Comments Add Comment

दशैंमा पोखरा र काठमाडौंलाई मुस्ताङका रसिला स्याउ

५ असोज, काठमाडौं । मुस्ताङको घरपजोङका स्याउ किसान आशबहादुर थकालीको बगैँचामा यसपालि झण्डै दुई हजार किलो स्याउ फल्यो । चालीस वर्ष अघिदेखि स्याउ खेतिमा संलग्न आशबहादुर नयाँ बगैँचामा आशालाग्दो गरी स्याउ फलेकोमा दंग छन् ।

उनको नयाँ बगैँचामा ६० वटा स्याउका बोट छन् । ४० वर्ष पुरानो बगैँचामा फलेका स्याउमा भने प्रतिकूल मौसमका कारण बिबिरा देखिएको उनले बताए । बारीमा रहेको स्याउ व्यापारीले ठेक्कामै किनेको र अझ राम्ररी पाकेपछि केही दिनमा बजार पठाइने उनको भनाइ छ ।

आशबहादुरका अनुसार मुस्ताङमा किसानले स्याउ प्रतिटन ९० हजारदेखि एक लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । ‘यस वर्ष अलि ढिलो स्याउ टिप्ने निर्णय गरेका छौँ । त्यतिबेलासम्म स्याउले राम्रो रस पनि हालिसक्छ । पोखरा र काठमाडौंले यसपालि मिठो स्याउ पाउँछ,’ घरपजोङबाट थकालीले अनलाइनखबरसँग भने ।

बजार पठाउने तयारी पूरा

काठमाडौं र पोखराको बजारका लागि मुस्ताङबाट स्याउ पठाउने तयारी पूरा भएको छ । यस वर्षको दशैं र तिहारका लागि मुस्ताङको स्याउ बजार आइपुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय मुस्ताङले जनाएको छ ।

गत वर्ष मुस्ताङको स्याउमा गुनासो आएपछि यस वर्ष असोज १५ गतेपछि मात्रै स्याउ टिप्न खुल्ला गर्ने निर्णय भएको इकाइ प्रमुख सुधिर थापाले बताए ।

‘जुनसुकै समयमा टिपेर बजार पठाउँदा मुस्ताङकै स्याउको बेइज्जत भयो, अब स्वादिलो स्याउ बजार पठाउछौँ,’ थापाले भने । स्याउ बजार पठाउन किसानलाई प्याकिङ गर्ने कार्टुनमा ५० प्रतिशत अनुदान कार्यालयले दिन्छ ।

किसानको बारीमै व्यापारी

स्याउ खरिदका लागि विभिन्न जिल्लाबाट ठेकदारहरु आएको र किसानसँग बगैँचा नै ठेक्कामा किनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय मुस्ताङले जनाएको छ । बगैँचा किन्ने ठेकदारले कृषकका लागि कम्तीमा प्रतिकिलो ८० देखि बढीमा १२० रुपैयाँसम्म तिरेको आयोजना प्रमुख थापाले बताए ।

‘मुस्ताङको स्याउ भन्नेबित्तिकै प्रख्यात छ, किसानलाई स्याउ बिक्री गर्न कुनै समस्या छैन,’ आयोजना प्रमुख थापाले भने ।

स्याउ खरिदका लागि धादिङ, गोरखा, काठमाडौं र पोखराका व्यापारी किसानको घरसम्म पुगेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले अनलाइनखबरलाई जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाह्य जिल्लाबाट स्याउ खरिदका लागि आउने व्यापारीका लागि जिल्ला प्रवेश अनुमति दिने निर्णय गरेको उनको भनाइ थियो ।

सडक मार्गबाटै काठमाडौं

मुस्ताङको स्याउ अहिले राम्ररी पाक्ने क्रममा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । धेरै पानी परेको तथा मौसम परिवर्तनका कारण यस वर्ष स्याउको स्वाद नबिग्रियोस् भनेर टिप्नका लागि निश्चित समय तोकिएको हो । तोकिएको समयसम्म स्याउ राम्ररी पाक्ने र अबरुद्ध मुस्ताङ–बेनी सडक पनि बनिसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कृषकबाट ठेकेदारले खरिद गरेपछि स्याउ स्थलमार्ग भएरै पोखरा र काठमाडौं पुर्‍याउने गरी ठेकदारहरुले तयारी थालेका छन् । स्याउ टिप्नका लागि किसानको बगैँचा बाहिरी जिल्लाबाट कामदार जान भने यस वर्ष निषेध गरिएको छ ।

मुस्ताङमा एक हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ । अघिल्लो वर्ष मुस्ताङमा मात्रै ५ हजार ७ सय २७ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । काठमाडौंको बजारमा अहिले प्रतिकिलो साढे तीन सय रुपैयाँमा आयातित स्याउ बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment