Comments Add Comment

मल्लकालकै शैलीमा फर्कियो बालगोपालेश्वर, सोमबार गजुर राखिँदै

११ असोज, काठमाडौं । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा सोमबार गजुर प्रतिस्थापन गरिने भएको छ । यो मन्दिरको लामो समयको विवादपछि निर्माण भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार सोमबार मध्यान्हमा जुरेको शुभ साइतमा मन्दिरमा गजुर राखिनेछ । क्षमा पूजा पनि हुनेछ ।

उनका अनुसार अब पहिलो चरणको योजनाअनुसार पोखरी वरपर सरसफाइ लगायतको केही काम मात्रै बाँकी छन् ।

केही दिनभित्रै रानीपोखरीमा माछाका भुरा पनि हालिने उनले बताए । ‘क्याटफिसबाहेक पोखरीमा उपयुक्त र लेउमा बढी निर्भर हुने माछा हाल्छौं,’ उनले भने,’पोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन यो जरुरी हुन्छ ।’

ग्रन्थकुट शैलीमा बन्यो मन्दिर

रानीपोखरीको बीचमा पुनर्निर्मित मन्दिर भूकम्पअघिकोजस्तो स्वरुपमा छैन । किन बालगोपालेश्वर मन्दिरको शैली परिवर्तन भयो त ?

सुरुमा काठमाडौं महानगरपालिकाले जिम्मा लिएको रानीपोखरी र मन्दिरको पुनर्निर्माणका क्रममा कंक्रिट प्रयोग भएको थियो । सम्पदामा सिमेन्ट र छड प्रयोग गरेपछि विवाद भयो ।

विवाद सल्ट्याउन महानगरपालिकाले पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजकत्वको विज्ञ समूह बनायो । सो समूहले यो मन्दिर ग्रन्थकुट शैलीमा नै बनाउन सिफारिस गरेको थियो । तर, सुरुमा त्यसलाई पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले त्यसलाई स्वीकारेका थिएनन् ।

तर, विज्ञसहित सम्पदाप्रेमीले भने मल्लकालीन शैलीमै मन्दिर बनाउन दबाव दिएका थिए । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको कालमा ग्रन्थकुट (शिखर) शैलीमा बनेको थियो ।

प्रसियाका राजकुमार वाल्डेमरले सन् १८४५ को फेब्रुअरी/मार्चमा नेपालको भ्रमण गरेका थिए र उनले आफ्नो यात्रा संस्मरणमा रानीपोखरी (उनकै शब्दमा ‘रानी के ताल’) को तस्वीर पनि समावेश गरेका छन् ।

वाल्डेमरले सन् १८४५मा बनएको रानीपोखरीको चित्र

जंगबहादुर र जुद्ध शम्शेरको पालामा पनि रानीपोखरीको स्वरुपमा हेरफेर भएको थियो । विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भुँइचालोले शिखर शैलीको मन्दिर ढल्यो । पछि जंगबहादुरले गुम्बज शैलीमा बनाए ।

१९९० सालको भूकम्पले फेरि रानीपोखरीमा क्षति भयो । त्यसलाई जुद्ध शम्शेर बनाए तर, गुम्बज शैलीमा केही परिर्वतन गरे । र गुम्बज शैलीमा बनाए ।

जुन शैली १२ बैशाख २०७२ को भूकम्प अघिसम्म कायम थियो ।

सुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग गरेको भन्दै युनेस्कोले विरोध गरेपछि राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणले यसलाई बनायो ।

भूकम्पअघिको गुम्बज शैलीको बालगोपालेश्वर मन्दिर

२०७५ असार २७ गते प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौता भएको थियो । कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणको जिम्मा पाएको थियो । १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ लागतमा यी काम भएका हुन् ।

हालसालै उपभोक्ता समितिमार्फत् रानीपोखरीको पनि पुनर्निर्माण सकिएको छ । २०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको पुनर्निर्माणको करिब ५ वर्षमा निर्माण सकिने चरणमा पुगेको छ । पुनर्निर्मित रानीपोखरीको उद्घाटन पनि राष्ट्रपतिबाटै गराउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment