Comments Add Comment

चैतयता गंगालाल अस्पतालमा ८० जना कोभिड संक्रमित

१३ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएको सात महिनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा  ८० जना मुटु रोगीमा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये ८ जना सर्जरी गर्ने मुटु रोगीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । ८० जना संक्रमितमध्ये ४ जनाको मृत्यु भएको र २८ जनालाई होम आइसोलसनमा पठाएको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

अहिले  ११ जना संक्रमित अस्पतालमा उपचाररत छन् । २०७६ चैतयताको सात महिनामा १ सय ८६ जनाको ओपन हार्ट शल्यक्रिया भएको छ । यो अवधिमा ६ हजार ४ सय ६१ जना बिरामीले केन्द्रबाट आकस्मिक सेवा लिएका छन् भने १ हजार ८ सय ५१ जना बिरामीले अन्तरंग बिरामी भर्ना सेवा लिएका छन् ।

केन्द्रका चिकित्सक डा. कुञ्जन शेर्पाले कोभिड महामारीमा ३३ जना स्वास्थ्यकर्मी र २४ जना सहयोगीलाई संक्रमण पुष्टl भएको बताए । महामारीमा मुटुरोगीलाई राम्रो सेवा दिन अस्पतालमा छुट्टै कोभिड वार्ड,  क्याथ ल्याब र आइसोलेसन रहेको थियो । शेर्पाका अनुसार मुटुरोगी संक्रमितमध्ये ३ जनालाई प्लाज्माथेरापी गरिएको थियो भने ११ जनलाई एण्टी भाइरल ड्रग रेमडिसिभिर चलाइएको थियो ।

अस्पतालका अनुसार हृदयरोग केन्द्रबाट क्याथ ल्याब प्रोसिड्युअर अन्तर्गत १ हजार २ सय २९ जना बिरामीले सेवा लिएका छन् । जसमध्ये प्राइमरी एन्जियोप्लाष्टिमा १ सय ७६ जना, परमानेन्ट पेसमेकरमा ९९ जना, कोरोनरी एन्जिओग्राफीमा ५ सय ८७ जना, कोरोनरी एन्जिओप्लास्टीमा २ सय ५३ जना बिरामीको उपचार भएको छ ।

अस्पतालको निर्देशक अधिकारीका अनुसार यो ७ महिनाको अवधीमा केन्द्रमा मुटुरोगीहरुले कुनै सेवाबाट वञ्चित हुनुपरेन । संक्रमित तथा अन्य मुटुरोगीको समेत इमर्जेन्सी शल्यक्रिया गरेको उनले बताए । ‘कोभिड बिरामीलाई हेर्नकै लागि हामीले कोभिड रेस्पोन्स टिम बनाएका थियौं, सोही कारण धेरै बिरामीमा संक्रमण देखिदा पनि व्यावस्थापन गर्न गारो भएन’ डा. अधिकारीले भने ।

चिकित्सक डा. मुरारी ढुंगानाका अनुसार केन्द्रमा मुटुको धमनी, मुटुको बाथरोग र मुटुको चालसम्बन्धी समस्या भएका धेरै बिरामी आउँछन् । उनले भने, ‘मुटुको झिल्लीमा पानी जम्ने समस्या भएका बिरामी धेरै छन्, हरेक ५ जनामध्ये एक जनालाई आफ्नो जीवनकालमा हर्टफेलर हुने समस्या देखिन्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार  हरेक वर्ष १ करोड ७९ लाख मानिसको मुटु रोगको कारण मृत्यु हुन्छ । तीमध्ये २ तिहाई न्युन र मध्यम आय भएका देशका मानिस छन् ।

विश्व मुटु दिवसको अवसरमा केन्द्रले मंगलबार बिहान ७:३० बजे नेपाल हार्ट नेटको सहयोगमा माइतीघरदेखि कोटेश्वरसम्म सचेतनामूलक कार र्‍याली निकालेको थियो ।

त्यस्तै कोभिड–१९ को महामारीका बीच पनि बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको सेवालाई सम्मान गर्दै पुष्प गुच्छा वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment