Comments Add Comment

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बिमा गर्ने

२९ भदौ, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ ।

मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बिमा गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कूल जनसङ्ख्याको ४८ प्रतिशत नागरिकको कोरोना बिमा गर्ने योजना छ । कूल २५ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकाले पहिलो चरणमा १२ हजारको कोरोना बिमा गर्ने योजना ल्याएको सो गाउँपालिकाले जनाएको छ । सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको नौ लाख रुपैयाँ खर्च गरेर उनीहरुको कोरोना बिमा गरिदिने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

‘सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकको बिमा गरिदिने छौँ’ उनले भने । सहकारीको सदस्य भएमा सहकारीले १००, व्यक्तिले १०० र गाउँपालिकाले १०० रुपैयाँ तिर्ने गरी बिमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए  । सहकारीको सदस्य नभएमा बिमा गर्ने व्यक्तिले २०० तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले १०० थप गरी बिमा गरिदिने मिश्रले जानकारी दिए ।

तामाकोशी गाउँपालिकामा हालसम्म एक जनामा पनि कोरोना सङ्क्रमण नदेखिएको भए पनि बिमा कार्यक्रमबाट नागरिकले भरपुर लाभ लिनसक्ने गाउँपालिकाको अपेक्षा रहेको सो गाउँपालिकाका वडा नं १ का अध्यक्ष महेश काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment