+
+

मासु नखाने सैनिकलाई शाकाहारी मेन्यु ! ब्यारेकमा बल्ल हट्यो मट्टीतेल

ब्रेकफास्टमा हरेक दिन अण्डा, पाउरोटीको पनि व्यवस्था

गौरव पोखरेल गौरव पोखरेल
२०७७ असोज ५ गते २१:३२

५ असोज, काठमाडौं । सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ रासन स्केल लागु गरेका हुन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले अनलाइनखबरलाई दिएको जानकारीअनुसार अहिले देशभरका सैनिक युनिटमा शाकाहारीका लागि पहिलोपटक च्याउ, पनिर, फलफूल र दही पाइन थालेको छ । यसअघि सैनिक ब्यारेकमा हप्तामा कम्तिमा चार दिनसम्म मासु पाक्थ्यो ।

‘मन्त्रिपरिषदले नयाँ रासन स्केल स्वीकृत गरेसँगै कार्यान्वयनमा आइसकेको छ’, पौडेलले भने । शाकाहारीका लागि मासुसरहको प्रोटिन चाहिने भएकाले उनीहरुको रासनको मात्रा बढाइएको पौडेलले जनाए ।

‘मासु खानेले चारचोटिसम्म पाउँछन् भने शाकाहारीलाई ६ चोटिसम्म खान पुग्छ’, पौडेल भन्छन्, ‘यद्यपि, खानासम्बन्धी रुटिन सम्बन्धित पल्टनले नै बनाउँछ ।’

नेपाली सेनाको कुल जनशक्तिमध्ये ५ प्रतिशत शाकाहारी रहेको एक अध्ययनले देखाएको थियो ।

जंगीअड्डाको आपूर्ति तथा परिवहन निर्देशनालयका एक अधिकृतका अनुसार हाल उपत्यकामा रहेका ७० बढी युनिटमा मात्रै रासन वापत एक अर्ब २६ करोड रुपैयाँ बढी खर्च हुने गरेको छ । यस्तो अवस्थामा एक छाकमा मासु कटौती गर्दा पनि ठेकदारलाई ठूलो फाइदा हुने भएकाले अनियमितता हुन सक्ने भएकाले अब रासनलाई विभिन्न समूहमा ठेक्का दिने तयारी पनि जंगीअड्डाले गरेको छ ।

सैनिक अधिकृतहरुका अनुसार हाल स्वीकृत २२ प्रकारका रासनलाई ६ वटा समूहमा राखेर ठेक्का बन्दोबस्ती गर्ने तयारी गरिएको हो । यसले ठेक्कामा प्रतिस्पर्धा पनि बढ्ने र गुणस्तरीय सामान आपूर्ति हुने जंगीअड्डाका अधिकृतहरुको भनाइ छ । निर्देशनालयले उच्च हिमाली क्षेत्रका लागि फरक रासन स्केल तयार पार्ने कार्य पनि गरिरहेको स्रोतको भनाइ छ ।

ब्यारेकमा बल्ल हट्यो स्टोभ र मट्टीतेल

अधिकारीहरुका अनुसार सैनिक ब्यारेकहरुमा प्रयोग भइरहेको मट्टीतेलबाट चल्ने स्टोब हटाइएको छ । भान्छामा काम गर्नेको स्वास्थ्यमा ध्यान दिँदै खाना पकाउने इन्धनकारुपमा लामो समयदेखि रहँदै आएको मट्टीतेललाई विस्थापित गरेर एलपी ग्यास जडान गरिएको हो ।

आपूर्ति तथा परिवहन निर्देशनालयले ग्यासको प्रयोगले प्रदूषण पनि कम हुने र भाडामा प्वाल पर्ने समस्या पनि हल हुने जनाउँदै नयाँ नीति ल्याएको हो । साथै, निर्देशनालयले ठेक्कासम्बन्धी व्यवस्था पनि फेरबदल गरेको छ ।

पहिले मट्टीतेल खरिदमा बहुवर्षे (तीन वर्षको) ठेक्का दिने गरिएको थियो भने स्टोभ ठेकदारकै हुने भनिएको थियो । स्टोभ चलाएवापत प्रतिदिन ६ रुपैयाँ तिर्नुपर्थ्यो । तर, ग्यासको ठेक्का भने हरेक वर्ष हुने भएको छ । साथै, अब सम्झौतामै चुल्हो सेनाकै हुने भनिएको छ ।

अर्थ मन्त्रालयबाट यसअघि प्रतिव्यक्ति प्रतिदिन २६ रुपैयाँका दरले मट्टीतेलका लागि रकम उपलब्ध हुन्थ्यो । ‘ब्यारेकमा ग्यासको प्रयोग थालिएपछि अहिले दैनिक खर्च प्रतिव्यक्ति २०.५० वा २०.९५ रुपैयाँमा झरेको छ’, एक सैनिक अधिकृतले सुनाए, ‘त्यसैले बचेको रकमबाट एमआरईको व्यवस्थापन गरेका छौं ।’

सैनिक अपरेशन, विपद् व्यवस्थापन तथा तालिम र अभ्यासहरुमा फौज परिचालन हुँदा बाहिरै बस्नुपर्ने भएकाले त्यसबेला आवश्यक पर्ने खानेकुरा झोलामा बोक्ने अन्तर्राष्ट्रिय प्रचलन छ । त्यसलाई ‘मिल्स रेडी टु इट’ (एमआरई) भनिन्छ ।

पहिले यसको व्यवस्थापन सेनाका ब्यारेकले आन्तरिकरुपमा गर्ने गरे पनि ग्यासको प्रयोग थालिएसँगै बचेको पैसा यसमा प्रयोग गरिएको हो । यसका लागि अर्थले स्वीकृति दिइसकेको छ ।

एमआरईका लागि पनि लञ्च, खाजा र डिनरको बेग्लाबेग्लै व्यवस्था छ । बिहानको खाजामा चिया रङ, चिनी, दूध पाउडर, बिस्कुटलगायत छ भने खानामा चिउरा, चाउचाउ, क्यान फिस र शाकाहारीलाई फ्रुट ककटेलको व्यवस्था छ । दिउँसो खाजामा जुसको प्याकेट, बिस्कुटलगायत छ भने बेलुकीको खानामा बिहानमा झैँ व्यवस्था गरिएको छ ।

‘यो सेनाको रासनमा हालसम्मकै सबैभन्दा उल्लेखनीय परिवर्तन हो’, जंगीअड्डाका एक अधिकृत भन्छन् ।

ब्रेकफास्टमा हरेक दिन अण्डा, पाउरोटीको पनि व्यवस्था

सेनापति थापाले थालेको त्रैमासिक रोलकलमा कालिध्वज गणका प्रसु भोविन्द्र राईले खाना खाने समयको ग्यापले ग्यास्ट्रिक हुने सम्भावना रहेको भन्दै गुनासो गरेका थिए । उनले खाना खाने समय, कि पुरानै गर्नुपर्ने कि ब्रेकफास्टको व्यवस्था गर्नुपर्ने सुझाव गत वर्ष २५ भदौमा दिएका थिए ।

त्यसयता खाजामा सैनिकका लागि दैनिक अन्डाको व्यवस्था गरिएको छ भने ७० ग्रामको पाउरोटीको व्यवस्थापन पनि गरिएको छ । यसका लागि सरकारले पिठो, सोडासहित ६ प्रकारका आवश्यक सामग्रीसहित बेकरीको व्यवस्था गरिदिएको छ । यसबारे जंगीअड्डाको प्रस्ताव स्वीकृत भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जेठमा राष्ट्रियसभामा सम्बोधन गर्दै सेनाले ताजा खानेकुरा खान थालेपछि तागतिलो भएको बताएका थिए ।

‘पौष्टिक बिस्कुट भनेर २०/२५ करोड उडाउँदै थियो । मैले सेनालाई भनेँ – के बिस्कुट किनिराख्या ? पाउरोटी, साउरोटी केके हुन्छ आफैं बनाऊ न । १५ दिन तालिम लिँदा हुने कुरा । आफैं यसो गोलमा सेकाएपछि भुक्क भइहाल्छ । भइगो नि । त्योभन्दा पौष्टिक के हुन्छ ? ताजा खाने नि,’ प्रधानमन्त्रीले भनेका थिए ।

बिस्कुट छाडेर पाउरोटी खान थालेपछि सेना बलियो भएको उनले दाबी गरेका थिए । ‘पौष्टिक बिस्कुट खान छोड्यो । आफैंले बनाएको केक खान्छ । आफैं बनाएर खाउ भनेपछि अहिले सेना अलि बलियो भएको छ । तागतिलो भएको छ’, ओलीको भनाइ थियो ।

जंगीअड्डाका अनुसार बेकरीलाई ८० हजार रुपैयाँसम्म परेको छ । यसबाट पाउरोटी, मफिन, कुकिजलगायत सैनिक ब्यारेकमा तयार हुने गरेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?