Comments Add Comment

युवराज खतिवडा अब ‘डिफ्याक्टो अर्थमन्त्री’

३१ भदौ, काठमाडौं । जननिर्वाचित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद सदस्य नै नरहेका डा. युवराज खतिवडालाई ६ महिनासम्म अर्थमन्त्री बनाए । अहिले फेरि मन्त्रीसरहको सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार बनाएर ‘डिफ्याक्टो’ अर्थमन्त्रीको भूमिकामा उभ्याएका छन् ।

प्राचीन ल्याटिन भाषाबाट अंग्रेजीमा प्रचलनमा आएको ‘डिफ्याक्टो’ शब्दको विधिशास्त्रीय अर्थ हो- कानूनी मान्यता नपाए पनि व्यवहारतः सोहीबमोजिमको भूमिका निर्वाह गर्नू ।

अर्थात्, अब डा. खतिवडाले सांसद नभएको अवस्थामा संविधानतः अर्थमन्त्री बन्न पाएनन्, त्यसैले प्रधानमन्त्री ओलीले उनलाई ‘डिफ्याक्टो’ अर्थमन्त्री बनाएका हुन् । अब अर्थमन्त्रालय प्रधानमन्त्री ओलीले नै राखुन् या तेस्रो व्यक्तिलाई नियुक्त गरुन्, अर्थमन्त्रालयको सञ्चालनचाहिँ ‘डिफ्याक्टो’ अर्थमन्त्री खतिवडाले नै गर्ने पक्कापक्की भएको छ ।

अब खतिवडाको भूमिका प्रधामन्त्रीलाई सल्लाह दिने मात्रै नहुने आकलन अर्थविदहरुको छ । अब खतिवडाले अर्थमन्त्रालय मात्रै हैन, उद्योग वाणिज्य तथा आपूर्तिदेखि भौतिक पूर्वाधार तथा यातायातदेखि ऊर्जा मन्त्रालयसम्मका गतिविधिलाई अझै बढी नियन्त्रणमा राख्न खोज्ने आकलन गर्छन् एक पूर्ववाणिज्य सचिव ।

अर्थनीतिसँग प्रत्यक्ष संलग्न मन्त्रालय र तिनका मन्त्रीलाई खतिवडाले प्रधानमन्त्रीको इच्छाअनुरुप चलाउन विशेष भूमिका निभाउने उनको अनुमान छ ।

यसले मन्त्री र प्रधानमन्त्रीबीचको दूरी अझै बढाउने र सरकारबाट अपेक्षित नतिजा हात पार्न झन गाह्रो हुने ती पूर्वसचिवको विश्लेषण छ ।

आफूभन्दा कनिष्ठ मन्त्रीका रुपमा ‘पावर पोलिटिक्स’ गरिसकेका खतिवडालाई मन्त्रीसरह मर्यादा दिएर प्रधानमन्त्रीले नजिकै राख्दा अन्य मन्त्रीहरुले लघुताभाष महसुश गर्ने र उनीसँग आफ्ना विषयहरु राख्न नसक्ने जोखिम रहेको विज्ञहरु बताउँछन् ।

अर्थविद दीपेन्द्रबाहदुर क्षेत्री पनि पूर्ववाणिज्य सचिवको भनाइमा सहमत छन् । ‘अब एदेखि जेडसम्मका सबै मन्त्री र मन्त्रालयमा प्रधानमन्त्रीको अनुमति बेगेर एउटा निर्णय हुन सक्दैनन्,’ उनी भन्छन्, ‘सचिवहरुबाट मन्त्रालयको कामकारवाहीको ब्रिफिङ लिने शैली झाँगिँदै गर्दा खतिवडाको प्रवेशले अब झन नयाँ परिस्थिति खडा हुन सक्छ, जसले गर्दा दुईतिहाई सरकारका मन्त्रीहरु अझै निरीह बन्ने आउन सक्छ ।’

राष्ट्र बैंकलाई नै सरकारको प्रमुख आर्थिक सल्लाहकारका रुमा मानिन्छ । तर, अब प्रधानमन्त्रीले खतिवडालाई विशेष आर्थिक सल्लाहकारको पद दिएपछि राष्ट्र बैंकको भूमिका खुम्चिने हो कि भन्ने चिन्ता विज्ञहरुबाट व्यक्त भएको छ ।

यसैपनि अहिले राष्ट्र बैंकबाट सरकारले सल्लाह लिने भन्दा बढी राष्ट्र बैंकमा नै सरकारको प्रत्यक्ष्य हस्तक्षेप बढेको विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा खतिवडाको सिंहदरबार प्रवेशले थप संसय खडा गरेको छ ।

अहिले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुभन्दा प्रधानमन्त्रीकै सल्लाहकारहरु बलिया मानिन्छन् । मन्त्रीलाई छलेर सचिवबाट मन्त्रालयको काम कारबाहीको ब्रिफिङ लिनेदेखि प्रधानमन्त्रीको निर्देशन भन्दै मन्त्रीलाई आफू अनुकुलकै निर्णय गराउन बाध्य बनाउनेसम्मका गतिविधिबाट मन्त्रीहरु वाक्कदिक्क हुँदै आएका छन् ।

मन्त्रीहरुले आफ्ना समस्या पनि प्रधानमन्त्रीसँग राख्न नपाएको र सल्लाहकारहरुकै ब्रिफिङ सुनेरै प्रधानमन्त्रीले मन्त्रालय र मन्त्रीप्रति धारणा बनाउने गरेको कुरा गत मंसिरमा बर्खास्तमा परेकी महिला तथा बालबालिकामन्त्री थममाया थापामागरले सार्वजनिकरुपमै बताएकी थिइन् ।

प्रधानमन्त्रीका सल्लाहकारहरुको यो शैली अहिलेसम्म पनि कायमै छ । अब त्यही भीडमा थपिएका छन्, ‘डिफ्याक्टो’ अर्थमन्त्री डा. युवराज खतिवडा । प्रधानमन्त्रीसँगको निकटताकै कारण अर्थमन्त्रीबाट राजीनामा दिएको १० औं दिनमा दिनमा नै खतिवडाले पुनः सिंहदरबार प्रवेशको अवसर पाएका हुन् ।

त्यसो त अर्थविदहरु खतिवडाको सिंहदरबार पुनः प्रवेशलाई ‘सरप्राइज’ मान्दैनन् । अर्थमन्त्रीबाट राजीनामा दिएको पर्सिपल्ट नै प्रधानमन्त्रीले खतिवडा शक्तिमा रहिरहने संकेत गरिसकेका थिए । उद्योगी व्यवसायीसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले खतिडालाई पनि सँगै राखेका थिए । र, उनले खतिवडा कुनै न कुनै भूमिकामै रहने बताएका थिए ।

एक पूर्वअर्थसचिव ओली सरकारमा अब नयाँ अर्थमन्त्री नियुक्त हुने सम्भावना लगभग टरेको बताउँछन् । अहिले प्रधानमन्त्री आफैंले अर्थ मन्त्रालय सम्हालेका छन् ।

अब अर्थ मन्त्रालयमा नयाँ मन्त्री ल्याएमा खतिवडाको भूमिका स्वतः कमजोर हुने भएकाले प्रधानमन्त्रीले त्यस्तो कदम नचाल्ने उनको विश्लेषण छ ।

‘डा. खतिवडाप्रति प्रधानमन्त्रीको आगाध स्नेह छ, अब खतिवडाले आर्थिक सल्लाहकारका रुपमा अर्थमन्त्रालय हेर्ने योजना बनेको जस्तो देखिन्छ,’ अर्थविद दीपेन्द्रबहादुर क्षेत्री भन्छन्,’नयाँ अर्थमन्त्री आइहाले पनि अब प्रधानमन्त्री र खतिवडाको छायाँमा पर्ने भएकाले उसले आफ्नै नीति बनाएर काम गर्न सक्ने अवस्था रहँदैन ।’

अब कोही अर्थमन्त्रीका रुपमा आए ‘कठपुतली’ मात्रै बन्ने उनको विश्लेषण छ । प्रधानमनत्री र उनको टिमको राय बेगर पनि कुनै मन्त्रीले कुनै निर्णय गर्न नसकिरहेका बेला खतिवडाको प्रवेशले त्यो गाँठो अझै कसिलो बन्ने क्षेत्रीको भनाइ छ ।

प्रधानमन्त्रीले अर्थ मन्त्रालयका कर्मचारीहरुको आत्मविश्वासका लागि भए पनि अर्थराज्य मन्त्रीसम्म लैजाने सम्भावना विज्ञहरु देख्छन् ।

नाम नलेखेख्ने शर्तमा एक अर्थविदले बताए अनुसार डा. खतिवडाले आफ्नो अर्थनीतिलाई ५ वर्षसम्म आफैं डोेर्‍याउने अवसर पाएको बताउँछन् ।

महामारीका कारण अर्थतन्त्र ज्यादै नकारात्मक भएका बेला मन्त्रालय छाड्न परेकाले पनि खतिवडा आफ्नो राजनीतिक भविष्यबारे पनि चिन्तित थिए । त्यसैले आफ्ना नीतिहरुलाई ‘सही थिए’ भन्ने पुष्टि गराउन खतिवडाले प्रधानमन्त्रीसँगै बसेर काम गर्न खोजेको विज्ञहरुको विश्लेषण छ । तर, अर्थ मामिलाको विज्ञ भएर पनि अर्थमन्त्रीका रुपमा खतिवडाको कार्यकाल सफल हुन नसकेको आरोप उनीमाथि लागिरहेको छ ।

‘डा. खतिवडा ‘टेस्टेड क्याडर’ हुन्, उनीमाथि असफलताको आरोप छ,’ ती अर्थविद भन्छन्,’ जसरी पनि आफू सफल अर्थराजनीतिज्ञ बन्ने दौडमा उनी यो भूमिकामा आए, तर विज्ञता प्रयोग गर्ने भन्दा पनि प्रधानमन्त्रीकै बोली बोल्ने ‘सुगा’ बन्ने शैली भएकाले आगामी चुनावसम्म उनले नतिजा दिने गरी काम गर्लान् भन्ने लागेको छैन । ‘

तर, कतिपय सफलताउन्मुख अर्थनीतिहरुलाई अघि बढाउन सकारात्मक भूमिका खेल्न सकेेमा खतिवडासामु नयाँ अवसर सिर्जना भएको विज्ञहरु बताउँछन् ।

प्रधानमन्त्रीले ‘सुन्न चाहेका’ भन्दा उनका लागि अप्रिय नै भए पनि पनि देशलाई लाभ हुनेखालका सुझाव दिएर खतिवडाले सल्लाहकारको वास्तविक भूमिका खेल्नुपर्ने विज्ञको जोड छ ।

गत फागुनमा राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेपछि प्रधानमन्त्रीले खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुनः मनोनित सदस्यका रुपमा ल्याउन चाहेका थिए । तर, बामदेव गौतम आकांक्षीका रुपमा उभिएपछि संविधानतः ६ महिनासम्म राष्ट्रियसभा सदस्य खाली रह्यो । यो अवधिमा सांसद नरहे पनि खतिवडाले अर्थमन्त्रीका रुपमा दोस्रो कार्यकाल पूरा गरे ।

योबीचमा सत्तारुढ नेकपाभित्रैको किचलोले राजनीतिक संकट आयो । बामदेव गौतमले आकांक्षा देखाएपछि खतिवडालाई निरन्तरता दिन नक्ने अवस्थामा पुर्‍याइदियो । तर, सिंहदरबारबाट बाध्यात्मक बहिर्गमन भोगेका खतिवडा पुनः विगतको जत्तिकै बलियो भएर सिंहदरबार प्रवेश गर्ने भाग्यमानी ठहरिएका छन् ।

हेरौं, अब अर्थ मन्त्रालय कसरी, कसको नेतृत्वमा चल्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment