Comments Add Comment

जब हाम्रो परिवारमा कोरोना छिर्‍यो !

डाक्टरका सुझाव अमूल्य छन्, मृत्यु होइन, जीवन रोजौं

सबैले कोरोना भाइरस संक्रमण आफूलाई नहोस् भन्ने चाहना राख्नु स्वाभाविक नै हो । तर, कोरोना संक्रमणको बढ्दो दरलाई विश्लेषण गर्दा हरेक नेपाली कोरोना भाइरसलाई सामना गर्न तयार हुनुको विकल्प देखिँदैन । त्यसैले अझै पनि कोराना भाइरस लाग्नै नदिने गरी तयारी गरौं, लाइहालेमा डाक्टर/स्वास्थ्यकर्मीसँग सुझाव र सल्लाह लिऔं । कोरोनाले आक्रान्त भएका बेला सबैका लागि डाक्टरका सल्लाह र सुझाव अमूल्य हुँदारहेछन् ।

मेरा फेमिली डाक्टर छैनन् । सम्बन्धित विषयका विज्ञसँग सुझाव लिन, अफिसले उपलब्ध गराएका र चिनजान भएका डाक्टरको विज्ञतालाई प्रयोग गर्न, केही डाक्टर अति नै व्यस्त हुँदा तत्काल फोन रेस्पोन्स गर्न सम्भव नहुने र आफूलाई तुरुन्तै समस्या समाधान गर्नुपर्ने हुँदोरहेछ ।

खुल्ला हृदयले सम्भव भएसम्म डाक्टरसँग सुझाव/सल्लाह लिएर अघि बढ्दा दु:ख, अप्ठ्यारा र क्षतिलाई न्यूनीकरण गर्न सकिँदोरहेछ । हाम्रो परिवारमा स्वास्थ्यसम्बन्धी समस्या आउँदा एउटै विषयमा एकभन्दा बढी डाक्टरसँग पनि कुरा गर्‍यौं । डाक्टरप्रति अविश्वास प्रकट गरेर पटक्कै होइन, मेरो बुझाइमा समेत क्रस चेक होस् र समस्या समाधान गर्न थप सहज होस् भन्ने असल नियतले त्यसो गरिएको हो ।

हाम्रो परिवारमा कोरोना संक्रमण भएका बेला धेरै डाक्टरहरूसँग कुरा गरियो । यो लेखमा कोरोना संक्रमणका बेला हाम्रो परिवारलाई कस्ता कस्ता समस्या आइपरे, डाक्टरसँगको परामर्शमा तिनीहरुलाई कसरी समाधान गरियो भन्ने पक्षलाई बुँदागतरुपमा प्रस्तुत गरिएको छ ।

१. दाइले सुगर र किड्नीसम्बन्धी ल्याब रिपोर्ट डा. डिना श्रेष्ठलाई देखाएर उहाँले लेखिदिएका औषधि खान थाल्नुभएको थियो । धेरै पहिलेदेखि चिनजान रहेकाले मैले अमेरिकामा रहनुभएका डा. भास्कर केसीलाई ल्याबको रिपोर्ट र औषधि पठाइ केही सुझाव भए दिनु है भनें । उहाँले ‘रिपोर्ट अनुसार औषधि ठीक छन् । दाइमा अरु समस्या छन् कि छैनन, त्यो थाहा पाउन थप परीक्षण गराउँदा राम्रो हुन्छ’ भन्नुभयो ।

तर, ती औषधि खाएपछि पनि दाइले पिसाब फेर्दा पोलिराखेको, बेला-बेलामा पेट पनि पोल्छ र दुख्छ पनि भन्नु भएपछि मैले डा. डिनासँग थप सुझाव लिने निधो गरें । उहाँसँग चिनजान थिएन । दाइलाई डा.डिनाको फोन नम्बर छ भनेर सोध्दा ‘छैन’ भन्नुभयो । त्यसपछि स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाललाई फोन गरी डा. डिनाको नम्बर मागें । दाइको अवस्थाबारे जानकारी गराउँदै डा. डिनालाई भाइबर र फेसबुकको इन्बक्समा सन्देश पठाएँ । उहाँले भन्नुभयो, ‘मैले औषधि दिइसकेकी छु, तैपनि कोरोना परीक्षण गरेपछि अल्ट्रासाउण्ड गरेर हेरौं ।’

अल्ट्रासाउण्ड गर्न केही हस्पिटलमा बुझ्दा पहिले नै समय लिनुपर्ने र ल्याबमा फोन गर्दा हप्तामा निश्चित दिनमा मात्र हुने जानकारी पाएँ । फेरि मैले डा. डिनालाई सन्देश पठाएँ, ‘कोरोना परीक्षण त गराउँछौं, तर औषधि खाँदा पनि ज्वरो आइरहेको छ । थप सुझाव दिनुहोला ।’

डा. डिनाले लेख्नुभयो, ‘छिटोभन्दा छिटो फिजिसियनलाई देखाउनू ।’ डा.डिनाको सुझाव अनुसार सबैभन्दा पहिले कोरोना परीक्षण गराउँदा दाइको रिपोर्टमा पोजेटिभ देखियो ।

२. रिपोर्ट पोजेटिभ देखिएपछि मैले डा. सुदीप जिसीसँग कुरा गर्दै भनें – ‘दाइलाई ज्वरो आइरहेको छ । शारीरिक रुपमा गलि सक्नु भएको छ । खाना खान मन लाग्दैन भन्नुहुन्छ । मनोबल पनि खस्किएको छ । खुट्टा पनि कामेजस्तो छ । यस्तो अवस्थामा औषधि खुवाएर घरमा राख्दा ठीक होला कि हस्पिटल लैजाँदा ?’

डा सुदीपले भन्नुभयो-‘दाइलाई हस्पिटल लैजानु भए राम्रो हुन्छ । कुन हस्पिटल लाने, यहाँले निर्णय गर्नुहोला, केही अप्ठायारो परे भन्नु होला ।’

घरपरिवारमा छलफल गरी दाइलाई हस्पिटल लैजाने निर्णय गर्‍यौं । एम्बुलेन्स बोलायौं र हस्पिटलमा भर्ना गर्‍यौं ।

३. हस्पिटल भर्ना भएपछि म दाइसँग नियमितजस्तो सम्पर्कमा थिएँ । तपाईंको के छ अवस्था भन्दा दाइले भन्नुभयो-‘खाना खान पटक्कै मन लाग्दैन । बेला-बेलामा खोकी लाग्न खोज्छ, सुत्दा खोकी लाग्ने डरले रातभर सुतेको छैन । पेट पनि गढबड छ ।’

मैले डा. रावल गुप्तालाई फोन गरेर दाइको समस्या बताएँ । उहाँले भन्नुभयो-‘खाना र खोकी बारे त हामीले हेरिसकेका छौं । पेटबारे त केही भन्नुभएन । तपाईंले जानकारी गराउनुभयो, हामीले फलो गर्छौं ।’

४. हामी ८ जना (आमा, भाउजू, म, श्रीमती, भाइ, भतिजा, भतिजी र मेरा छोरा) रिपोर्टको ब्यग्र प्रतीक्षामा थियौं, टेकुबाट फोन आयो । जन्मेको ५२ दिन पुगेको मेरो छोरा, आमा र भतिजको कोभिड परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । तर, अरु सबैको पोजेटिभ । मेरो र श्रीमतीको रिपोर्ट पोजेटिभ र छोराको नेगेटिभ आएको जानकारी गराउँदै टेकुबाट फोन गर्नु भएकालाई सोधें – ‘अरु व्यवस्थापनमा समस्या छैन, बच्चालाई छुट्टै राख्ने होला कि आमाबाबुसँगै राख्दा उचित होला ?’

उताबाट भन्नुभयो- ‘तपाईंहरुले सावधानी अपनाउनु होला । छोरालाई आमासँग राख्दा हुन्छ ।’

त्यसपछि मैले डा. श्रीधर खनाललाई पनि के गर्दा राम्रो होला, सुल्लाह दिनु त भनेपछि उहाँले भन्नुभयो-‘आठवटा कुरामा सावधानी अपाउनुभयो भने बच्चा आमासँग राख्दा पनि हुन्छ-

पहिलो- बच्चा भएको कोठामा मास्क अनिवार्य लगाउने । दोस्रो- हाच्छिउ नगर्ने । तेस्रो- कोठामा नखोक्ने । चौथो- बच्चालाई सकेसम्म आमाबाबु बाहेक अरु व्यक्तिको सम्पर्कमा नराख्ने । पाँचौं- बच्चालाई छुनुभन्दा अघि स्यानिटाइजरको प्रयोग गर्ने । छैठौं- बच्चालाई दूध बढी खुवाउने । सातौं – समस्या देखिएमा डाक्टरसँग परामर्श गर्ने । र, आठौं- बच्चाले सास फेर्न अप्ठ्यारो माने तत्काल हस्पिटल लैजाने व्यवस्था गर्ने ।

मेरा फुपूका छोरा शिव जीसी अमेरिकाको हस्पिटलमा काम गर्नुहुन्छ । उहाँसँग कुरा गर्दा बच्चाबारे थप बुझ्न लगाएँ । उहाँले भन्नुभयो- अनुसन्धानहरुले बच्चाहरुमा कम संक्रमण देखाएका छन् । सर्तकता अपनाएर आमासँगै राख्नू । केही समस्या आइहाले डाक्टरसँग परामर्श गरिहाल्नू ।’

५. पुनः परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएपछि र हस्पिटलमा १२ दिन उपचार गराएपछि दाइ डिस्चार्ज भएर घर आउने हुनुभयो । घर आउनु त अति नै खुशीको कुरा भयो । तर, सँगसँगै उहाँलाई कहाँ राख्ने भन्ने समस्या आइपर्यो । रिपोर्ट नेगेटिभ आउनासाथ आमा र भतिजलाई तत्लो फल्याटको कोठामा राखेका थियौं । माथि फल्याटमा बच्चासहित हामी कोरोना संक्रमित बसेका थियौं । त्यसपछि मैले डा. टी. शेर्पालाई समस्या जानकारी गराएँ ।

उहाँले एट्याच रुम भए बस्न सकिने, मास्क लगाउनुपर्ने र अरु कुरामा पनि विशेष सावधान हुन सझुाव दिनुभयो । यसबारे डा. अजयसँग पनि सल्लाह गरें । उहाँले पनि सतर्कता अपनाएर राख्दा हुन्छ भन्नुभयो । हामीसँग एट्याच रुम पनि थियो । रुम पनि पुरै सफा गर्यौं । र, दाइलाई त्यहाँ राख्ने भयौं ।

दाइ आउनु भएपछि हामी सबै खुशी भयौं । तर, अर्को समस्या निस्कियो, उहाँलाई खानाको व्यवस्थापन कसरी गर्ने ? खाना बनाउन दाइसँग फुर्तिफार्ति छैन । बनाउनै परे पनि ठाउँ छैन । त्यसपछि मैले व्यवहारिक समस्या देखाउँदै केही डाक्टरसँग सल्लाह गरें । त्यसपछि उहाँहरुले दाइको कोठामा सकेसम्म नजान, खानालाई हातले नछुन र ग्लोब्स लगाएर तात्तातो खाना पकाउने भाँडाबाट झिकेर दाइको कोठाको ढोका नजिक राखिएका भाडामा राखिदिन सुझाव दिनुभयो । अनि हामीले त्यसै गर्यौं ।

६. दुईहप्तापछि हाम्रो परिवारका सबै ९ जना सदस्यको पुनः परीक्षण गरायौं । सबैको रिपोर्ट नेगेटिभ आयो । हामीले फोनबाट आमा र भतिजलाई केही दिन त्यही कोठामा बस्न अनुरोध गर्यौं । आमाले मलीन स्वरमा ‘अब पनि तल बस्न परो भने म पनि बिरामी हुन्छु होला’ भन्नुभयो । भतिजले पनि मायालाग्दो स्वरमा ‘मेरो सानो भाइ कत्रो भयो होला, मलाई आजै भाइ हेर्न मन छ’ भन्यो ।

त्यसपछि डाक्टरसँग सल्लाह गर्यौं, उहाँहरुले आमा र भतिजलाई छुट्टै कोठामा राख्न र दुरी कायम गर्न सल्लाह दिनुभयो ।

७. आइसोलेसनमा बसेका बेला सानो छोरोलाई एकपटक ज्वरो आयो । अर्को पटक घ्यार घ्यार जस्तो भयो । मैले डा.श्रीधर खनाललाई फोन गरें । दुवै पटक उहाँले औषधिको नाम दिनुभयो र प्रयोग गर्ने तरिका सिकाउनुभयो । दुवै पटक उहाँले भन्नुभयो- ‘बच्चाले अलि अप्ठ्यारो महसुस गरे हस्पिटल लैजानु होला । थप सहयोग चाहिए भन्नु है ।’

८. पहिलोपटक हाम्रो परिवारको रिपोर्ट आएपछि मैले काठमाडौं महानगरपालिका वडा नं २९ की अहेब सुनिता बराललाई जानकारी गराएँ । उहाँले कन्ट्याक्ट ट्रेसिङका लागि राम्रो रेस्पोन्स गर्नुभयो ।

पुनः परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि पनि जानकारी गराएँ । उहाँले सुझाव दिँदै भन्नुभयो-‘तपाईंहरु सबैजना थप एक हप्तासम्म आइसोलेसनमा बस्नु होला ।’

९. हस्पिटलबाट आएपछि दाइको अब्जरेभसन गर्दा रातिमा निदाएका बेला बोल्ने, हात-खुट्टा दुख्ने, छातीमा केही असजिलो महसुस गरेझै गर्ने र बेला बेलामा हल्काफुल्का खोकी आएको पाएँ । यसरबारे डा.सुदीपसँग कुरा गर्दा उहाँले भन्नुभयो- ‘एक महिनाजति थकान महसुस हुन सक्छ । बेला-बेलामा खोकी आउन पनि सक्छ । त्यसबाट नआत्तिनू । खानामा विशेष ध्यान दिनू । दाइले अलि धेरै नै अप्ठ्यारो महसुस गर्नुभयो भने तत्काल खबर गर्नू । परिस्थिति अनुसार अघि बढौंला ।’

सरकारले जनतासँग डाक्टर/स्वास्थ्यकर्मीको सहज पहुँचका लागि थप पहल गरोस् । दीर्घकालीन रुपमा हरेक परिवारलाई फेमेली डाक्टर उपलब्ध गराउने नीति बनाउनतर्फ पाइला चालोस् । यतिबेला आफू बाँच्न र अरुलाई बचाउन सबैले आ-आफ्नो ठाउँबाट विशेष भूमिका निर्वाह गरौं । आवश्यक परे बाँकी हिसाब किताब पछि गर्दैगर्दा पनि हुन्छ, होइन र ?

दाइ हस्पिटलमा हुँदा र हामी आइसोलेसनमा बस्दा सबैका सुझाव र सल्लाह सुनेका छौं । मेडिकल साइन्समा डाक्टरका सुझाव र सल्लाहलाई सम्भव भएसम्म कार्यान्वयन गरेका छौं । यसो गर्दा समस्याहरुलाई तत्काल समाधान गर्न र क्षतिलाई न्यूनीकरण गर्न सक्षम भएका छौं ।

मलाई लागेको छ, प्रत्येक नेपालीको परिवारलाई फेमिली डाक्टरको व्यवस्था भएको भए यतिबेला कति सहज हुँदो हो । यो मुलुकको राजनीतिक, आर्थिक र स्वास्थ्य अवस्था तथा जनचेतना र स्वास्थ्य सेवा लिन स्तर हेर्दा तत्काल त्यो सम्भव देखिँदैन । अर्कातिर हस्पिटलको मापदण्ड, सेवा दिने शैली, पैसामुखी प्रवृति, डाक्टर पढ्दा लाग्ने खर्च, उनीहरुले पाउने पारिश्रमिक, उनीहरुको चिन्तन लगायतलाई नियाल्दा सबै डाक्टर/स्वास्थ्यकर्मीले फटाफट सल्लाह/सुझाव दिने वातावरण छैन ।

हुनत अहिले टेलिमेडिसिन, हाम्रो डक्टर, हटलाइनलगायतका सर्भिसहरू पनि छन् । तर, पनि मेरो आग्रह छ, महासंकटलाई डाक्टरले सेवा गर्ने र जनताले सेवा पाउने विशेष अवसरका रुपमा बदलौं । डाक्टरले हस्पिटलमा कार्यरत रहँदा बाहेक पनि जनतालाई सुझाव/सल्लाह दिऔं । यस्तो गर्दा आफ्नो व्यवसायिक क्षेत्र खुम्चने होइन, झन् विस्तार हुन सक्छ ।

त्यसमा पनि शंका लागे सामाजिक सञ्जालबाट समेत विशेष जानकारी दिँदै आउनु भएका डा. रविन्द्र पाण्डे, डा.ओममूर्ति अनिल, डा. शेरबहादुर पुन, डा.समीर दीक्षित, डा. सुशील कोइराला लगायतलाई सोधौं । स्वास्थ्य समस्या देखापरे जनताले पनि आफूले देखाउँदै आएका, चिनेका र चिन्दै नचिनेका डाक्टरसँग पनि सल्लाह/सुझाव लिने हिम्मत गरम् किनकि डाक्टरको एउटा सुझावले मृत्यु होइन, जीवन रोज्न सहयोग पुर्याउन सक्छ । यस अतिरिक्त स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल हस्पिटल जानु वा लैजानु सर्वाधिक महत्वपूर्ण हो भन्ने कुरालाई पनि नभुलौं ।

सरकारले जनतासँग डाक्टर/स्वास्थ्यकर्मीको सहज पहुँचका लागि थप पहल गरोस् । दीर्घकालीन रुपमा हरेक परिवारलाई फेमेली डाक्टर उपलब्ध गराउने नीति बनाउनतर्फ पाइला चालोस् । यतिबेला आफू बाँच्न र अरुलाई बचाउन सबैले आ-आफ्नो ठाउँबाट विशेष भूमिका निर्वाह गरौं । आवश्यक परे बाँकी हिसाब किताब पछि गर्दैगर्दा पनि हुन्छ, होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment