+
+

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङ दुई तिहाइले पास

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते २१:१५

२० असोज, काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।

मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थियो भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।

तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरीत भालुबाङ राजधानी बनाउन मतदान गरेको पाइएको छ । किनकि प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।

राजधानीको विषयमा भएको मतदान प्रक्रिया तीन जना सांसदले बहिस्कार गरेका छन् । जनता समाजवादी पार्टीका दुई जना र राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसदले मत विभाजन प्रक्रियामा भाग लिएनन् ।

जसपाका रुपन्देहीबाट निर्वाचित सांसद सन्तोष पाण्डे र अर्घाखाँचीकी कल्पना पाण्डे लम्साल तथा राष्ट्रिय जनमोर्चाकी प्युठानकी सांसद तारा जीसीले राजधानीबारेको मतदान प्रक्रिया बहिस्कार गरेका हुन् । जनता समाजवादी पार्टीका ६ मध्ये अन्य ४ सांसदले दाङको पक्षमा मत हालेका थिए ।

मंगलबार नै प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले भालुबाङ राजधानी बनाउँदा प्रदेशको १२ वटै जिल्लाको मनोविज्ञानको प्रतिनिधित्व हुने जिकिर गरे । उनले बुटवल- भैरहवालाई वित्तीय राजधानी बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?