
६ असोज, काठमाडौं । सरकारले कोभिडको बहनामा आधिकारिक ट्रेड युनियनको निर्वाचन सारेको भन्दै नेपाल कर्मचारी युनियन (संघ)ले विरोध जनाएको छ । सत्तारुढ नेकपाको कर्मचारी संगठनभित्र किचलो रहेको र त्यसैको कारण हार्ने डर भएकाले चुनाव स्थगित गरिएको युनियनको आरोप छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले कोभिडलाई कारण देखाउँदै आधिकारिक ट्रेड युनियनको चुनाव रोक्नु लोकतन्त्रमाथिकै प्रहार भएको टिप्पणी गरे ।
‘हामी त लोकतन्त्रमा विश्वास गर्छौं । चुनाव जित्ने भनेको डेमोक्रेसीको जित हुने हो,’ संघका अध्यक्ष पोखरेलले अनलाइनखबरसँग भने, ‘यो चुनाव सार्ने कुरा कुनै पनि हिसाबले राम्रो होइन । नेकपाको आन्तरिक लडाइँ नमिलेको कुरालाई कोभिडको बहाना बनाएर चुनाव सार्ने काम गरियो, यो साह्रै घातक हो ।’
प्रजातन्त्रवादीको जित हुन्छ भनेर सत्तारुढ निकट कर्मचारीका नेताहरु डराएको दाबी गर्दै उनले भने, ‘अन्तिम अवस्थामा कोभिडको कारण देखाएर चुनाव स्थगित गर्नु भनेको लज्जास्पद कुरा हो ।’
‘राजाको जस्तै हालत हुन्छ’
चुनावमा जसले जिते पनि, जसले हारे पनि ट्रेड युनियन अधिकार जोगाउनु पर्ने बताउँदै पोखरेलले त्यसका लागि निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव गराउनैपर्ने बताए । ‘आधिकारिक ट्रेड युनियनको समय अवधि पनि सकिइसकेकाले चुनाव त गराउनै पर्छ,’ उनले भने, ‘तर चुनाव नगराउँदै जाँदा राजाको जस्तै हालत हुन्छ । राजाले आफ्नो हातमा शासन लिए, चुनाव नगराइकन अगाडि बढ्न खोजे, पछि उनैलाई अप्ठ्यारो भयो ।’
उनले भने, ‘आधिकारिक ट्रेड युनियनको चुनाव नै नगराउने पद्दतीले अन्य कयौं चुनाव पनि नगराउने हो कि सरकारले भन्ने शंका उब्जिएको छ । कोभिडको कारण देखाउँदै चुनाव नगराउने र सबै क्रियाकलापहरु बन्द गर्दै जाने त गम्भीर विषय हो ।’
चुनाव नगराउने सरकारको निर्णयमा आधिकारिक ट्रेड युनियनको नेतृत्व नबोलेको भन्दै उनले विरोध जनाए । ‘चुनाव नहुँदा म्याद थपिने र दुई–चार महिना भए पनि पदमा बस्न पाइन्छ भन्ने कन्सेप्ट छ साथीहरुको । त्यही भएर उहाँहरु चुप हुनुहुन्छ,’ अध्यक्ष पोखरेलले भने ।
आधिकारिक ट्रेड युनियनको चुनाव यही असोज २४ गते तोकिएको थियो । चुनाव गराउनका लागि सरकारले कानुनका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोकेको थियो ।
तर मन्त्रिपरिषदको आज बसेको बैठकले सो चुनाव रोक्ने निर्णय गर्दै कार्यसमितिको म्याद बैशाख मसान्तसम्म थपेको छ ।
प्रतिक्रिया 4