Comments Add Comment

१५ वर्षमै भविष्यताको भविष्य खोसियो ..

बार्सिलोना । नृत्यमा उनको सोख थियो । दुई महिनाअघि इनासको नृत्य प्रतियोगिताका लागि आफ्नो भिडियो बनाएर पठाइन् । पहिलो चरण पार गर्दै दोस्रो चरणको लागि पनि भिडियो उनले पठाइन् । तर उनको दोस्रो भिडियोको नृत्य त्यति जोशिलो र फूर्तिलो थिएन ।

जुलाईको पहिलो हप्तादेखि ढाड दुख्ने समस्या देखियो। मुख दुख्ने र घाटीमा विमिरा जस्तो थियो । कुमहरु दुखेपछि उनी हस्पिटल पुगिन्। डाक्टरले औषधी दिएर पठाए । फेमिली डाक्टरले पनि ठीकै छ भने। औषधी खाएपछि सन्चो भएको जस्तो भयो । तर ५/६ दिनपछि कान सन्चो नभएपछि फेरि इमर्जेन्सिमा पुगिन् । डाक्टरले पुन:औषधी लेखिदिए । तर यसपटक औषधिले छुँदै छोएन । अन्तत: पुन अस्पतालमा उनको चेकजाँच भयो ।

उनलाई बल्ड क्यान्सरको आशंका गरेर अर्को अस्पतालमा रिफर गरियो । त्यहाँबाट निश्चित गरियो । आलिकान्तेस्थित अस्पतालमा उनको ४२ दिनसम्म आईसीयूमा  उपचार भयो। तर स्वास्थ्यमा सुधार आएन । अन्तत:१५ वर्षको कलिलो उमेरमा नै भबिष्यता न्यौपानेको गत बिहीबार उपाचारकै क्रममा निधन भयो ।

उनका बुबा भरतराज न्यौपाने आफैं पनि गीत संगीतप्रति रुचि र चासो राख्छन् । स्पेनमा सामाजिक रुपमा पनि चिनिएका न्यौपानेलाई छोरी गुमाउँदा ठुलो ब्रजपात आइपरेको छ। दुईबर्ष अघि परिबारलाई पनि उनले स्पेनमै ल्याएका थिए  । तीन छोरीका पिता न्यौपाने अहिले पहिलो सन्तान गुमाउनु पर्दा भावबिह्वल बनेका छन् । भरतपुर महानगरपालिका-८ चितवन मूल घर भएका न्यौपानेको परिवार स्पेनको कोष्टाब्लाङ्का स्थित आल्तियामा बस्दै आएको छ । भविष्यतालाई १५ दिनअघि आमा लक्ष्मी पन्त न्यौपानेले अस्पतालमै भेटेकी थिइन्  । बोल्न नसकेपनि छोरीले आमाको हात समातेर आँशु झारेकी थिइन् । आमा र छोरीको त्यो नै अन्तिम भेट थियो ।

एकातिर कोरोनाको कहर। अर्कोतिर छोरीको उपाचार। दुई महिनायता न्यौपानेले निकै तनाव झेले। दैनिक ६० किलोमिटर टाढा रहेको अस्पतालमा छोरीलाई भेट्न पुग्थे। १७ दिनसम्म भेन्टिलेटरमा राखेपछि भबिष्यताको होस आएको थियो।  भेन्टिलेटरबाट निकालियो । तर फेरि फोक्सोमा इन्फेक्सन देखियो र पुन: भेन्टिलेटरमा राखियो । होसमा छदा उनले बोल्ने कोशिस गरिन् । ‘बाबा मलाई एकदमै भोक लागेको छ’ भनिन्, तर उनलाई बोल्न मनाही थियो। ‘छोरी तिमी छिट्टै ठीक हुन्छौ। केही समय अस्पताल बस्नुपर्छ । अहिले बोल्न हुँदैन’ भनेपछि उनले मुन्टो हल्लाउदै आँखाबाट आँशु झारेकी थिइन्।

‘आजभन्दा साढे दुई वर्षअघि नेपालमा हुँदा आत्तिने रिँगटा लाग्ने भएपछि हस्पिटल लिएर गइयो । एकहप्ता हस्पिटल राखियो । त्यस्तो केही देखिएन। दिल्ली गएर भिसा लाएपछि सबै यहीँ आयौं । यहाँ होलबडी चेकअप गरायौ । केही देखिएन । उसको समस्याको बारेमा भन्दा हार्मोनहरु चेञ्ज हुने बेलामा बच्चालाई त्यस्तो केही हुन्छ भने। हामी ढुक्क भएर आयौ ।गएको वर्ष टन्सिल भएजस्तो देखियो । चेक गर्दा केही छैन भनियो। औषधी खायो ठिक भयो । तर अहिले एक्कासी अप्रत्यासित घटना घट्यो’ न्यौपानेले भावुक हुँदै बताए ।

सोमबार उनको स्पेनको आलिकान्तेमा नै अन्तिम संस्कार हुँदैछ। नेपाल स्पेन समाज कोष्टाब्लान्काले अन्त्येष्टिका लागि कागजी प्रक्रिया मिलाएको छ। शव ब्यवस्थापन तथा परिवारको सहयोगार्थ स्पेनका विभिन्न शहरहरुमा रकम संकलन भइरहेको छ। कोस्टा ब्लाङ्कामा मात्र झण्डै ६ हजार युरो संकलन भएको समाजका अध्यक्ष अकल बोहराले जानकारी दिए । एनआरएनए स्पेनले पनि मूल सहयोग समिति गठन गर्दै सहयोगका लागि संघसंस्थाहरुलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment