Comments Add Comment

ललितपुरबाट साढे चार लाख बराबरको नक्कली नोट बरामद

फाइल तस्वीर

१ असोज, काठमाडौं । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो ।

जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले घटनाबारे अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार ५ तोला बराबरको सुनको हार किन्ने बहानामा नक्कली नोट दिइएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको जनाइएको छ ।

सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा अनुसार सुन किन्न आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएका थिए । सञ्चालकले पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको पाइएको उनको भनाइ छ ।

बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएका थिए ।

घटनाबारे ढिला गरी जानकारी आएकाले तत्काल अभियुक्तलाई पक्राउ गर्न नसकिएको शर्माले अनलाइनखबरलाई बताए । यद्यपि, अन्य विभिन्न पक्षको सहयोगबाट अभियुक्तको खोजी भइरहेको शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment