Comments Add Comment

के एनसीसी र नेपाल बंगलादेश बैंकबीच मर्जर हुँदैछ ?

७ असोज, काठमाडौं । राष्ट्र बैंकले ठूला बैंकहरुको मर्जर (बिग मर्जर) को योजना ल्याएपछि ग्लोबल आइएमई र जनता बैंक एक बने । तर, त्यसपछि भने यो श्रृंखला अघि बढ्न सकेको छैन ।

बिग मर्जरको बहस निकै भएपनि अन्य बैंकहरुले अनिच्छा देखाएका छन् भने राष्ट्र बैंक पनि सेलाएको छ । यद्यपि केही बैंकहरुले भने मर्जरका लागि प्रारम्भिक छलफल भइरहेको बताएका छन् । तीमध्येका दुई बैंक हुन् नेपाल बंगलादेश (एनबी) बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) । यी दुई बैंकबीच मर्जर गराउन आग्रह गर्दै एनबी ग्रुपले राष्ट्र बैंकमा पत्राचारसमेत गरेको छ ।

एकै व्यक्ति वा संस्थाको सेयर (क्रस होल्डिङ) रहेका बैंकहरु मर्ज गराउने राष्ट्र बैंकको रणनीति हो । यी दुई बैंकहरुमा पनि क्रस होल्डिङ रहेको छ । क्रस होल्डिङ गर्नेमध्येको एक संस्थापक लगानीकर्ता एनबी ग्रुपले साउन दोस्रो साता राष्ट्र बैंकलाई पत्राचार गर्दै मर्जरका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको थियो । तर, एनबीको त्यो पत्रको कारबाही राष्ट्र बैंकले हालसम्म पनि अगाडि बढाएको छैन ।

एनबी ग्रुपका प्रवन्ध निर्देशक (एमडी) लक्ष्मी बहादुर श्रेष्ठ दुई बैंक मर्ज गराउनका लागि जोडतोडका साथ लागेका छन् । श्रेष्ठले मर्जर गराउन चाहेपनि दुवै बैंकका सञ्चालक समितिले भने खासै सक्रियता देखाएका छैनन् । राष्ट्र बैंकले निर्देशन नदिएकाले पनि दुवै बैंकमा तातो नलागेको एनसीसी बैंकका एक सञ्चालकले बताए ।

एनबी बैंकले राष्ट्र बैंकलाई पठाएको पत्रमा आवश्यक निर्देशन दिन भनेको छ । तर राष्ट्र बैंकले अहिले मर्जरका लागि बल नगर्ने नीति लिएको छ

तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था मर्जरका लागि पुँजी वृद्धिको योजना ल्याएका थिए । सो योजना पछि ‘ख’ र ग’ वर्गमा निकै राम्रो प्रभाव प¥यो । विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या ७५ प्रतिशतसम्म घटेपनि कमर्सियल बैंकले यो नीतिले खासै असर गरेन् । ३२ वटा रहेको कमर्सियल बैंकहरु अहिले २७ मा झरेका छन् ।

‘आईएफआईसीसँग कुरै भएको छैन’

एनबी ग्रुपको अहिले एनसीसी बैंकमा १२ प्रतिशत संस्थापक सेयर होल्ड रहेको छ भने नेपाल बंगलादेश बैंकमा ९ प्रतिशत । एनबी ग्रुपभन्दा अन्य लगानीकर्ताहरुको ठूलो मात्रामा होल्डिङ रहेका कारण श्रेष्ठले चाहेर मात्रै हुने सम्भावना कम छ ।

अर्कोतर्फ एनबीको प्रतिनिधि अहिले दुबै बैंकका सञ्चालक समितिमा छैनन् । मर्जरका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने भएका कारण पनि आफ्नो प्रतिनिधि नहुँदा एनबी ग्रुपका एमडी श्रेष्ठले चाहेको निर्णय गराउन सकेका छैनन् ।

अहिले एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केसरी न्यौपाने छन् । बैंकको सञ्चालकहरुमा इमानसिंह लामा, चन्द्रप्रसाद बास्तोला, माधव प्रसाद भट्ट, कृष्ण श्रेष्ठ र डा. कैलाश अमात्य छन् ।

नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको अध्यक्ष भने एआरएम नाज्मुस सकिब छन् । उनी बंगलादेशको ढाकामा रहेको आईएफआईसी बैंकको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेका हुन् । आईएफआईसी बैंक बंगलादेशको यो बैंकमा राम्रै लगानी छ । अध्यक्ष मात्रै होइन एनबी बैंकको सञ्चालक समितिमा संस्थापकतर्फ आईएफआईसी बैंकका प्रतिनिधिहरु मात्रै रहेका छन् ।

आईएफआईसीको प्रतिनिधित्व गर्दै सकिबसँगै एम शाह आलम, सरवार क्यमरुन, नाहेर अम्हेद सञ्चालक छन् । बैंकमा सर्वसाधारण समूह तर्फबाट भने दीपक कार्की, मुकुन्दनाथ ढुंगेल र इन्द्रबहादुर थापा सञ्चालक छन् ।

नेपाल बंगलादेश बैंक मर्जरका लागि आईएफआईसी बैंकको निर्णय महत्वपूर्ण हुन्छ । तर एनसीसी बैंकसँग मर्जरका लागि एनबी ग्रुपका एमडी श्रेष्ठले राष्ट्र बैंकमा पत्राचार नै गरिसकेपछि आईएफआईसीसँग छलफल हुन बाँकी छ ।

आईएफआईसीले प्रक्रिया शुरु गरौं नभनेसम्म मर्जरको कुनै काम हुन नसक्ने नेपाल बंगलादेश बैंक स्रोत बताउँछ । ‘मर्जर गर्नु भनेर मात्रै पनि हुँदैन, मर्जरका लागि धेरै कुराहरु मिल्नु पर्छ,’ बैंक स्रोतले भन्यो, ‘आईएफआईसीले ‘गो अहेड’ भन्नेबित्तिकै मर्जर प्रक्रिया अघि बढ्छ । तर अहिलेसम्म यस विषयमा कुनै छलफल नै हुन सकेको छैन ।’

राष्ट्र बैंकले दबाब नदिने

गत वर्षका लागि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटमा बिग मर्जरका लागि प्रोत्साहन गर्ने उल्लेख थियो । मौद्रिक नीतिमा पनि त्यही उल्लेख गरियो ।

कोभिड–१९ महामारीकै बेला आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि ठूला बैंकको मर्जरलाई प्रोत्साहन गरेको छ । मर्जरमा जाने बैंकहरुलाई केही सहुलियतसमेत दिने मौद्रिक नीतिमा उल्लेख छ ।

एनबी बैंकले राष्ट्र बैंकलाई पठाएको पत्रमा आवश्यक निर्देशन दिन भनेको छ । तर राष्ट्र बैंकले अहिले मर्जरका लागि बल नगर्ने नीति लिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार राष्ट्र बैंकले मर्जरका लागि प्रोत्साहन गर्ने बताउँछन् । अहिले मर्जरका लागि ‘फोर्स’ गर्ने नीति केन्द्रीय बैंकको नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment