Comments Add Comment

पुलको विवादमा निर्दाेष मारिए, १८ दिनपछि योजनाकार पक्राउ

३० भदौ, विराटनगर । मोरङको बेलबारीमा एक जनाको मृत्यु हुने गरी भएको आक्रमणको घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।

१२ भदौमा बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको सांघातिक आक्रमणका योजनाकार बेलबारी –५ का ३१ वर्षीय विनय सरदार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

घटना भएको १८ दिनपछि सोमबार राति प्रहरीले उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनबाट पक्राउ गरेको हो । उनलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर स्थानीय ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो भने उनको परिवारका ३ जना घाइते भएका थिए ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चन्द्रकुमारको उपचारका क्रममा भदौ १२ गते नै बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।

पुलको विषयमा झडप निर्दाेष मारिए

लोहन्द्रा खोलाको पुल तीन वर्षअघि बाढीले बगाएपछि बर्खामा आवतजावत गर्न स्थानीय वासिन्दाले बाँसको पुल बनाएका थिए । पुलबाट हिँडडुल गर्न मानिसलाई निशुल्क भए पनि मोटरसाइकल पार गराउँदा २५ रुपैयाँ लिने गरिएको थियो ।

राजन चौधरी, मञ्जा माझीलगायतका युवाहरुले लोहन्द्रा खोलामाथि बाँसको ढाँट राखेर शुल्क उठाउँदै आएका थिए । वडा अध्यक्ष विश्वबन्धु बस्नेतका अनुसार पक्की पुल बाढीले बगाएसँगै खोला वारपार गर्न समस्या हुँदा स्थानीय युवाले बाँसको पुल बनाएका थिए ।

भदौ ११ गते राति सो पुलमा मादक पदार्थ सेवन गरेर आएका कसेनीकै दिनेश श्रेष्ठलगायतका युवाहरुले पुलबाट उठाएको पैसा आफूहरुलाई पनि दिनुपर्ने बताएका थिए । सो क्रममा विवाद भएको प्रहरीको दाबी छ ।

विवादमा ग्रामथान गाउँपालिका–२ का ३३ वर्षीय कृष्ण चौधरीले कसेनीकै विनय सरदारलाई फोन गरेर बोलाएको प्रहरीले बताएको छ । त्यसपछि विवादले उग्र रुप लिए पनि स्थानीयले समाधान गरेका थिए ।

तर भोलिपल्ट सरदारले १५–२० जनाको समूह लिएर राति विवाद गर्नेको खोजीका लागि गाउँ पसेका थिए । प्रहरीका अनुसार सो विवाद मिलाउन चन्द्रकुमार पुगेका थिए । तर झगडा नगर भन्दै गएका उनीमाथि बञ्चरो प्रहार भयो ।

चन्द्रबहादुर विराटनगरमा नृत्य प्रशिक्षण गराउँथे । तर लकडाउनका कारण उनी घर गएका थिए । चन्द्रबहादुरलाई आक्रमण भएपछि छुट्याउन भन्दै पुगेका उनका भाई सइकुमार, समुन्द्र र भतिज गौरवमाथि पनि आक्रमण भयो । उनीहरु भने उपचारपछि घर फर्किएका छन् ।

घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परेका थिए ।

ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथन– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्केलगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु माथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment