Comments Add Comment

५ हजारबाट कसरी झर्‍यो २ हजारमा संक्रमित संख्या ?

टेष्टसँगै घट्यो संक्रमितको संख्या

२५ असोज, काठमाडौं । शनिबार एकैदिन ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियो । एकैदिनमा पहिचान भएको संक्रमितहरुको यो संख्या पछिल्लो सात महिनायता सबैभन्दा बढी हो ।

आइतबार भने संक्रमितको संख्या ५ हजारबाट स्वाट्टै घटेर २ हजार ७१ मात्रै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ ।

यो विवरणमा सर्वसाधारण मात्र होइन, जनस्वास्थ्य विज्ञहरुकै चासो देखिएको छ, २४ घण्टामा संक्रमितमा यति धेरै तलमाथि कसरी भयो ?

पहिलो, संक्रमितको संख्या मात्र घटेको छैन, पीसीआर टेष्ट गरिएको नमुनाको संख्या पनि घटेको छ । शनिबार १९ हजार ३२० नमुना परीक्षण गर्दा ५ हजार ८ जनामा संक्रमण देखिएको थियो । तर, आइतबार १२ हजार ४२७ जनामा मात्रै नमुना परीक्षण गरिएको छ ।

असोज महिनाभरको दैनिक तथ्यांक हेर्ने हो भने पीसीआर टेष्ट बढाएको दिन संक्रमितको संख्या पनि बढेको छ, टेष्ट घटेको दिन संक्रमितको संख्या पनि घटेको छ ।

असोज २ लाई छाड्ने हो १५ गतेसम्म दैनिक पीसीआर टेष्टको संख्या साढे १२ हजार र संक्रमितको संख्या २ हजारभन्दा कम छ ।

१६ गते पीसीआर टेष्ट गरिएको नमुना संख्या १४ हजार ७३९ हुँदा २७२२ पोजेटिभ छ । त्यसपछि लगातार तीन दिन टेष्टसँगै संक्रमितको संख्या कम भएको छ ।

२१ गते पीसीआर टेष्ट बढाएर १४ हजार २०९ पुग्दा संक्रमितको संख्या ३ हजार ४३९ पुग्यो । २२ गते १८ हजार ४७३ नमुना परीक्षण गर्दा ४ हजार ३६४ जनामा संक्रमण देखियो ।

२३ गते टेष्ट र पोजेटिभ संख्या दुवै घट्यो । १३ हजार २७९ नमुना परीक्षण गर्दा २ हजार ५९ जनामा संक्रमण देखियो । २३ गते शनिबार टेष्ट बढेर १९ हजार ३२० पुग्दा ५ हजार ८ जनाको रिपोर्ट पोजेटिभ आयो । तर आइतबार फेरि टेष्ट घटेर १२ हजार ४२७ मा आइपुग्दा संक्रमितको संख्या २ हजार ७१ मा झरेको छ ।

किन यस्तो घटबढ हुन्छ ?

धेरै देशको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमण क्रमशः बढेर एउटा उचाइमा पुग्छ र फेरि घट्छ । तर नेपालको तथ्यांकमा धेरै पटक घटबढ देखिएको छ ।

प्रयोगशालाहरुका अनुसार हरेक दिन मध्यान्ह १२ बजेसम्म पछिल्लो २४ घण्टामा भएको परीक्षण र पोजेटिभ केसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)लाई रिपोर्टिङ गर्नु भनिएको छ । यद्यपि कहिलेकाँही २ बजेसम्म पनि पठाउने गरिन्छ । यसरी  रिपोर्ट पठाउँदा पोजेटिभ आएकाहरुको नाम, ठेगाना, सम्पर्क नम्बर लगायतका सम्पूर्ण विवरण समेत दिनुपर्ने हुन्छ ।

ल्याबहरूले पठाएको रिपोर्ट ईडीसीडीबाट मन्त्रालय पुगेपछि नियमित प्रेस ब्रिफिङमा भन्ने गरिएको सहायक प्रवक्ता समिर अधिकारी बताउँछन् ।

पीसीआर टेष्ट र संक्रमितको संख्यामा यति धेरै तलमाथि किन त भन्ने प्रश्नमा उनले प्रयोगशालाहरुबाट जस्तो आयो, त्यस्तै भन्ने गरिएको तर्क गरे ।

तर, अनलाइनखबरको सम्पर्कमा आएका केही ल्याबले भने त्यसलाई अस्वीकार गरे । एक ल्याबका अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामीले हरेक दिन टेष्ट गरेको नमुनासँगै पोजेटिभ आएकाहरुको डिटेल रिपोर्ट पठाउने गरेका छौं, तर मन्त्रालयको अपडेटमा बेलाबेला तलमाथि हुने गरेको छ।’

उदाहरणका लागि, कुनै दिन टेष्टको नम्बर घटाएर भनिएको छ, पोजेटिभ नम्बर यही हुन्छ । अर्को दिन टेष्टको नम्बर घटाएर राखिएको हुन्छ, पोजेटिभ केस उल्लेख नै हुन्न ।

अर्को एउटा ल्याबका अधिकारीले पनि बेलाबेला यस्तो समस्या देखिएको सुनाए । यसबारे आफूहरुले इडीसीडीका अधिकारीहरुसँग सोध्दा ‘तपाईंहरुले पठाएर मात्र हुन्छ, हामीले भेरिफाई गरेर मात्र मन्त्रालय पठाउनुपर्छ । जति भेरिफाइ हुन्छ, त्यति पठाउँछौं’ भनेको उनले सुनाए ।

उनीहरूकाअनुसार शनिबार टेष्टको नम्बरमा धेरै कमी देखिँदैन । त्यसो भए पीसीआर टेष्ट १९ हजारबाट १२ हजारमा र संक्रमित ५००८ बाट २०७१  कसरी भयो त भन्ने प्रश्नमा एक ल्याब सञ्चालक भन्छन्, ‘संक्रमणको अवस्था भयावह छैन भन्ने सन्देश दिनका लागि पनि तलमाथि गरेको हुनसक्छन् ।’

स्वास्थ्य मन्त्रालयले  आइतबार उपलब्ध गराएको तथ्यांकमा पनि ५८ मध्ये १२ वटा ल्याबमा पीसीआर टेष्टको नम्बर नै शून्य छ भने अर्को १२ वटा ल्याबमा पीसीआर टेष्ट गरिएको नम्बर उल्लेख छ तर पोजेटिभ उल्लेख छैन ।

जीबाणु बैज्ञानिक डा. समिरमणि दीक्षित भने यसबारे मन्त्रालयले प्रष्ट पार्नुपर्ने बताउँछन् । ‘हिजो शनिबार भएकाले टेष्ट केही थोरै हुनसक्छ, तर यति धेेरै अन्तर नहुनु पर्ने हो,’ उनले अनलाइनखबरसँग भने, ‘के कारणले यति धेरै थपघट भएको हो राज्यले समयमै क्लियर गर्न सक्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारी भने यो विषयमा केही गडबड छ जस्तो लागेर मन्त्रालयमा छलफल भएको, तर साप्ताहिक तथ्यांक विश्लेषण गर्दा त्यस्तो नदेखिएको तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment