Comments Add Comment

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

२३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंमा दुई, कपिलवस्तु, बाँके, अर्घाखाँची, कास्की, बारा, चितवन र सुनसरीमा एक/एक जनाको मृत्यु भएको छ ।

  • बूढानीलकण्ठ, काठमाडौंका ८५ बर्षीय पुरुषको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । सेप्टिक सक, ज्वरो तथा श्वास प्रस्वासमा समस्या भएर भदौ १७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो । उनी मुटुसम्बन्धी रोगबाट समेत पीडित थिए ।
  • महाबौद्वक, काठमाडौंकी ८० बर्षीया महिलाको ग्राण्डी अस्पतालमै मृत्यु भएको छ । ज्वरो, श्वास प्रस्वासमा समस्या लगायतको समस्या लिएर भदौ ३ गते अस्पताल भर्ना भएकी उनी मृगौलासम्बन्धी रोगबाट समेत पीडित थिइन् ।
  • सोमबार मृत्यु भएका तौलिहवा, कपिलवस्तुका ६२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी समस्या पनि थियो ।
  • नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी नेपालगञ्ज उपमहानगरपालिका-१६, बाँकेकी ८० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापको बिरामी उनी स्वास्थ्यमा समस्या आएपछि २१ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
  • सीतगंगा नगरपालिका-१२, अर्घाखाँचीका ४२बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएर युनिभर्सल मेडिकल कलेज, भैरहवामा भर्ना भएका उनको अपरेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भैरहवाको भीम अस्पताल हुँदै उपचारका लागि कोहलपुर लगिएको थियो ।
  • पोखरा महानगरपालिका-१०, कास्कीकी ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । स्वास्थ्य समस्या देखिएपछि मेडिप्लस अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रतिष्ठानमा सारिएको थियो ।
  • महागढीमाई नगरपालिका-१०, बाराका ६० बर्षीय पुरुषको कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको छ । १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनमा मधुमेहलगायतका रोग पनि थियो ।
  • देवचुली नगरपालिका-१, नवलपुरका ६४ बर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा मृत्यु भएको छ । मृगौलामा समस्या देखिएपछि डायलासिस गराउँदै आएका उनी खोेकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।
  • कोरोना संक्रमित सनसरीका ७० बर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९०२ जनामा कोरोना संक्रमण पुष्टि

यसेबीच पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment