Comments Add Comment

उपत्यकामा कोरोना जोखिम : ‘सरकारले हात उठायो, आफैं सचेत बनौं’

अब काठमाडौं छिर्दा न जोरबिजोर, न पीसीआर

३१ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन् ।

अब निशेष गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका छन् ।

अब उपत्यका बाहिरबाट आउनेहरु सवारी साधनमा जोर-बिजोर लागू नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

यता, संघीय सरकारले सोमबारको क्याबिनेट निर्णयबाटै उपत्यकामा अत्यावश्यक सेवा, कार्यालय, आवत-जावत र ढुवानी सेवा बाहेकका सवारी साधनलाई जोर-बिजोर लागू हुने भनेको छ ।

गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढा सार्वजनिक यातायात चलेपछि पीसीआर जाँच गरिराख्न सम्भव नहुने बताउँछन् ।
संघीय सरकारले धार्मिकस्थलहरुमा भिडभाड गर्न, सभा, गोष्ठीहरु गर्न र शैक्षिक संस्थाहरु खोल्न रोक लगाएको छ । साथै मनोरञ्जनस्थल, सैलुन, व्यटीपार्लरहरु नचलाउन, खेल गतिविधि नगर्न, पुस्तकालय एवं संग्रहालयलगायत सञ्चालन नगर्न भनेको छ ।

संघीय सरकारको निर्णयअनुसार भोलि असोज १ बाट अन्तरजिल्ला तथा लामो दुरीका यातायात सञ्चालन हुनेछन् भने अन्तरिक हवाई उडान पनि सुचारु हुनेछन् । यसले गर्दा देशभरका मानिसहरु उपत्यका आइपुग्नेछन् । तर, यसरी काठमाडौं आउनेहरुलाई पीसीआर टेष्ट वा क्वारेन्टिन अनिवार्य हुनेछैन ।

‘सरकारले हात उठाएजस्तै छ’

उपत्यकामा संक्रमण बढिरहेका बेला सबै खुला गरेको भन्दै स्थानीय सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संघीय सरकारले अब सकिन्न भनेर हात जोडे जस्तै गरेको बताएका छन् ।

संक्रमण बढिरहेको र पिकमा पुग्न बाँकी रहेको बताउँदै महर्जनले भने, ‘यसबारे हामीसँग कुनै सल्लाह भएको छैन । एकलौटी निर्णय गर्दा दुर्घटना हुन सक्छ ।’

यसअघि पनि आफूहरुले नाकामा कडाइ गरौं भन्न सुनुवाइ नभएको र ७ साउनबाट सबै खुला गर्दा समुदाय स्तरमा संक्रमण पुगेको मेयर महर्जनको विश्लेषण छ ।

अहिले पनि मापदण्डहरु बनाएर व्यवस्थित गर्दै जानुपर्नेमा सबै खुला गरेको भन्दै महर्जनले असन्तुष्टि जनाए । उनले भने, सरकारले के आधारमा खोलेको हो, थाहा छैन । संक्रमण घटेर नियन्त्रणमा आएर हो भनौं भने तथ्यांकले त्यो देखाउँदैन ।’

संक्रमण बढ्छ, आफैं जोगिनुपर्छ

जनस्वास्थ्य विज्ञहरु पनि सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमण बढ्ने बताउँछन् । अर्थतन्त्र चलायमान बनाउनुपर्ने, नजिकिँदो दशैं लगायतका चाडपर्व एवं उद्योगी व्यवसायी सबैको दबावमा परेर सरकारले यो निर्णय गरेको हुनसक्ने उनीहरुको विश्लेषण छ ।

एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘सधैं लकडाउन गरेर मात्र हुन्न, तर खोल्दा व्यवस्थित गरेर जान पाएको भए राम्रो हुन्थ्यो ।’

अब सरकारले निर्णय गरिसकेकाले हरेक मानिस आफैं सचेत भएर जोगिनुपर्ने ती विज्ञले बताए । ‘पछिल्लो ७/८ महिनामा तपाई हामीले जे जति सिक्यौं, त्यसलाई व्यवहारमा उचार्ने र बाहिर निस्कन हरेक मानिस सतर्क हुनुपर्छ’ उनले भने ।

जनस्वास्थ्य विज्ञ डाक्टर शरद वन्त पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने उपयुक्त समय आएको बताउँछन् । ‘लकडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो’ उनले भने, ‘अब हामी पहिलेभन्दा सचेत हुनुपर्छ । वास्तविक सामाजिक दुरी कायम गर्ने समय आयो । किनकि, पहिलाभन्दा अहिले मानिसको चहल-पहल बढ्छ ।’

सरकारले पनि संक्रमण सार्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएको भन्दै उनी लकडाउन खुलेको भनेर भ्रम पाल्नु खतरनाक हुने बताउँछन् । डा. वन्तले अघि भने, ‘संक्रमण कुनरुपमा जान्छ भन्ने भविष्य हाम्रो हातमा छ । अब हामीले सचेत भएर दैनिक जीवनमा र्फकनुपर्छ ।’

डा. वन्तले थपे, ‘तर यो भुल्नुहुन्न कि, अब पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ, लापरवाही गर्नैहुन्न । किनकि संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि पहिलाभन्दा बढी सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार पछिल्ला दिनहरुमा संक्रमण फैलिएको ठाउँका साथै भारतबाट समेत मानिसहरु आएका छन्, उनीहरुको पीसीआर टेष्ट पनि भएको छैन । अब लामो दुरीका यातायात खुलेपछि मानिसहरु आउने नै भए ।

उनी भन्छन्, ‘केही समय हामी कडा अनुशासनमा बस्नैपर्छ, जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र हात धुनु नै संक्रमणबाट बच्ने उपयुक्त विकल्प हो । यो बाहेक अन्य विकल्प पनि छैन ।’

भिडभाडयुक्त ठाउँमा जोखिम हुने भएको भन्दै उनले भने, ‘सार्वजनिक यातायातमा दुरी कायम गर्न गाह्रो होला । त्यसैले सम्भव भएसम्म पैदल हिँड्नु उचित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment