Comments Add Comment

समृद्धिको सोपानमा ओलीका सपना

एकजना विद्वानले भनेका छन्,– ‘सपना त्यो होइन, जुन निदाएको बेला देखिन्छ । सपना त त्यो हो, जसले निदाउन नै दिँदैन ।’

नेकपा अध्यक्ष केपी शर्मा ओली वि.सं.२०७२ असोज २४ गते पहिलो पटक नेपालको प्रधानमन्त्री बने । दोस्रोपटक ‘समृद्ध नेपालः सुखी नेपाली’को मूल नारा लिएर ०७४ साल फागुन ३ गतेदेखि उनले मुलुकको शक्तिशाली प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्री बनेदेखि नै ओलीले मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहेका छन् । हँसिमजाक र गफको शैलीमा नानाथरी तर्क सुनाएर नेपाल समृद्ध र सुखी बन्न सक्छ भन्ने तथ्य प्रस्तुत गर्दै आएका छन् ।

भारतीय नाकाबन्दीको समयमा पहिलोपटक प्रधानमन्त्री बनेका ओलीले मुलुकमा रेल र पानी जहाज कुदाउने सपना देखाएका थिए । लोडसेडिङ सदाका लागि अन्त्य गर्ने सङ्कल्प गरेका थिए । घरघरमा ग्यासको पाइप पुर्‍याउने र हावाबाट बिजुली निकाल्नेजस्ता योजना अघि सारेका थिए । तर, त्यतिबेला उनलाई कतिपयले हाँसोको पात्र बनाए, मजाक उडाए । उटपट्याङ् गफ गरेको भन्दै खिल्लीसमेत उडाए । यो प्रवृत्ति अहिलेसम्म जारी छ ।

विकास र समृद्धिका सपना

प्रम बनेदेखि नै केपी ओलीले हाम्रो देश नेपाल भिखारीको देश नभएको तर्क गरिरहेका छन् । कोही भोकै मर्न नपर्ने दाबी गरिरहेका छन् । नेपाल सधैँ गरिब र पिछडिएको हुनुहुँदैन भन्दै देश र नागरिकका मूर्च्छित सपनाहरू बाँडिरहेका छन् । मुलुकको विकास र समृद्धिका असीम आकांक्षालाई मुखरित गरिरहेका छन् । कल्पना र सपनालाई साकार पार्न समृद्धिका विभिन्न योजनाहरू देखाइरहेका छन् ।

मुलुकको समृद्धिका सोच र तर्क अगाडि बढाइरहेका छन् । तर कतिपय मानिसहरू उनका सपना र योजनालाई हावादारी गफ भन्दैछन् । मजाक र ट्रोल बनाएर सामाजिक सञ्जालमा खिसीट्युरी गर्दै छन् । अझ दुखलाग्दो कुरा मुलुकका निर्वाचित र सम्मानित प्रमको स्वास्थ्यका बारेमा समेत नकारात्मक टिप्पणी गरेर ‘मजा’ लिँदैछन् ।

राष्ट्र, राष्ट्रियता र जनताका लागि लामो समयदेखि लडिरहेको अनि विकास र समृद्धिको सपना देखाइरहेको एउटा मुलुकको जननिर्वाचित र सम्मानित प्रधानमन्त्रीमाथिको यो हदसम्मको मजाक, ट्रोल र प्रहार कति स्वाभाविक छ वा आपत्तिजनक ? त्यो त समयले नै विश्लेषण गर्ने छ । निःसन्देह, अहिले यति त भन्न सकिन्छ कि यो प्रवृत्ति नेपाली जनताको दुईतिहाई अभिमतमाथिको हँसीमजाक पक्कै हो । जनताको सार्वभौमिकतामाथिको अतिशय खिसीटिउरी हो ।

ओलीका तर्क र भनाइहरू एकछिनका लागि ठट्टा र रमाइलो लागे पनि, गफ लागे पनि ओली समृद्धि र विकासको एउटा स्वप्नद्रष्टा र आशावादी मार्गदर्शकका रूपमा भने पक्कै देखापरेका छन् । यो इतिहासले मूल्याङ्कन गर्ने विषय हो । समयक्रममा यसको मूल्याङ्कन हुँदै जानेछ ।

मुलुक आफैं बन्दैन । मुलुकलाई बनाउनुपर्छ । मुलुकलाई बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट अपरिहार्य हुन्छ । दृष्टिकोण, योजना र अठोट व्यक्तिले दिन्छ । प्रणालीले त्यसलाई साकार बनाउँछ । तर, त्यो प्रणालीलाई चलाउने व्यक्तिले नै हो । त्यसैले इमानदार र प्रतिबद्ध व्यक्तिहरूको टिमले मात्र देश बनाउन सक्छ ।

‘यो सतीले सरापेको देश हो,यहाँ कुनै पनि राम्रा काम हुन सक्दैनन्, सबै नेता भ्रष्टाचारी छन्, बदमास र राष्ट्रघाती छन्, यहाँ कुनै पनि निर्णय स्वविवेकले हुँदैनन्, सबै नेता र पार्टीहरू विदेशीको इशारामा चल्छन्’ भन्नेजस्ता कुतर्क प्रस्तुत गरेर सबै पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने काम एउटा कोणबाट सधैँ भइरहेको हुन्छ हाम्रो मुलुकमा । यस्तो विषम सन्दर्भमा विकास र समृद्धिका सपना बाँडने अनि आम नागरिकका मूर्च्छित सपनाहरूलाई आशातीत जागृत गराउने काममा प्रम केपी ओली निरन्तर लागिरहेका छन् । उनको भूमिकालाई सामान्यरूपमा लिनु हुँदैन । यो अत्यन्तै महत्वपूर्ण भूमिका हो ।

मुलुक आफैं बन्दैन । मुलुकलाई बनाउनुपर्छ । मुलुकलाई बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट अपरिहार्य हुन्छ । दृष्टिकोण,योजना र अठोट व्यक्तिले दिन्छ । प्रणालीले त्यसलाई साकार बनाउँछ । तर, त्यो प्रणालीलाई चलाउने व्यक्तिले नै हो । त्यसैले इमानदार र प्रतिबद्ध व्यक्तिहरूको टिमले मात्र देश बनाउन सक्छ । समृद्धि र विकासका लागि सबैभन्दा गतिवान् काम स्वयं नेतृत्वले नै गर्नुपर्छ । जुन काम यतिखेर केपी ओलीले गरेका छन् । यो कुनै एकपक्षीय र भावनात्मक कुरा होइन,यथार्थ हो । वास्तविकता हो ।

प्रम केपी ओली मुलुकमा हमेशा आशा र उत्साह जगाइरहन्छन् । तर सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना गर्ने, खिसीटिउरी गर्ने एक किसिमको प्रवृत्ति नै बढेको छ आजभोलि । केपीले गरेका राम्रा काम केही नदेख्ने,सबै कुरा खराब मात्र देख्ने, जे भने पनि मजाक उडाउने एउटा समूह छ जो सरकारको खेदो जतिबेला पनि खनिरहन्छ । ट्रोल बनाएर मजा लिइरहन्छ । समाजमा नकारात्मकता र निराशा फैलाइरहन्छ । मुलुकको बिडम्बना नै यहीँ हो ।

विनाशकारी भूकम्पले देश रोइरहेको समयमा भारतको ६–६ महिने नाकाबन्दीविरूद्ध नझुकी सामना गर्ने नेपालका हालसम्मकै देशभक्त प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको नाम ऐतिहासिक रूपमा रहनेछ भन्ने कुरा अतिशयोक्ति नहोला ।

सपनालाई साकार पार्ने अभियान

देश बनाउने कुरा एउटा सपना हो । भविष्यको सपना हो । निदाएको बेला देख्ने सपनाको कुरा होइन । जागै हुँदा देख्ने सपना हो । जुन सपना केपी ओलीले देखाएका छन् । उनी सपनालाई साकार बनाउने अभियानमा दृढ छन् ।

प्रशंसाभन्दा आलोचना भए पनि ओली सरकारले दीर्घकालीन महत्वका केही राम्रा काम गरेको यसरी ढुक्कसँग भन्न सकिन्छ :

आफ्नो कुर्सी जाने भयका कारण सीमा मिचिँदासमेत नेपालका सरकार र प्रधानमन्त्रीहरू भारतसँग खुलेर कुरा राख्न नसक्ने विगतको यथार्थगत परिस्थितिमा कालापानी, लिपुलेक र लिम्पयाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने काम ऐतिहासिक र महत्वपूर्ण उपलब्धी होइन भनेर कसले भन्न सक्छ ?

चिनियाँ चुच्चे रेलदेखि प्रशान्त महासागरमा नेपाली झण्डाजडित पानीजहाज हुँइक्याउनेसम्मका योजनाहरू तत्कालका लागि निदाएको बेला देख्ने सपना जस्तो भए पनि मुलुकको सुदूर भविष्यका लागि यी अपरिहार्य कुराहरू हुनेछन् ।

सिलिन्डर बोकेर सडकमा दौडने युगको अन्त्य हुनुपर्ने,‘स्विच अन’ गर्नासाथ पाइपबाट घरमै ग्यास आउने महत्वाकांक्षी योजना आम नागरिकका वर्तमानदेखि भविष्यका चाहना हुन् । यो हाम्रो आवश्यकता पनि हो । अनावश्यक गफचाहिँ होइन ।

योगदानमा आधारित समाजिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहासम्मका काम नेपालको ऐतिहासिक उल्लेख्य कामहरू हुन् । पक्कै पनि यो इतिहासले प्रष्ट पार्नेछ ।

कामदार,रोजगारदाता र सरकारको योगदानका कारण श्रम गरेको व्यक्तिले ६५ वर्षपछि पेन्सन पाउने व्यवस्था वास्तवमा श्रम क्षेत्रमा ‘नयाँ युगको शुरूआत’ नै हो । सामाजिक सुरक्षा कार्यक्रमलाई २०५१ सालमा कम्युनिस्ट सरकारले ल्याएको वृद्ध भत्तापछिकै लोकप्रिय कार्यक्रम हो भनी ढुक्कसँग भन्न सकिन्छ ।

ओलीले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रूपमाले लिने गरिएको भए पनि अहिले काम भइरहेको छ । परिणाम आइरहेको छ पूर्व–पश्चिम रेलका कुरा उत्तर दक्षिण रेलका कुरा र पानी जहाजका कुरा राष्ट्रको अति आवश्यकताको कुरा हो । यो गफ होइन, मुलुकलाई समृद्धितिर लैजाने एउटा सपना हो, मार्गदर्शन हो, अपरिहार्य आवश्यकता हो ।

ओलीले प्रधानमन्त्रीका रूपमा कुर्सीमा बस्नासाथ देशका सबै नदीलाई तुइनमुक्त बनाउने पहिलो निर्णय गरेका थिए । सो काम सम्पन्न भइसकेको छ ।

राजनीतिक खिचातानीका कारण रोकिएको रानीपोखरीको पुनर्निर्माण र धरहराको पुनर्निर्माणले तीब्र गति लिएको छ । पूरा हुँदैछ ।

तराईमा पृथकतावादी राजनीति गरिरहेको सीके राउतको स्वतन्त्र मधेशी गठबन्धनलाई राजनीतिको मूलधारमा ल्याउनु पनि महत्वपूर्ण राजनीतिक उपलब्धि नै हो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सुन तस्करीमा ब्रेक, चीनसँग पारवाहन सम्झौता, सुरूङमार्ग र सडक विस्तारलगायतका कार्यक्रमहरू समृद्धि र विकासका सपना साकार पार्ने योजनाकै रूपमा लिन सकिन्छ ।

सपना तुहिने त हैन ?

प्रम केपी आलीले मुलुकमा सुशासन, समृद्धि र विकासका सपना त बाँडेकै छन् तर कतिपय सवालमा उनका सपनाको यथार्थ र व्यवहारबीच तारतम्य देखिँदैन । राजनीतिक दलसम्बन्धी अध्यादेश, गुठी विधेयक, सिण्डीकेट खारेजीजस्ता आवेग र हतारमा गरिएका निर्णयले ओलीका सपनालाई बिथोलेकै छन् । निर्मला हत्याकाण्ड ,बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड अनि विभिन्न आर्थिक कमिसन र भ्रष्टाचारका विषयमा नजरअन्दाजी र कारबाही ढिलाइले समृद्धि,विकास र सुशासनको ओलीको सपना र आकांक्षा कतै तुहिने त होइन भन्ने आशंका भने बढेकै छ ।

असल नेतृत्वले जहिले पनि सपना देख्नुपर्छ,आशा जगाइरहनुपर्छ । सपना नदेख्ने त नेता नै हुँदैन । ओली सपना र कल्पनाशीलताका त धनी नै छन् । समृद्ध नेपाल, सुखी नेपालीको सपना उनले देखेको सपना हो । सपना र गफै भए पनि ओलीले एउटा आशा भने जगाइरहेका छन् । त्यसो त एक दुई वर्षमै वा एकैपल्ट देश कायापलट भइहाल्ने होइन । सरकारले बाँडेको समृद्धिको सपना पनि रातारात पूरा भइहाल्दैन । समृद्धि एउटा अठोट हो, निरन्तर प्रक्रिया हो । तर कोरोना महामारीको संकटले समृद्धि र विकासका तमाम यात्रालाई ठप्प पारिदिएको छ । कोरोना महामारी सरकारको भयानक चुनौती बनेको छ ।

सल्लाहकार : ‘मुखाले’ तर गतिवान् योजनाकार

प्रम ओलीसँग यतिखेर जुन सल्लाहकारको टिम छ उनीहरू विषयगतरूपमा अति दक्ष र योग्य छन् तर आम नागरिकले उनीहरूको शैलीलाई सहजरूपमा पचाउन सकिरहेका छैनन् । सरकारका भूतपूर्व प्रवक्ता गोकुल बास्कोटाको अभिव्यक्ति शैली आम नागरिकले मन नपराएकै हो ।

प्रमुख सल्लाहकार विष्णु रिमाल एउटा गतिवान् योजनाकार र रणनीतिक व्यक्तित्व हुन् । प्रेस सल्लाहकार सूर्य थापा विषयगतरूपमा त्यतिकै दक्ष र योग्य दक्ष मानिन्छन् । प्रमका सपना पनि सल्लाहकारका योजना नै होलान् तर रिमाल र थापाका ‘मुखाले’ प्रवृत्तिका कारण सामाजिक सञ्जाल तातेकै हुन्छ ।आम नागरिकको सोच अनि शैली र सल्लाहकारका शैलीबीच तारतम्य मिल्न सकेको देखिदैन ।

यता सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवाली शालीन र भद्र व्यक्तित्व मानिएका छन् । आर्थिक सल्लाहकार युवराज खतिवडाको विषयगत दक्षताले प्रमका समृद्धिका सपनालाई कसरी सार्थक बनाउँछ ? त्योे हेर्न त बाँकी नै छ ।

सरकारको सफलतामै नेकपाको भविष्य

प्रधानमन्त्री केपी शर्मा ओली सत्तासीन पार्टीका शक्तिशाली अध्यक्ष हुन् र पाँच वर्षसम्मका लागि पार्टीबाट तोकिएका सरकारका शक्तिशाली प्रधानमन्त्री पनि । सरकारको सफलता र असफलताको असर ओलीलाई मात्रै होइन, सिङ्गो नेकपालाई प्रत्यक्षरूपमा पर्दछ । प्रमको सम्पूर्ण कामहरूको जसअपजसको भागिदार अन्ततः पार्टी नै हुनुपर्छ । उनी असफल हुँदाको प्रत्यक्ष नकारात्मक असर सिङ्गो पार्टीको भविष्यमाथि स्वतः पर्छ नै ।

यतिखेर पार्टीको सिङ्गो पङ्क्ति सरकारका राम्रा कामको प्रचारप्रसार अनि सरकारलाई नराम्रा काम गर्नबाट रोक्नुपर्नेमा पूर्णरूपमा त्यसो हुन सकेको छैन । केपी ओली र सरकार सफल नभए नेकपा पार्टी लोकप्रिय बन्दैन बरू जनताको नजरमा बदनाम हुनेछ । तसर्थ केपी ओलीका समृद्धिका सपनाहरूलाई साकार बनाउने र सरकारका राम्रा कामलाई आम नागरिकका बीचमा पुर्‍याएमात्र नेकपा पार्टी लोकप्रिय हुनेछ,बलियो हुने छ । नेकपा पार्टी पङ्क्तिले बुझ्नुपर्ने यही कुरा हो ।

अतः सपना नदेखी मुलुक बन्दैन । गफै भए पनि ओलीले मुलुकको विकास र समृद्धिको एउटा आशा जगाएका छन् । समृद्ध नेपाल, सुखी नेपालीको सपना उनले देखेको सपना हो । राष्ट्रका तमाम विकृति, भ्रष्टाचार र अनियमिततालाई समाप्त पार्दै उनको त्यो सपनालाई साकार पार्नु नै मुलुकको हितमा हुनेछ । यसका लागि दबावमूलक अभियानको खाँचो छ ।

(रुपन्देही निवासी ज्ञवाली शैक्षिक क्षेत्रमा आवद्ध छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment