Comments Add Comment

निगमका नवनियुक्त महाप्रवन्धक भन्छन् : समस्या थाहा छ, एक-एक गरी सुधार्छु

'मैले व्यवस्थापन सम्हाल्छु, अध्यक्षले सञ्चालक समिति'

२३ असोज, काठमाडौं । संकटग्रस्त अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘उद्धार’ गर्ने जिम्मेवारी सरकारले डिमप्रकाश पौडेलको काँधमा सुम्पेको छ । निगमको महाप्रबन्धक नियुक्त गरिएका पौडेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गत वर्ष असोजमा नेपाल एयरलाइन्स सुधार गर्न समिति गठन गरेका थिए । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेको संयोकत्वमा गठित उक्त समितिमा सदस्य थिए पौडेल । यसर्थ कम्पनीको सर्वाङ्ग उनलाई थाहा छ ।

नवनियुक्त महाप्रवन्धक पौडेलले अनलाइनखबरसँग भने, ‘नेपाल एयरलाइन्स भित्रका कमि-कमजोरी सबै थाहा छन्, अब एक-एक गरेर सुधार्छु ।’

पौडेलले तीनवटा कामलाई प्राथमिकतामा राख्ने सुनाए । कोरोना भाइरसको महामारीबाट भएको हवाई उद्योगमा परेको मारबाट नेपाल एयरलाइन्सलाई जोगाउने कामलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । त्यसपछि आन्तरिक उडानमा नेपाल एयरलाइन्सको उपस्थिति बलियो बनाउने र जहाजहरु थप्ने उनको योजना छ । चिनियाँ जहाज विस्थापित गर्ने निर्णयसँगै आन्तरिक उडानमा नेपाल एयरलाइन्सलाई नयाँ जहाज आवश्यक पर्छ ।

उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय उडानमा समेत थप जहाज आवश्यक रहेकाले त्यसलाई ध्यानमा राखेको छु ।’

उनको तेस्रो प्राथमिकता चाहिँ नेपाल एयरलाइन्स विभिन्न विभागमा रहेका विकृति, विसंगति हटाउने तथा संस्थागत सुदृढीकरणमा काम गर्ने रहेको छ ।

शक्तिको लडाईंको डर

त्यसो त निगममा सुशील घिमिरे कार्यकारी रहेको अवस्थामा पौडेल महाप्रवन्धक भएर आएपछि शक्तिको लडाईं सुरु हुन सक्ने आँकलन पनि एकथरिले गरेका छन् । सरकारले ३ वैशाख २०७७ मा पर्यटन मन्त्रालयका पूर्वसचिव तथा नेपाल एयरलाइन्समा लामो समय सञ्चालक समिति अध्यक्षको रुपमा काम गरिसकेका घिमिरेलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । यसअनुसार उनले सञ्चालक समिति र व्यवस्थापन दुबैको नेतृत्व गर्न सक्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार घिमिरेको नियुक्ति पत्रमा ‘अर्को व्यवस्था नहुन्जेलका लागि’ भन्ने व्यहोरा उल्लेख गरेको छ । सोहीकारण अब उनले सञ्चालक समितिको अध्यक्षका रुपमा मात्र उनले काम गर्नेछन् । अर्थात् उनले अब नियमित कार्यालय आउनुपर्ने छैन । पौडेलले व्यवस्थापन र घिमिरेले सञ्चालक समितिको नेतृत्व गर्ने गरी निर्णय भएको हो ।

नेपाल एयरलाइन्समा सरकारी नेतृत्वले आफ्नो स्वार्थका व्यक्तिलाई उच्च नेतृत्वमा लैजाने प्रवृत्तिले पटकपटक शक्तिको लडाईं हुने गरेको छ । यसअघि तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारले काम गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा मन्त्रिपरिषद्बाट मदन खरेललाई कार्यकारी अध्यक्षको भूमिका दिइएको थियो ।

तर, कंसाकारले आफ्नो कार्यकाल बाँकी रहेको भन्दै पद छाडेनन् । यसले कार्यकारी भूमिकामै दुई जना रहँदा द्वन्द्व बढेको थियो । खरेलबाट समेत प्रधानमन्त्रीले चाहेजस्तो काम हुन सकेन । फलस्वरुपः उनले कार्यकाल पुरा नहुँदै राजिनामा गरे ।

हामीले पौडेललाई सोध्यौं अहिले पनि त्यस्तै अवस्थाको पुनरावृत्ति हुने त होइन ?

पौडलले जवाफ दिए, ‘अहिले कार्यभार स्पष्ट छ, म व्यवस्थापन सम्हाल्ने छु, उहाँले सञ्चालक समिति । कुनै द्वन्द्व हुँदैन ।’

हामीले कार्यकारी अध्यक्ष घिमिरेलाई समेत यही प्रश्न राख्यौं । उनी पनि असन्तुष्ट देखिएनन् । ‘द्वन्द्व किन हुनु, सबै सल्लाहमै भएको हो, यति बुझनुहोस, हामी एउटै टीममा छौं ।’

नेपाल एयरलाइन्सको सुधारका लागि नेतृत्वमा एक अनुभवी र बलियो टिम रहेको भन्दै दुबै जनाले अब सुधारका काममा तिब्रता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment