरुलाई आफूतर्फ आकर्षित गर्दछन् । त्यहाँ तपाईंको काम विस्तृत रुपमा शेयर भएको हुन्छ । तपाईंको उद्देश्यलाई बढाइचढाइ गरिन्छ । त्यहाँ तपाईं कुनैपनि सकारात्मक प्रतिक्रियाबाट अत्यधिक उत्साहित हुनुहुन्छ ।

वास्तवमा सोसल मिडियाहरु क्यासिनो मेसिनका अनलाइन संस्करण हुन् । उनीहरु क्यासिनोको जस्तै मनोविज्ञानका साथ डिजाइन गरिएको हुन्छ जहाँ मानिसहरुलाई लतमा फसाएर आफ्नो नाफा बढाइन्छ । र, क्यासिनोको एकमात्र नियम के हुन्छ भने ढिलो वा चाँडो जित खेल्नेको होइन खेलाउनेकै हुन्छ ।

आफ्नो अकाउन्ट डिलिट गर्नुहुन्न भनेपछि एप डिलिट गर्नुस्

यो गृष्मयामको सुरुमा मैले मेरो मानसिक क्षमता पातलिएको महसुस गरेँ । महामारी तथा सामाजिक खैलाबैलाको यो समयमा म मुस्किलले एक्लै थिएँ ।

वर्षौँदेखि मलाई के थाहा थियो भने सोसल मिडिया भनेको समय सिध्याइदिने माध्यम हो । तर पछि मलाई के महसुस भयो भने केही मिनेटमात्र सोसल मिडिया एप लगातार स्क्रोल गर्दासमेत मभित्र नैराश्यता बढाउन थालेको छ ।

व्यक्तिगत तथा व्यवसायिक सम्बन्धहरु, उपयोगी आलेखहरुको पठन तथा बेलाबेलामा हँसीमजाक गर्ने जीवनका अनुभूतिहरुका लागि जुन संवेगात्मक मूल्यहरु मैले सोसल मिडियामा हुने ठानेको थिएँ त्यो केही पनि पाइन ।

यसले मेरो समय निलिरहेको छ जबकी ३ वटा बच्चाकी आमाको रुपमा मसँग आफैंमा खाली समय कम थियो । साथै यसले मेरो आफ्नो स्वभाविक धैर्यशीलता तथा केन्द्रीकरण हुने क्षमतामा पनि स्खलन ल्याइदिएको छ । र, यसले मलाई कुनै अर्थ र मूल्य नभएका इन्टरनेटमा उपलब्ध सामाग्रीहरुमा समेत चासो दिनैपर्छ भन्ने पारेको थियो ।

मेरा सुन्दर बच्चाबच्चीका रमाइला तस्वीरहरुको श्रोतको रुपमा रहेको इन्स्टाग्रामसमेत दूषित रहेको अनुभव मैले सँगालेको छु । मेरो अनुभूतिमा इन्स्टाग्राम खासगरी महिलाहरुका लागि यस्तो ठाउँ बनेको छ, जहाँ महिलाहरुले आफ्नो बारेमा सबैभन्दा धेरै खराब अनुभूति गर्दछन् ।

एक दिन लञ्च खाँदै ट्वीटरमा ध्ब्लयल नामक ट्वीटर ह्याण्डिलका सामाग्रीहरु स्क्रोल गरिरहँदा मलाई यस्तो महसुस भयो कि मैले मेरो मोबाइल फोनबाट सबै खालका सोसल मिडिया एपहरु डिलिट गर्ने निधो गरेँ । यद्यपि मैले सोसल मिडिया अकाउन्ट नै त डिलिट गरिनँ र अबदेखि फोनमा सोसल मिडिया नचलाउने नियम नै बनाएँ ।

मैले त्यसो गरेको २ महिना भैसकेको छ र जीवनमा मैले यसको सकारात्मक प्रभाव अनुभूत गरेको छु ।

तर म सोसल मिडियाको पूर्णविरोध होइन । मेरो कार्यालयको डेस्कटपमा अझैपनि ट्वीटर खोल्दछु । जहाँ मैले पछिल्ला पत्रकारिताजन्य चर्काचर्कीहरु, सनातनी समाचारहरुका साथै चर्चा गरिएका आलेखहरु पढ्दछु । यसले बाँकी दुनियासँग मलाई जोडेको त छ तर पनि मलाई यसको खासै अर्थ छ जस्तो लाग्दैन ।

यद्यपि मलाई सोसल मिडिया त्यागेको ठूलो देखावटी जनाउनु छैन । मात्र आफ्नो मोबाइललाई सोसल मिडिया एपमुक्त बनाउनु थियो ।

फोनले सोसल मिडियालाई तत्कालै पहुँचयोग्य बनाइदिएको छ । तपाईं चाहे सुपर मार्केटमा होस् वा ससुरालीमा वा एलिभेटरमा, जहाँपनि फोनमा रहेको सोसल मिडिया एपले तपाईंलाई एक्लो तथा बोरिङ हुन दिँदैन ।

तर साँचो के हो भने मानसिक स्वास्थ्य, सिर्जनशीलता र मनेरञ्जक क्षमता हासिल गर्नका लागि समेत हामीलाई केही दिक्कपनाको आवश्यकता पर्दछ । अर्थात् हाम्रो दिमागमा कम्तिमा अलिकति भएपनि खाली ठाउँ चाहिन्छ ।

–एन्थोनी एल फिशर । बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment