+
+

कर्णालीबारे बालुवाटार र खुमलटारका दुईथरि प्रेस नोट

सूर्य थापा भन्छन्– चारबुँदे सहमति भयो, प्रचण्डको सचिवालय भन्छ–भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १८:०६

४ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको विवाद समाधान भएको बालुवाटार स्रोतले औपचारिक दाबी गरेको छ । तर, खुमलटार स्रोतले भने बालुवाटारमा कुनै निर्णय नभएको र यसबारे प्रदेशले नै निर्णय लिने तर्क गरेको छ ।

कर्णालीको विवाद समाधानका लागि मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच छलफल भएको थियो । छलफलमा प्रचण्डले प्रदेशको विवाद प्रदेशबाटै समाधान हुनुपर्ने अडान राखेको उनको सचिवालयले जनाएको थियो ।

तर, दिउँसो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयको छलफलपछि विवाद समाधान भएको लिखित दाबी गरे ।

थापाले मंगलबार जारी गरेको प्रेस नोटको व्यहोरा यस्तो छ–

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा, प्रेस सल्लाहकार

४ कात्तिक २०७७

प्रचण्डका प्रेस संयोजक भन्छन्– कुनै सहमति भएको छैन

प्रधानमन्त्रीका प्रेस संयोजक थापाले दुई अध्यक्षवीच ४ बुँदे सहमति भएको बताए पनि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने प्रदेशको विवादबारे बालुवाटारमा त्यस्तो कुनै सहमति नभएको बताए ।

‘प्रदेशको विवाद प्रदेशबाटै समाधान गर्नुपर्छ भन्ने कार्यकारी अध्यक्ष प्रचण्डले धारणा राख्नुभएको थियो,’ सापकोटाले अनलाइनखबरसँग भने, दुई अध्यक्षवीच त्यस्तो कुनै सहमति वा सम्झौता भएको छैन ।’

प्रदेशमा देखिएको विवाद प्रदेशबाटै समाधान हुनुपर्छ, केन्द्रले हस्तक्षेप गर्दा राम्रो सन्देश नजाने कार्यकारी अध्यक्ष प्रचण्डको धारणा रहेको उनले बताए ।

सापकोटाले विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच कर्णालीमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने सहमति भएको बताए ।

सापकोटाले मंगलबार जारी गरेको प्रेस नोटको व्यहोरा यस्तो छ–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?