Comments Add Comment

धान्नै गाह्रो भो भान्सा  

लामो निषेधाज्ञाको समयमा आफ्नै घरको करेसाबारीमा फलाएको तरकारी खाएकी ललितपुर च्यासलकी नानीमाया श्रेष्ठ शनिबार तरकारी किन्न बजार जाँदा आत्तिइन् । एक धार्नी रातो आलु किन्न गएकी उनी २५० रुपैयाँ धार्नी भनेपछि केहीदिनमा त सस्तिएला नि भन्दै आधा धार्नी मात्रै लिएर हिँडिन् । आइतबार कालीमाटी तरकारी बजारको मूल्य सूची अनुसार थोक मूल्य नै रातो नेपाली आलुको २३० रुपैयाँ प्रतिधार्नी तोकिएको छ । यो वर्ष आलु मात्रै होइन अधिकांश तरकारीको भाउले आकाश छोएको छ ।

विष्णु पाठक काठमाडौंको बुद्धनगर क्षेत्रमा गाढामा तरकारी बेच्दै हिँड्छन् । भदौ २४ गतेदेखि स्थानीय प्रशासनले उनीहरूलाई व्यवसाय गर्न दिने निर्णय गरेसँगै उनले आफ्नो गुजाराको स्रोत चलाउन थाले । उनी पहिलेको भन्दा फाइदाको मार्जिन केही बढी राख्ने गरेको बताउँछन् । अनौपचारिक कुराकानीमा उनी भन्छन् ‘सुन्छु गाढावालालाई बन्द गर्नु भनेका छन् रे । आफ्नो रोजीरोटीको सवाल छ । केही महँगो नै हुने गरेको छ ।’ काठमाडौंमा कोरोनाको महामारी बढिरहेकोले कुन दिन फेरि घरमा थुनिनुपर्ने भन्ने यकिन नहुँदा तरकारी र फलफूलमा समेत ‘कमाइहालौं’ भन्ने सोचले पनि बजारमा भाउ बढेको जानकारहरू बताउँछन् ।

पटक पटकको लकडाउन र निषेधाज्ञाका कारण तरकारी पसल पनि लामो समय बन्दप्रायः रहे । स्थानीय प्रशासनले निश्चित समय तोकेर तरकारी बजार खोल्न भनिए पनि त्यो समयमा नबिकेका तरकारी फोहोरको रूपमा फाल्नु पर्ने अवस्था थियो ।

एकातिर बजारमा ल्याएको तरकारी बिक्रीमा समय निर्धारण गरिँदा समस्या सिर्जना भएको छ भने अर्काे तर्फ ढुवानीमा नै समस्या सिर्जना हुँदा पनि बजार महँगो भएको खुद्रा व्यापारीहरू बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ तरकारी ढुवानीमा अवरोध नगर्ने भनिए पनि व्यवहारिक रूपमा पहिले जस्तो निर्वाध रूपमा आउन सक्ने अवस्था नहुँदा किसानबाट बजारसम्म आउँदा नै तरकारी महँगो भइसक्ने गरेको बताउँछन् । उनी भन्छन् ‘पहिलो त ढुवानीमा समस्या र दोस्रोमा दिनभरि पसल खोल्न नदिएका कारण बजार महँगो भएको खुद्रा व्यापारीहरूले बताउने गरेका छन् ।’ उनी सम्भावित क्षतिलाई समेत सुरुमै मूल्यमा जोडेर बताउनुपर्ने कारणले पनि मूल्यवृद्धि भएको बताउँछन् ।

अघिल्लो वर्षको यही दिन औषतमा ४९ रूपैयाँ रहेको ठूलो गोलभेँडाको मूल्य आइतबार ९८ रूपैयाँ प्रतिकेजी तोकिएको थियो ।

कालीमाटी तरकारी तथा फलफूल बजारले हरियो लसुनको आइतबारको मूल्य औसतमा १६५ रूपैयाँ तोकेको छ । अघिल्लो वर्षको यही समयमा हरियो लसुनको औसत मूल्य १२८ रूपैयाँमा थियो ।

काउलीको भाउ थोक बजारमा अहिले ११५ रूपैयाँ प्रतिकेजी छ । जुन अघिल्लो वर्षको यही समयमा औसत ७६ रुपैयाँमा बिक्री हुने गरेको थियो ।

यो कालीमाटी तरकारी बजारको मूल्य दर हो । जुन अघिल्लो वर्षको यही समयसँग तुलना गरेर हेर्न सहज छ । तर बजारमा झनै तरकारीको भाउले आकाश छोएको छ । एकातिर कोरोना महामारीले समस्यामा रहेका राजधानीवासी महँगिएको भन्सासँगै झनै समस्यामा परेका छन् ।

कोरोना भाइरस कोभिड १९ को महामारीका कारण तरकारी तथा फलफूलको ढुवानी कम भएको छ । सरकारले अत्यावश्यक सेवामा तरकारीलाई समेत राखे पनि सामान्य अवस्थामा जस्तो ढुवानी सहजता नरहेको व्यापारीहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment