Comments Add Comment

आन्तरिक पर्यटन प्रवर्द्धन रणनीति : सातामा दुई दिन सार्वजनिक बिदा !

२६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रले विगतमा गरिरहेको एक गल्तीबाट पाठ सिकेको छ, त्यो हो आन्तरिक पर्यटकमाथिको उपेक्षा । यसलाई स्वीकार गर्छन्, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं । उनी भन्छन्, ‘अब हाम्रो घैंटोमा घाम लागेको छ, हिँजो डलर–डलर भन्दै आन्तरिक पर्यटकमाथि वेवास्ता भयो ।’

उनको यो संकेत कोरोना महामारीकै बीचमा आन्तरिक पर्यटक घुमघाममा निस्कन्छन् भन्ने होइन, विदेशी पर्यटक आउन लामो समय लाग्ने अवस्थामा शुरुवात आन्तरिक पर्यटकबाटै गर्न सकिने अवस्था थियो । तर, विगतमा आन्तरिक पर्यटनलाई प्राथमिकता नदिँदा दुवै क्षेत्र सुस्ताउने चिन्ता व्यवसायीमा छ । यसै सन्दर्भमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्र आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति निर्माणमा जुटेका छन् ।

सातामा दुई दिन सार्वजनिक बिदा !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा छन् । मन्त्रालय अबको दुई वर्ष सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा रहेको मन्त्री योगेश भट्टराईले जानकारी दिए । मेरो प्रस्ताव सातामा दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा गरौं भन्ने छ, यसले घुमघाममा निस्कन चाहनेहरुलाई पर्याप्त समय मिल्छ, यो पर्यटन पुनरुत्थानका लागि पनि महत्वपूर्ण सावित हुनेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी सबैलाई फलदायी हुने अपेक्षा होटेल व्यवसायीको छ

मन्त्री भट्राईका अनुसार अहिले आन्तरिक पर्यटन प्रवर्द्धनबाटै पर्यटन क्षेत्रलाई जीवित राख्न सकिने सम्भावनाबारे सरकारले निजी क्षेत्र र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा रणनीति बनाइरहेको छ । सम्भवतः सोही रणनीतिमा साताको दुई दिन सार्वजनिक बिदा दिने गरी कार्यक्रम समेटिने भएको छ ।

महामारीबाट पर्यटन क्षेत्रलाई तत्काल धरासायी हुन नदिन आन्तरिक पर्यटन रणनीति बनाएर जान लागिएको नाट्टाका अध्यक्ष गुरागाईंले जनाए । ‘लामो समय विदेशी पर्यटक आउने सम्भावना नरहेका कारण अब आन्तरिक पर्यटककै भरमा उद्योग धानिनुपर्छ,’ उनले भने, ‘विगतमा आन्तरिक पर्यटनलाई प्राथमिकता नदिएका हामी पनि अब सच्चिनु पर्ने बेला भएको छ ।’

माइनसमा व्यवसाय

६ महिनादेखि आम्दानीविहीन होटेल, एअरलाइन्स र पर्यटन व्यवसायीले अब पर्यटन व्यवसायी माइनसमा गइसकेको बताउँछन् । ‘आम्दानी रोकिएको ६ महिना भयो, घरभाडा तिर्नुपरिहाल्यो, कर्मचारीलाई तलब दिनु प¥यो, मर्मत सम्हार नियमित नगरेपछि झन् ठूलो भार पर्छ,’ होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘हामी त अब माइनसमा छौं ।’ उनले नेपाल राष्ट्र बैंकमा स्थापना हुने भनिएको पुनरुद्धार कोषबाट समेत कात्तिकयता ऋण लिन सक्ने अवस्था नभएकाले व्यवसायीमा समस्या थपिएको बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी सबैलाई फलदायी हुने अपेक्षा होटेल व्यवसायीको छ ।

उता, वायुसेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेल सेवा सन्चालन हुनासाथ भरिभराउ मान्छे नहुने भन्दै खुला भएको सन्देश दिनसमेत आन्तरिक उडान सुरु गर्नु पर्ने सुझाव दिन्छन् ।

व्यवसायीहरुका अनुसार गत वर्ष सेप्टेम्बर–अक्टोबरमा आएका कतिपय बुकिङ अहिले पनि एक्टिभ छ । त्यसैले सरकारले अनुमति दिने हो भने केही विदेशी पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको व्यवयायीको भनाइ छ । त्यसका लागि स्वास्थ्य प्रोटोकलमा कडाइ गरी भिसा नीति भने सहज बनाउनु पर्ने माग व्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment