Comments Add Comment

कोरोनाबारे फैलाइएका ६ भ्रम र यथार्थ

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विश्वमा १० लाख भन्दा बढीको ज्यान गइसकेको छ भने तीन करोड भन्दा बढीलाई संक्रमित बनाएको छ । नेपालमै पनि करिब ५०० जनाको ज्यान गइसकेको छ ।

कोभिड–१९ को प्रभाव कुन–कुन क्षेत्रमा परेको छ भन्दा पनि कहाँ परेको छैन भनेर हेर्नुपर्ने अवस्था छ । विश्वलाई नै टाउको दुःखाइ बनिरहेको विषयमा निकै हल्का र सरोकार नभएका व्यक्तिहरूले पनि विज्ञ जसरी प्रवचन दिइरहेको सुनिन्छ । एक चिकित्सकको नाताले कोरोनाबारे चलाइएका केही भ्रम र वास्तविकताबारे संक्षिप्तमा चर्चा गरिएको छ ।

भ्रम १ : यो सामान्य रुघाखोकी गराउने भाइरस हो ।

यो बिल्कुलै नयाँ भाइरस हो र यसको संक्रमणले धेरैमा लक्षण नदेखिने, केही व्यक्तिमा सामान्य लक्षण देखिने र केही प्रतिशत संक्रमितमा अत्यन्त गम्भीर स्वास्थ्य समस्या आई ज्यान जानसक्ने हुन्छ ।

भ्रम २ : बेसार पानी, तातोपानी, धेरै पानी प्रत्येक दिन बिहान–बेलुका पिउनाले कोभिड–१९ संक्रमण हुँदैन ।

यो कुराको वैज्ञानिक आधार अहिलेसम्म भेटिएको छैन । त्यसकारण यस्तो कुरामा विश्वास गर्नु आफूले आफैंलाई कोभिड–१९ को संक्रमणको चपेटमा ल्याउनु हो । कोभिड–१९ को भाइरस श्वास–प्रश्वास प्रणालीमा हुन्छ । हामी पानी मुखबाट पिउँछौ जुन श्वास–प्रश्वास प्रणालीमा गयो भने अझ बढी समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसकारण यो विचार पूरै निराधार हो ।

भ्रम ३ : कोभिड–१९ अतिरञ्जित प्रोपोगान्डा हो, यसले मात्रै बिरामीको ज्यान जाँदैन, जति मरेका छन् अन्य कारणले मरेका हुन् ।

पढेलेखेका शिक्षित वर्ग समेतलाई यो भ्रमले नराम्रोसँग गाँजेको छ । डब्लुएचओ तथा सिडिसीको तथ्यांकलाई तोडमोड गर्दै र हुँदै नभएका विभिन्न राष्ट्रको मनगढन्ते तथ्यांकहरू देखाउँदै तिनै स्वघोषित विद्वत वर्गले जनमानसमा गलत छाप छोड्न सफल भएका छन् । माथिको भनाइमा आंशिक सत्यता के छ भने कोभिड–१९ का बिरामीहरूमा अन्य रोगको समेत पहिलेदेखि नै उपस्थिति छ भने मर्ने दर बढी हुन्छ । तर, पूर्ण सत्यता के हो भने अन्य रोग नभएकाको पनि कोभिड–१९ ले मृत्यु हुनसक्छ र भइरहेको छ ।

कोभिड–१९ ले अन्य रोग भएका व्यक्तिमा जटिलता बढाउन सक्छ र अकालमा मृत्युवरण गर्न बाध्य बनाउन सक्छ । विश्व स्वास्थ्य संगठनले सुरुका दिनदेखि नै भन्दै आइरहेको कुरा पनि यही हो कि वृद्ध, दीर्घरोगी तथा रोग प्रतिरक्षा शक्ति कमजोर भएकाहरूमा कोभिड–१९ को मृत्युदर धेरै हुन्छ ।

यहाँनेर बुझ्नुपर्ने तथ्य के हो भने ती दीर्घरोगी, मुटु, फोक्सो तथा मिर्गौलाका बिमारीहरू जो कोभिड–१९ संक्रमण सहित मृत्युवरण गरे यदि उनीहरूलाई कोभिड–१९ संक्रमण नभएको भए तत्काल मर्ने थिएनन् र सायद आजको मितिमा जीवित नै हुने थिए । त्यसकारण यो अतिरञ्जित प्रोपगान्डा होइन, समस्त मानवजगतमा ठूलो जनश्वास्थ्य समस्याको रुपमा ठडिएको विकराल समस्या हो ।

भ्रम ४ : कोभिड–१९ को बहानामा हस्पिटलहरू मानव अंगको तस्करी गर्दैछन् ।

यो भ्रम भन्दा पनि नैतिकता हराएका अल्पबुद्धि वर्गले फैलाएको अफवाह हो जो आफू कोठाको चार दिवार भित्र बसेर रातदिन अग्रपंक्तिमा रहेर कोभिड–१९ सँग भिडिरहेका स्वास्थ्यका खम्बाहरूको मनोबल गिराउँदै युट्यूब लगायतका सामाजिक सञ्जालमा बकम्फुसे ज्ञान बाँडिरहेका छन् ।

भ्रम ५ : रक्सी खाएपछि कोभिड–१९ भाइरस मर्छ ।

रक्सी खाएपछि बिरामी मान्छेको शरीरभित्र छिरिसकेको भाइरस त मर्दैन तर, बिरामीको स्वास्थ्य समस्या अझ बढ्छ । साथै प्रतिरक्षा शक्ति कमजोर भएर छिटो निको हुने सम्भावना घट्छ ।

भ्रम ६ : प्रत्येक दिन तातोपानीले नुहाएमा कोभिड–१९ को संक्रमण हुँदैन ।

यो पनि एक मिथ्या मात्र हो किनकि शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुन्छ तर कोभिड–१९ भाइरस मर्नका लागि ५६ डिग्री सेन्टिग्रेड चाहिन्छ जुन तापक्रममा हामी नुहाउन सक्दैनौं र नुहाउने तापक्रममा यो भाइरस मर्न सक्दैन ।

यी र यस्तै कैयौं भ्रम तथा अफवाह आजको दिनमा हाम्रो समाजमा व्याप्त छन् । आफ्नो व्यक्तिगत लोकप्रियता कमाउनका लागि तथ्यहीन र अत्यन्तै घृणित लेभलमा प्रस्तुत हुने यस्ता समाजका किराहरुसँग सतर्क भई सुरक्षाका सम्पूर्ण विधि हुबहु पालना गर्नु नै आजको अपरिहार्यता हो ।

तपाईं–हाम्रो सामूहिक प्रयासले मात्र कोभिड नियन्त्रणका प्रयासहरु सफल हुनेछन् । जब देशका एकएक जनताले आ–आफ्नो स्थानबाट सहयोग गर्ने छन्, तब मात्र कोभिड–१९ रहित सामान्य जीवनमा हामी फर्कन सक्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment