Comments Add Comment

सरकारी आइसोलेसनमा बस्न रुचाउँदैनन् सुदूरपश्चिमका संक्रमित, समुदायमा बढ्यो जोखिम

२८ असोज कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ मा केही दिनअघि ६ जनामा कोरोना संक्रमण पुष्टि भयो । नगरपालिकाको स्वास्थ्य शाखाले उनीहरूलाई आइसोलेसनमा ल्याउन भन्दै एम्बुलेन्स पठायो । तर, उनीहरु आउन मानेनन् । एम्बुलेन्स रित्तै फर्कियो ।

नगरपालिकाले २ स्थानमा २५ शय्याका आइसोलेसन तयार गरेको छ । तर, त्यहाँ कोही छैनन् । ७ जना सक्रिय संक्रमित घरमै छन् । यस्तो समस्या प्रदेशभरि नै छ । सुदूरपश्चिम प्रदेशमा पर्याप्त बेड सहितको आइसोलेसन छ । तर, निकै कम मात्र संक्रमितहरु छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ९ जिल्लाका ९४ स्थानमा १९२१ शय्याका आइसोलेसन छन् । तर, त्यहाँ जम्मा ४७६ जना संक्रमित छन् । मंगलबार साँझसम्म प्रदेशमा कूल सक्रिय संक्रमितको संख्या १ हजार २८२ पुगेको छ । तीमध्ये आधाभन्दा बढी घरमै छन् । स्वास्थ्य निर्देशनालयले ६२९ जना संक्रमित घरमै रहेको जनाएको छ ।

कुन जिल्लामा कस्तो छ अवस्था ?

अछाममा सक्रिय संक्रमित ५५ जना छन् । १२ स्थानमा ६०९ बेडको आइसोलेसन छ । तर त्यहाँ  १२ जना मात्रै बसिरहेका छन् ।

बैतडीमा ५० जना सक्रिय संक्रमित छन् । ८ स्थानमा १४१ बेड छ । तर, ७ जना मात्रै संस्थागत आइसोलेसनमा छन् ।

बझाङमा १२२ सक्रिय संक्रमित छन् । १३ स्थानमा २०५ बेड छ । ३४ जना मात्रै आइसोलेसनमा छन् ।

बाजुराका १० स्थानमा १९७ बेडका आइसोलेसन छन् । तर त्यहाँ कोही पनि बसेका छैनन् । जिल्लामा ६ जना सक्रिय संक्रमित छन् ।

अहिले सुदूरपश्चिम प्रदेशमा ३ गुणाभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । घरमा बस्नेहरूले पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा समुदायमा संक्रमण फैलने ठूलो खतरा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ

डडेल्धुरा ३७ जना सक्रिय संक्रमित छन् । ९ स्थानमा १८० बेडको आइसोलेसन तयार गरिएको छ । त्यहाँ ३४ जना बसिरहेका छन् ।

दार्चुला ८३ जना सक्रिय संक्रमित छन् । ११ स्थानमा १२५ बेड तयार गरिएको छ । तर, ५१ जना मात्रै छन् त्यहाँ पनि । डोटीमा १३५ जना सक्रिय संक्रमित छन् । त्यहाँ १२२ जना आइसोलेसनमा छन् ।

कञ्चनपुरमा १२८ जना सक्रिय संक्रमित छन् । ८ स्थानमा २०८ बेडको आइसोलेसन तयार गरिएको छ । तर, १०९ जना मात्रै आइसोलेसनमा छन् ।

कैलालीमा पनि अवस्था त्यस्तै छ । कैलालीमा सक्रिय संक्रमितको संख्या ६७३ पुगेको छ । तर, तीमध्ये आधा बढी संक्रमितहरु घरमै छन् ।

आइसोलेसनमा बस्न रुचाउँदैनन्

सुदूरपश्चिम प्रदेशमा ८ हजार २०५ कुल संक्रमित छन् । तीमध्ये ६ हजार ९३२ जना निको भएर घर फर्किसकेका छन् । हाल सक्रिय संक्रमित रहेका १ हजार २८२ जनामध्ये आधा बढी कैलालीमा मात्रै छन् ।

कैलालीमा सक्रिय संक्रमितको संख्या ६७३ पुगेको छ । तर, तीमध्ये आधा बढी संक्रमितहरु घरमै छन् । आइसोलेसन नभएर वा बेड नभएर उनीहरु घरमा बसेका होइनन् । उनीहरु आइसोलेसनमा बस्न रुचाउँदैनन् । कैलाली १३ स्थानमा २०५ बेड रहेका आइसोलेसन छ । तर, ११७ जना मात्रै संस्थागत आइसोलेसनमा छन् । कैलालीमा अहिले सक्रिय संक्रमितमध्ये ५ गुणा बढी संक्रमित घरमै छन् ।

‘आइसोलेसनमा बस्न मान्दैनन्,’ घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले भने, ‘घरमै बस्छु भनेर जिद्धी गर्छन् । हामीले एम्बुलेन्स पठाउँदा पनि आउँदैनन् ।’

धनगढी उपमहानगरपालिकामा सक्रिय संक्रमितको संख्या २०२ छ ।  तीमध्ये ४६ जना मात्रै संस्थागत आइसोलेसनमा बसिरहेका छन् । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १५ मा तयार गरेको आइसोलेसनमा ८५ बेड छ  । तर, त्यहाँ ३७ जना मात्रै छन् । २ सयसम्मलाई राख्न सकिने गरी तयार गरिएको आइसोलेसनमा बस्ने नचाहने गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

‘हामीले त्यहाँ २ सय बढीलाई राख्ने गरी आइसोलेसन तयार गरेका छौँ । तर, ४० जना पनि गएका छैनन्,’ उनले भने, ‘धेरैले आइसोलेसनमा बस्न मन गर्दैनन् ।’

सेती प्रादेशिक अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीहरूका लाग कोरोना अस्थायी अस्पताल तयार गरेको छ । त्यहाँ धनगढीमा ९ जना छन् ।

पर्याप्त आइसोलेसन हुँदा पनि घरमै बस्न चाहने गरेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र कार्कीले जानकारी दिए । ‘सरकारले पनि सुरक्षाका मापदण्ड पूरा गरेर घरमै बस्दा हुन्छ भनेको छ,’ उनले भने, ‘जहाँ रहे पनि सुरक्षित बस्नु पर्छ ।’

समुदायमा संक्रमणको जोखिम

अहिले सुदूरपश्चिम प्रदेशमा ३ गुणाभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । घरमा बस्नेहरूले पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा समुदायमा संक्रमण फैलने ठूलो खतरा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘अब चाड पर्व आइरहेका छन् । यस्तो बेला घरमा रहेकाहरूले नियम पालना नगरे शतप्रतिशत समुदायमा संक्रमण फैलने खतरा छ,’ प्रदेश स्वास्थ्य निर्देशन डा. गुणराज अवस्थीले भने, ‘सरकारको निर्देशन पालना नगर्ने र लापरबाही गर्दै जाने हो भने अवस्था भयावह हुन सक्छ ।’

धनगढीमा होम आइसोलेसनमा बसेका भनिएकाहरू पनि  समाजमा हिँडडुल गर्ने गरेको गुनासो आउन थालेको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

‘हामीसँग घरमा सुरक्षित ढंगले बसेका छौँ भन्छन् । उनीहरु बजारमा पुगिरहेको समेत गुनासो आउन थालेको छ,’ जनस्वास्थ्य निरीक्षक उपाध्यायले भने, ‘यस्तो लापरबाही हुन थाल्यो भने नियन्त्रण गर्न नसकिने गरी कोरोना संक्रमण फैलिन सक्छ ।’

सामाजिक विकास मन्त्रालयले अब संक्रमितहरु १४ दिनभित्र घरमा नरहेको पाइए कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । ‘संघीय सरकारले १४ दिनसम्म होम आइसोलेसनमा नबस्नेलाई कारबाही गर्ने नीति ल्याएको छ । हामी पनि त्यहीअनुसार अघि बढ्छौं,’ मन्त्रालयका सूचना अधिकारी कार्कीले भने, ‘सक्रिय संक्रमितहरु बाहिर हिँडेको पाए कानुनअनुसार कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment