Comments Add Comment

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

'रेल नहेरिकन खाना खान्नँ'

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन ।

यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भएका हुन् ।

कोही आफ्नो बालबालिकालाई समेत लिएर रेल हेर्न आइपुगका छन् । कोही आफ्ना वृद्ध आमाबुवालाई साथमा लिएर रेल देखाउन आएका छन् ।

शुक्रबार दिउँसोसम्म आइपुग्ने रेल हेर्नेहरुको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड-१९)लाई भने बिर्साइदिएको छ ।

यही भिडमा रहेका जनकपुर उपमहानगरपालिका-१ निवासी संजय यादव बिहान ६ बजेदेखि नै रेल्वे स्टेशनमा बसिरहेका छन् । उनी भन्छन्, ‘रेललाई नहेरिकन खाना खान्नँ ।’

‘पहिला भारततिर रेल हेरेका थियौं, एकताका यहीका रेल पनि चढेका थियौं,’ झण्डै ५५ वर्षका संजयले सम्भिmँदै भने, ‘अब आउन लागेको रेल कस्तो छ भन्ने हेर्ने ठूलो धोको छ ।’

पहिला ३५ रुपैयाँ तिरेर जनकपुरबाट जयनगरसम्म गएको स्मरण गर्दै उनले रेल सेवा बन्द भएपछि त्यहाँसम्म पुग्न ३ सय रुपैयाँसम्म खर्च गर्नुपरिरहेको बताए । यद्यपि अब त्यो झन्झट व्यहोर्न नपर्ने उनको विश्वास छ ।

जनकपुरकै युवा विजयकुमार मेस्तर पनि रेलको प्रतिक्षामा छन् । ‘धेरै उत्सुक छु रेल हेर्नका लागि,’ मेस्तरले भने, ‘आज रेल आउन लाग्दा असाध्यै खुशी छु ।’
स्टेशनमा भिड बढ्दै गएपछि नेपाल तथा सशस्त्र प्रहरीको टोली पनि तैनाथ गरिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आउन लागेका छन् ।

बिहारको हाजिपुर स्टेशनमा पछिल्लो एक महिना यता पार्किङमा राखिएको दुईवटा रेलको सेट जनकपुरधाम आउन लागेका हुन् ।

रेल नेपाल छिरिसक्यो : प्रजिअ

भारतमा निर्माण गरिएको नेपाली रेल नेपाली भूमिमा प्रवेश गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

उनले पहिलो पटक रेल आउन लागेकाले बाटो हेर्दै आउने बताए । रेल जयनगरबाट नेपाल प्रवेश गरिसकेको बताउँदै उनले रुटको बाटोको अवस्था मूल्यांकन गर्दै आउने भएकाले केही समय लाग्न सक्ने उनले बताए । यद्यपि केही घण्टामै रेल आइपुग्ने उनले बताए ।

रेल आएपछि नेपाली पक्षलाई हस्तान्तरण गरिनेछ । एउटा सानो समारोहको आयोजना गरेर रेल नेपालीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई नै राखिएको छ भने रेल्वे विभागका महानिर्देशक बलराम मिश्र र निर्देशकहरुको सहभागिता रहनेछ । उनीहरु सबै जनकपुरधाम आइपुगेको भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment