Comments Add Comment

म निराश पुस्ताको प्रतिनिधि

मसँग निराश हुनुपर्ने थुप्रै कारण छन् । म ५० को दशकमा जन्मेको युवा हुँ र मजस्तै लाखौं अरू पनि (यहाँउप्रान्त ‘म’ हामी हुनेछ) । हामी जन्मिँदा देश माओवादी सशस्त्र संघर्षमा थियो । कथित परिवर्तनकारी र यथास्थितिवादीको चपेटामा हाम्रो बाल्यकाल बित्यो ।

निष्फिक्री भकुण्डो खेल्न पाउनुपर्ने स्कुलका मैदानमा बङ्कर खनिए । बाल्यकालमै हामीमध्ये कति आफ्नो थातथलोबाट विस्थापित भयौं । कयौंका बा–आमा, दाइ–दिदी मारिए । बेपत्ता पारिए । काठमाडौंमै बसेको भए पनि विद्यालय बन्द हुने, साँझ–बिहान हिँड्न त्रास हुने भयो ।

‘स्कुल पठाउने कि नाइँ ? बाहिरफेर खेल्न दिने कि नाइँ’ भन्दै अभिभावकले दैनिक हाम्रो जीवनको मूल्य जोख्नुपर्यो । हाम्रा शिक्षक पढाउँदा–पढाउँदै कक्षाकोठाबाट थुतिए, मारिए, बेपत्ता पारिए ।

जीवनको सुरुवात नै बम र गोलाको कोलाहलमा भयो । बारुदको गन्ध व्याप्त हावामा हामीले जीवनको पहिलो श्वास फेर्यौं भन्दा अत्युक्ति हुँदैन । त्राश र अवसादबीच हाम्रो बाल्यकाल बित्यो ।

मनोविज्ञानले भन्छ– बाल्यकालको वातावरणले मान्छेको जीवन निर्धारण गर्छ ।

असुरक्षा र भयमै बाल्यकाल बितेको हाम्रो जीवन कस्तो भयो होला ? शान्ति प्रक्रिया सुरु हुँदानहुँदै हामीमध्ये धेरैका स्कुल बमले उडाइसकेका थिए । स्कुलसम्म पुग्ने पुल–पुलेसा भत्किसकेका थिए । हामीमध्ये कतिले स्कुल छाडिसकेका थियौं । कतिको हातमा त बन्दुक र बम थियो । कति अयोग्य बाललडाकु दर्ज थियौं ।

देश शान्ति प्रक्रियामा गएसँगै हामी किशोरावस्था पुग्यौं । सोचेको थियौं जीवन अब त स्वभाविक गतिमा बित्ला । यद्यपि, सुख र शान्तिको हाम्रो अपेक्षा पहिलो संविधानसभाझैं तुहियो ।

बन्द, हड्ताल र जुलुसको कोलाहलमै हाम्रो किशोरवय बित्यो । शान्ति प्रक्रियापछिका वर्ष हरेक दिन नयाँ–नयाँ घाउ थपिए । हामी किशोरवयमा छँदा कुनै यस्तो महिना आएन जसमा नेपाल बन्द भएको नहोस् । कुनै दिन थिएन लोडसेढिङ नभएको होस् । हामीले विजुलीविहीन रातमा पढेर एसएलसी परीक्षा दिनुपर्याे । त्यसपछिको शिक्षा मध्यम वर्गको आर्थिक पहँचभन्दा बाहिर गयो । फलतः प्राविधिक तथा दक्ष सीपयुक्त विषय पढ्न पाएनौं ।

महाभूकम्प, संविधान घोषणा, नाकाबन्दी र मधेश आन्दोलनसम्म पुग्दा हाम्रो मष्तिस्कमा ‘राजनीति घृणित खेल’को रुपमा दर्ता भइसकेको थियो । सोसियल मिडियाका च्याट ग्रुप, सामाजिक सञ्जाल र भेटघाटमा राजनीतिक छलफल प्रतिबन्धितजस्तै भइसकेका थिए । हामी र हाम्रो समाजको जीवन निर्धारण गर्ने ‘राजनीति’प्रतिको वितृष्णा चरम बिन्दुमा पुगेको थियो ।

एउटा मान्छे निराश हुनलाई के–के चाहिन्छ ? ती सबै हाम्रो राज्यमा छन् । हाम्रो समाजमा छन् । हाम्रो जीवनमा छन् । एउटा युवालाई निराश बनाउन सत्ताका यी हर्कत पर्याप्त छन्

यी तमाम नैराश्यलाई चिर्दै तीन तहको संघीय निर्वाचन भयो । यतिबेला हाम्रो पुस्ता विश्वविद्यालय पढ्दै थियो । कति साथी पढाइ सकेर रोजगारीका लागि भौंतारिरहेका थिए । कोही ‘प्लस–टु’ मात्रै सकेर विदेश भासिइसकेका थिए ।

‘राजनीतिक स्थायित्व’ तीनै तहको निर्वाचनमा सबैभन्दा बढ्ता रुचाइएको नारा थियो । भारतविरोधी राष्ट्रवादसँगै उदाएको स्थायित्वको नाराले हामीमध्ये धेरैलाई ‘कन्भिन्स’ गराएकै हो । तर तीनै तहका सरकारले आफ्नो आधा आयु व्यतित गरिसक्दासमेत हामीमा कुनै उत्साह सञ्चार भएन ।

बरु दैनिक हामीले अपसोच मान्नुपर्याे– पहिलो मत नै खेरा फालिएछ !

हामीमध्ये कति लोकसेवा आयोग भिडेर स्थानीय तहमै जागिरे भयौं । तर समग्र व्यवस्थाप्रति हामी निराश थियौं । स्थानीय तहमा पनि हाम्रो भावनालाई कुनै महत्त्व दिइएको थिएन । डोजर, एक्जाभेटर र ठेकदारीमा लिप्त स्थानीय सरकारले सुरुमै ‘करको कहर’ मच्चायो । प्रदेश सरकार संघ र स्थानीय सरकारबीच च्यापियो ।

हामीलाई सबैभन्दा निराश त एकद्वार प्रणालीको हिमायती संघीय सरकारले नै बनायो । काम पनि नगर्ने, पद पनि नछाड्ने । नामको अगाडि मन्त्री जोडिएकाहरू भनिरहन्छन्– ‘फेसबुकमा स्टाटस लेखेजति सजिलो छैन काम गर्न ।’

यस्तै विरोधाभाषमा हामीलाई अल्झाइरहन्छन् उनीहरू । र विकल्पहीनजस्तै भएका हामी शासित हुन बाध्य छौं । सायद, अतिसय अक्षम राजनीतिक नेतृत्वले सबभन्दा निर्ममतापूर्वक हाम्रै पुस्तालाई शिकार बनायो ।

प्रधानमन्त्रीका उखान–टुक्कासँगै हाम्रो जीवन र भविष्यमाथि संसदमा दैनिक मजाक चलिरह्यो । जीवनको उत्तरार्धमा पुगेकाहरूको ‘बेलगाम बोली’मा हाम्रो जीवनको मजाक उडिरह्यो ।

न्यायको पोस्टर च्यातेर सत्ताले आफ्नो असली चेहरा देखायो । न्यायका नाममा अन्याय, समानताका नाममा हरेक दिन असमानता । कानूनका नाममा मनमौजी गरिएकै हो ।

एउटा मान्छे निराश हुनलाई के–के चाहिन्छ ? ती सबै हाम्रो राज्यमा छन् । हाम्रो समाजमा छन् । हाम्रो जीवनमा छन् । एउटा युवालाई निराश बनाउन सत्ताका यी हर्कत पर्याप्त छन् । राज्य व्यवस्थाको यो विरोधाभाषले भर्खरै देखिन थालेको उज्जवल भविष्यलाई धकेलर कोशौं पर पुर्याइदिन्छ ।

सुखद जीवनको आशाको फेर समाउँदै नेपाल छाडेर गएको हाम्रो पुस्ताको सपना मरुभूमिको घाममा मरणासन्न बनेको छ । भतभती पोल्छ हामीलाई आफ्नो जीवनले । हामी अभिशप्त छौं निराश हुन । हामी बाध्य छौं, निराशामा डुबिरहन ।

संविधानप्रदत्त समाजवादको परिभाषा ‘युटर्न’ भएर स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकता निजि क्षेत्रको जिम्मा लगाउने यो सत्ताले हामीलाई कुनै हालतमा निराश बनाइछाड्ने प्रण गरेको छ । उच्च शिक्षा, प्राविधिक शिक्षा र शैक्षिक केन्द्रको रटान लगाउने राज्य उल्टै किताबमाथि कर लगाउँछ ।

रोजगारका लागि अरब र भारततिर भौंतारिरहँदा सरकारले समाजिक सुरक्षाका नाममा हाम्रो खिल्ली उडायो । ‘देशमै काम गर, विदेश नजाऊ’ भन्नुपर्ने समयमा रोजगारीका नयाँ गन्तव्य भन्दै विदेशका बाटा खोल्यो । यथार्थमा हाम्रो राज्य कामदार ‘सप्लाइ’ गर्ने ठेकदार बन्न पुग्यो ।

मानव समुदायले दोस्रो विश्वयुद्धपछिकै ठूलो संकट सामना गरिरहेको समयमा हामीलाई आफ्नै देशको सीमाभित्र छिर्न बन्देज लगाइयो । हाम्रै खुन, पसिनाले आर्जेको रेमिट्यान्सले चलेको देशले हामीलाई पराई ठान्दा निराश नभएर के हुने ?

उत्तरदायित्वको नाममा सत्तासीनहरू ओठे जवाफ फर्काउँछन् । नागरिकका प्रश्नमाथि उल्टै प्रतिप्रश्न गर्छन् । मानव जगतले नै महाव्याधि भोगिरहेको समयमा हाम्रो नेतृत्व भने कमिसनको खोजिमा लाग्छ । जातीय हिंसा भयो भनेर सत्तासँग गुनासो गर्दा ‘अन्यत्र पनि जातिय हिंसा हुन्छ’ भने ओठे जवाफ पाइन्छ ।

आफ्नो प्रशंसा र गुणगाउन गाउन नसक्नेलाई मुटुविहीन देख्ने सत्ता प्रश्नमाथि बन्देज लाउन तल्लीन छ । जवाफका नाममा कुर्तक पेश गर्न तम्तयार भएर बस्छ । उपचारका नाममा बेसार अफर गर्छ । कोरोना संकटका बेला राज्यको उदासिनताविरूद्ध युवा सडकमा आउँदा सत्तासिनले प्रायोजित देखे ।

आलोचना र युवालाई हेर्ने सत्ताको दृष्टिमा ‘इनहेरिटेड दोष’ छ । मानवीय संकटलाई राष्ट्रवादको बर्कोले ढाक्न खोज्ने राज्यले हाम्रो पुस्तामाथि निर्मम झेल गरिरहेको छ ।

भोक र रोगलाई राष्ट्रवादले जित्न खोज्ने लहडी राज्यले निराश मात्र होइन आत्महत्याकै तहमा पुर्याउँछ । विभेदमाथि विभेद थोपरिरहने राज्यले तपाईंलाई, हामी सबैलाई कमजोर बनाउँछ ।

विश्वास गर्नुहोस्, हामी कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । हामी कमजोर हुँदा अबको नयाँ पुस्ता स्वतः कमजोर हुनेछ । र, कमजोर नागरिकमाथि सत्ताले सधैं जुलुम गर्छ । छुद्रता, अकर्मण्यता, शून्य जवाफदेहिता, निरंकुशताले लोकतन्त्रको हत्यासँगै समग्र नेपाली जीवनको भविश्यलाई नै ध्वस्त पार्नेछ ।

जनभावनाको बर्खिलाप उभिने सत्तालाई फेरि पनि भावनात्मक प्रश्न– के एउटा पुस्ताको अमूल्य समय अघिल्लो पुस्ताले कैद गर्न मिल्छ ?

आखिर शंकर लामिछानेले भनेका थिए– ‘सबैभन्दा ठूलो पराजय नैराश्यको हुने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment