२४ भदौ, कास्की । कोरोना संक्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गाैला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ ।
यसपटक गत भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका कारण नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भयो । रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासंघ कास्कीले भदौ १७ गतेदेखि आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुगेको छ ।
जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोेखरेलको २१औँ स्मृति दिवसको सन्दर्भ पारेर कोरोना कहरका बीच जिल्लामै पहिलोपटक भदौ २३ गतेसम्म एक साता आयोजना गरिएको कार्यक्रमबाट २१२ युनिट रगत संकलन भएपछि तत्कालका लागि अभाव हटेको हो ।
रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कोरोना त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक सातासम्म गरिएको कार्यक्रमबाट केन्द्रमा रगतको मौज्दात बढाउन सहयोग पुगेको र अभाव हटेको बताए । उनका अनुसार निषेधाज्ञा अलि खुकुलो भएपछि नियमित कार्यक्रमको तालिकासमेत बन्न शुरु भएकाले अब अभाव नहुने विश्वासमा रहेको जनाए ।
हाल कोही पनि विरामी रगत अभावमा फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उनले दैनिक गरिएको कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको उल्लेख गरे । ‘एक सातासम्म एउटा संस्थाले रक्तदान कार्यक्रम गरेको पोखरामा पहिलोपटक हो, उहाँहरुले थालनी गरेको कामबाट नयाँ अनुभव प्राप्त भएको छ,’ ज्ञवालीले भने, ‘आगामी दिनमा अभावका बेला सहज रगत आपूर्तिका लागि व्यवस्थापन गर्न आँट मिलेको छ ।’
राजनीतिसँगै युवालाई सामाजिक कार्यमा जोड्ने योजनाअनुसार राष्ट्रिय युवा संघले पोखरामा बर्सेनि नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ तर साताव्यापी कार्यक्रम भने पहिलोपटक गरेको हो ।
युवा संघ कास्कीका संयोजक भोजराज पौडेलले निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रमसमेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताए ।
‘हामी राजनीतिक संगठन हौं, तर संकटको बेलामा त्यससँग जुध्दै सामाजिक कार्य गर्न सक्षम छौँ भनेर प्रमाणितसमेत गरेका छौं,’ पौडेलले भने, ‘यसबाट लामो समय निष्क्रिय संगठनका नेता कार्यकर्तालाई समेत योजनामा जोडेर क्रियाशील बनाउन र समस्या पर्दा युवा जनताको साथमा उपस्थित रहन्छ भन्ने सन्देश दिन सफल भयौं ।’
युवा नेता विनय थापाले प्रतिकूल परिस्थितिको सामना गर्दै कार्यक्रम गरिएको बताउँदै युवा जहिले पनि रचनात्मक र सामाजिककार्यमा क्रियाशील हुँदै आएको बताए । जनताका समस्या र आवाजलाई सम्बोधनका लागि आगामी दिनमा समेत अप्ठ्यारो अवस्थामा अग्रभागमा रहेर काम गर्ने गरी योजना निर्माण गरिने उनको भनाइ छ । उनले भने, ‘चुनौतीका बीचमा एक दिन कार्यक्रम गरे पनि हुन्थ्यो तर अप्ठ्यारो अवस्थाको सामना गरेर एक सातासम्म राम्रोसँग व्यवस्थित हिसाबले सफल भयो ।’
कोरोना कहरका बीचमा शहीदको स्मृति दिवस पारेर आयोजना गरिएको कार्यक्रमले शहीदप्रति समेत सम्मान भएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामा बताउँछन् । ‘हाम्रो कार्यक्रमले युवाहरु संकटका बेलामा समेत एकजुट हुन सक्छन् भन्ने सन्देश दिएको छ, अप्ठ्यारो समयमा समेत युवाहरु रगत दिन तयार भए । यसले शहीदप्रतिसमेत सम्मान भएको छ,’ उनले भने ।
पोखरामा दैनिक ७० युनिट हाराहारीमा रगतको माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । निषेधाज्ञाका बेलामा रगत आपूर्तिका लागि अहिले रक्तसञ्चारको घुम्ती रक्त संकलन एम्बुलेन्स बसमार्फत रक्तदान कार्यक्रम हुँदै आएको छ । केन्द्रले दुई वा सोभन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा सम्बन्धित व्यक्ति रहेकै स्थानमा एम्बुलेन्स बस पठाउने गरेको छ । केन्द्रले पूर्वनिर्धारित कार्यक्रम स्थगन नगर्न र नियमित रक्तदानका कार्यक्रम गर्नसमेत आग्रह गरेको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4