+
+
Shares

समाजका नाइकेहरु नै बलात्कारीको संरक्षक कहिलेसम्म ?

डा. अच्युतशाली घिमिरे डा. अच्युतशाली घिमिरे
२०७७ भदौ ३१ गते १३:४२

एकाबिहानै एउटा समाचारले मेरो मन भतभती पोल्यो। छ रेक्टर स्केलको भूकम्पले नहल्लिएको मेरो तन एक्कासी यो खबरले हल्लिन पुग्यो। खबर कुनै नौलो वा सुन्दै नसुनेको त होइन। तर पनि आजकल नारीको अस्मितामाथि धावा बोल्दै आएका समाजका नाइकेहरु देखेर नै उदेक लाग्यो। समाचार सप्तरीको थियो।

न्याय नपाएपछि बलात्कृत किशोरीले आत्महत्या गरेको घटना थियो । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न जाँदा सामूहिक बलात्कार भोगेकी उक्त किशोरीलाई समाजका मण्डलेहरुले आरोपितविरुद्ध प्रहरी कार्यालय जान रोकेका थिए। रु ५५ हजार क्षतिपूर्ति दिएर कुरा मिलाउन गाउँका भलाद्मी भनिने पञ्चेहरुले नै निर्णय गरेका थिए।जुन निर्णयबाट चित्त नबुझेपछि किशोरीले आत्महत्याको बाटो रोजिन्।

समाजका नाइकेहरु नै बलात्कारीको संरक्षक भएपछि कसको के लाग्छ? समाजको सिद्धान्त नै घटनाको ढाकछोपमा लाग्ने भएपछि कसरी यौन हिंसा साम्य हुन्छ? नारी अस्मिताको रक्षा गर्न यस्ता गाउँ सभा र पञ्चेहरु अप्रभ्रंश हुँदैछन्।

आफूलाई विचारको पुजारी ठान्ने तर यौनशोषणमा आँखा चिम्लिएर सहिछाप गर्ने अगुवाहरु नै व्यर्थ छन्।यस्ता संवेदनशील घटनाहरुलाई ओझेलमा पारेर, प्रमाणहरु मेटाएर समाजलाई अँध्यारो कोठरीमा धकेल्न यस्तै ‘भलाद्मीहरु’ को तडक भडक ज़िम्मेवार छन्।

के बलात्कृत किशोरीका फुटेका हातका चुराहरु,बलात्कारीबाट जोगिन गरेका संघर्षहरु ले समाजलाई प्रश्न गर्दैन? के सीमित पैसासँग नारीको अस्मिता साट्न तम्सिएर भेला भएका गाउँलेहरुको घरमा हुर्किदै गरेका चेलीबेटी छैनन् ? अनि सरकार,के सधैं कहिले उखुबारीमा त कहिले धानबारीमा सोझा साझा किशोरीहरुले आफ्नो अस्मिता सँगै प्राण पनि गुमाउँदै जानुपर्ने हो ?

यहाँ कस्को हुकुम चलिरेहछ सरकार ? तिम्रो वा तिम्रो लवजमा नक्कल गर्ने अन्धविश्वासी जमातहरुको ? यहाँ फुल्ने आकांक्षा मेट्न नपाउँदै कोपिला मै चुडिँएका कथाहरु तिमी किन सुन्दैनौ सरकार ? किशोरीहरुको चित्कारबाट त अब ब्युँझ। समाजका काला चरित्रहरुलाई कृत्रिम पाउडर दलेर चम्किलो बनाउन नखोज सरकार।जब जब तिमी यस्तै समाजका कसिङ्गरहरुको छायाँमा पर्छौ तिमी यस्तै निकम्मा देखिन्छौ र व्यवहारमा शुन्य प्राय हुन्छौ । पुलिस प्रशासन पनि तिमीजस्तै खिया लागेको संयन्त्रको प्रहशन गरिरहन्छ। समाजलाई कानुनी आकार दिनु पर्नेमा समुदाय स्तरको लोकल प्रभुत्वको आडमा यौनहिंसा गर्न कहाँ पाइन्छ र ? नैतिक नियमभित्र समेत नबाँधिएका यस्ता नरपशुहरुलाई हत्कडीभित्र बाध्नुपर्छ।

अर्को पाटो, समाजमा हुने गरेका सभाहरु कत्तिको वैधानिक छन् ? भन्नेमा पनि अब प्रश्न उठाउनेबेला आइसकेको छ।अग्रज र पूज्य व्यक्तित्वहरु सामेल भएको भनिएका गाउँले भेला वा सभाहरु नारीको अस्मितालाई हेर्ने दृष्टिकोण नै तल्लो थियो र छ।

उदाहरणका लागि महाभारत कै सभापर्व अन्तर्गत रहेको द्रौपदी चीरहरण घटनाबाट समेत नारीको कुमारित्व कसरी बिक्री गरिन्थ्यो भनेर जानकारी लिन सकिन्छ। युधिष्ठिरले जब आफ्नो सर्वस्व जुवामा हारेपछि द्रौपदीलाई समेत दाउमा लगाउनु र हारेपछि दुर्योधनले दासी बनाएर द्रौपदी लैजान पाउनु जस्ता पौराणिक इतिहास पढ्दा पनि आङ नै सिरिंग हुन्छ।

पत्नी भनेको एउटा साधन हो भन्ने बुझाईलाई चरितार्थ गर्न मात्र खोजिएको बुझिन्छ।पाँच पाण्डवका नै साझा पत्नी रहेकी सुन्दरी द्रौपदीलाई जुवामा हारेपछि रजस्वला भएको बेलामा समेत लछारी पछारी दुर्वाच्य बोल्दै मान्यजनहरु रहेको सभामा लगेर तिरस्कार गरिनु कदापि पठनीय पनि छैन।

नारीको अस्तित्व र अस्मितामाथि नै विरोधाभास सिर्जना गरेर वेश्या जस्तै पाँच पतिका एक पत्नी हुनु नै आफैमा घोर आपत्तीजनक देखिन्छ।धन्न कृष्ण आएर द्रौपदीलाई निवस्त्र हुनबाट जोगाए नत्र त्यत्रो सभामा दुर्योधनले सारी तानेर द्रौपदीलाई नाङ्गो बनाउन खोज्दा निरिह भएर बसेका नीति नियमका वरिष्ठ पालकहरु लाई हेर्दा पनि थाहा हुन्छ नारीहरुलाई सहनकर्ताको रुपमा नै इतिहासले वर्णन गरेको छ।नत्र द्रौपदीका ती पुकारहरु, रोदनहरु र याचनाहरुको मूल्यांकन अवश्य त्यस सभाले गर्ने नै थियो।तर लज्जित भावमा शीर निहुराएर पत्नीको अस्तित्व संकटमा पर्दा समेत केही नबोल्ने पाँच पाण्डवहरु कै कारण सभाहरुले पनि नारीको कुमारित्वलाई न्याय गरेको छैन भन्ने कुरा प्राचीन कालदेखि नै प्रष्ट देखिन्छ।

म एउटा मेडिकलको विद्यार्थी हुँ।पेशाले चिकित्सक छु।नारीलाई जननीका रुपमा हेरिन्छ।त्यसैले पनि नारीमा गर्भाशय, योनी र स्तनजस्ता अङ्ग हुनु एउटा सामान्य शरीर रचना अन्तर्गत पर्दछ। तर, सृष्टिकर्ताका रुपमा हेरिने नारीका यी अङ्गहरु नै बलात्कारका कारण किन बन्छन् ? साँच्चै एउटा आमाले छोरी जन्माउँदा गर्व गर्ने दिन कहिले आउँछ ?

ओहो लेख्दा पनि हात नै काँप्छन्। नारीको अधिकारअन्तर्गत पर्ने भर्जिनिटी माथि अङ्कुश लगाउने पुरुषवादी चिन्तन कहिले फेरिने ? र यस्ता घटनाहरु गुपचुप राखेर कहिलेसम्म नारीमाथि दमन गरिराख्ने ?

हाम्रो समुदाय शिक्षित छ, तर घरघरमा हिंसाका नौला स्वरुपहरु उद्घाटित हुँदै छन्।आदर्शवादी भएर भलाद्मी बन्नेहरु नै पर्दापछाडि नेपथ्यमा सिकार खोजिरहेका हुन्छन्।
नारीले हाँस्न पाउने,नाच्न पाउने, स्वतन्त्रता माथि जित हासिल गर्न पाउने, सशक्तिकरणका कुराहरु सतहमा धेरै छन्।त्यो मात्र होइन मर्यादित महिनावारीदेखि सुरक्षित मातृत्व सम्मका कुराहरु बहसमा छन्।

लेट नाइट पार्टी गर्न केटीहरु किन जान नपाउने ? आफूले मन परेको मिनी स्कटमा डुल्न किन नपाउने ? समाजले किन नारीलाई मात्र समय र पहिरनको सीमा तोक्छ? आफूलाई मन नपरेको कुरामा नो भन्न किन नारीले पाउँदैनन्? यी प्रश्नहरु काठमाडौंका ठूला ठूला सेमिनारमा उठ्छन् अनि दूरदराजमा नपुग्दै बिलाउँछन्।यी प्रश्नहरु पुरुषको सोच र मनासिकता नबदल्दिै परिबन्धमा फसिदिन्छन्। यी प्रश्नहरु, श्रीमानको जबरजस्ती यौन सम्बन्धमा लाचार भएर रहन्छन्। न्याय नपाउँदै उखुबारीमा हराउँछन्।

जबसम्म पीडितले अरु नारीजस्तै सामान्य जीवनयापन गर्न सक्दिनन् र उनलाई समाजले सहर्ष स्वीकार गर्दैन, तबसम्म जेल जीवन भोग्दैमा पीडकले कसरी सजायँ पाएको मान्न सकिन्छ र ? पीडक त जेलमा बसेर आफ्नो द्वेष पूर्ति गर्न सकेकोमा हाँसिरहेको हुन्छ। कुनचाहीँ समाजको अभिन्न अंगले बलात्कारका पीडितहरुलाई पुनर्स्थापित गर्ने हेतुले फ्रन्टलाइनमा ल्याउन सकेको छ ? दुई चार दिन सेलिब्रेटी बनाएर मात्र पुग्छ र ? लामो जीवनको जिविकोपार्जनमा सबै सरोकारवालाहरुले सोच्नुपर्दैन ?

यो घटना निराकरण लागि कठोर सजायँ मात्र पर्याप्त छैन।छिमेकी मुलुक र अन्य देशहरुको दृष्टान्तसमेत हेर्दा नारीको सौन्दर्य र अस्तित्वविरुद्ध पुरुषको अभिमान युक्त यो जघन्य अपराधलाई बौद्धिक तवरले पनि हल गरिनुपर्छ।चेतना अभिवृद्धि गरिनुपर्छ।नारीहरुको आत्मनिर्णयको अधिकारको सम्मान गर्न समाजका ‘टाउके’ पुरुषहरुलाई सिकाउनुपर्छ।

आखिर कहिलेसम्म दुष्कर्म गरेको पाप बलात्कारीले एकदिन अवश्य भोग्छ भन्दै चुपचाप बसिराख्ने ? कहिलेसम्म गाउँले भेलाले नारी अस्मिताको मोल तोक्ने ? अनि किशोरीहरुले पीडा सहिराख्ने ? आखिर कहिलेसम्म…?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?