Comments Add Comment

केरुङ–काठमाडौं रेल परियोजना : चिनियाँ भूमिमा प्रारम्भिक सर्भे सकियो

६ असोज, काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेलवे योजनाअन्तर्गत चीनतर्फको भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको छ ।

अध्ययन टोलीले निकालेको निष्कर्षबारे खुलाइएको छैन तर रेलवे निर्माणको सम्भावनाबारे थप अध्ययन आवश्यक रहेको चिनियाँ पक्षको भनाइ छ ।

चिनियाँ सरकारी च्यानलहरुले चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको जानकारी दिएका हुन् ।

अग्ला हिमालहरु छिचोल्नुपर्ने भएकाले केरुङ–काठमाडौं रेल परियोजनालाई कठिन मानिएको छ । यद्यपि गत असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको कार्यान्वयनका लागि काठमाडौंमा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाँडफाँटसमेत गरेको थियो ।

चीनले आफ्नो खर्चमा म्यापिङ सर्वे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने नेपालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने छ ।

नेपालले अनुदानमा बनाइदिन चीनलाई आग्रह गरे पनि लगानीको मोडालिटी भने टुंगिएको छैन । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुन्छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने तथा निर्माण सम्पन्न हुन ९ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग बन्ने भूगोल निकै जटिल किमिसको छ । दुई टेक्टोनिक प्लेटबीच पर्वतीय क्षेत्रमा सुरुङमार्गहरुभित्र रेल परियोजना बनाउनुपर्ने अवस्था भएकाले थप अनुसन्धान गरेर मात्रै डीपीआरको तयारीमा जानुपर्ने चिनियाँ पक्षले तर्क गर्दै आएको छ । यो परियोजनालाई प्राकृतिक प्रकोपबाट पनि सुरक्षित राख्ने गरी सम्पन्न गर्नु सजिलो विषय नभएको चिनियाँ अधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्‍याल ! यो पनि पढ्नुहोस चीनको प्रतिवेदन : यसरी बनाउन सकिन्छ काठमाडौं–पोखरा र पोखरा लुम्बिनी रेलमार्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment