Comments Add Comment

कसरी हुन्छ पेट्रोल ट्यांकर र पम्पमा आगलागी ?

सामान्य दमकलले निभाउन सक्दैन पेट्रोलको आगो

४ कात्तिक, काठमाडौं । पेट्रोलपम्पमा इन्धन खन्याउँदै गर्दा सोमबार राति रुपन्देहीको भैरहवामा ट्यांकरमै आगो लाग्यो । रुपन्देही प्रहरीका अनुसार पम्पको जमिनमुनी रहेको ट्यांकीमा पेट्रोल खन्याउँदै गर्दा ट्यांकरमा आगो दन्केको थियो ।

आगलागीबाट पम्पका अपरेटर नारायण खनाल सामान्य घाइते भएका छन् भने लु २ ख १५४१ नम्बरको ट्याङ्कर पूर्णरुपमा नष्ट भएको छ । ट्यांकरमा रहेको १३ लाख मूल्य बराबरको पेट्रोल आगोमा जलेको निगमको भैरहवा डिपो प्रमुख प्रलयंकर आचार्यले बताए ।

पानी बोकेको दमकल छिट्टै पुगे पनि निगमको भैरहवा डिपोबाट फमयुक्त दमकल पुगेपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । करिब डेढ घण्टासम्म ट्यांकरमा आगो लाग्दा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

आगलागीका श्रृङ्खला

यस्तै प्रकृतिको तर, योभन्दा भयानक आगलागी चार वर्ष पहिले डोटीको पिपल्ला बजारस्थित एक पम्पमा भएको थियो ।

२०७३ सालमा चैत्रमा जेबी आयल स्टोरमा लागेको आगोले पेट्रोलपम्प, तेलसहितको एउटा ट्याङ्कर, पम्पको काउन्टर, एउटा खाजा घर र एउटा सुनचाँदी पसल जलेका थिए । त्यसबेला पनि १२ हजार लिटर तेलमा आगो लागेको थियो । आगलागीको कारण भने खुल्न सकेन ।

सोही वर्ष कात्तिकमा दाङको लमहीमा एउटा पम्पमा आगो लागेको थियो । ट्यांकरले तेल खन्याएर फर्किएको १० मिनेटमै श्रीराम पेट्रोल पम्पमा लागेको आगो दमकलको अभावले अभाव लामो समयसम्म निभाउन सकिएको थिएन ।

तीन वर्ष पहिले विराटनगरको एक पेट्रोल पम्पमा पेट्रोल खन्याउँदै गर्दा ट्यांकरमा आगो लागेको थियो । तर आगो तत्कालै नियन्त्रणमा आएको थियो ।

किन सल्किन्छ ट्यांकर र पम्पमा आगो ?

भैरहवामा हिजो साँझ भएको आगलागीको कारण अझै खुल्न नसकेको डिपो प्रमुख अचार्यले बताए । विद्युत सट नभएको तथा अन्य कुनै आगोले भेट्ने घटना पनि नभएको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

‘ट्याङ्करमा पाइप जोडिने फलाम जुध्दा आगोको झिल्का उत्पन्न भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ भैरहवा डिपो प्रमुख प्रलयंकर आचार्यले भने । चालक र सहचालक सम्पर्क बाहिर भएकाले थप रहस्य विस्तारै खुल्दै जाने उनको भनाइ छ ।

पेट्रोल निकै प्रज्वलनशील पदार्थ रहेको र अनलोडको बेला पेट्रोलसँगै ग्यास पनि प्रवाह हुने निगमका इन्जिनिरयर भरत रेग्मी बताउँछन् ।

‘हामीलाई पम्प वरपर गन्ध आउने पेट्रोल सोही ग्यास हो, यो सानो झिल्को वा निकै तातो वस्तुबाट पनि आगोमा परिणत हुन सक्छ’ उनले भने । निगमले गरेको पहिचानअनुसार पम्प र पम्पमा इन्धन खन्याईरहेको बेला ट्यांकरमा आगो लाग्ने घटना तीनवटा कारणबाट हुन सक्छन् ।

इन्धन अनलोड गरिरहेको बेला नजिकै बसेर लामो समय मोबाईल चलाउँदा पनि आगलागी हुनसक्छ । मोबाइलमा उत्पन्न हुने तापले पेट्रोलबाट निस्किने ग्यास र वायुमण्डलको अक्सीजनका कारण आगलागी हुन सक्ने निगमले जनाएको छ ।

यस्तै मानवीय त्रुटिले आगोको लप्का पेट्रोल खन्याइरहेको ठाउँमा पुग्ने गरेको विगतमा धेरै पटक देखिएको छ । मैनबत्ति लिएर ट्यांकर खन्याई सकिएको हेर्नु खोज्नु, बिजुली सट हुनु, चुरोट खान वा अन्य कारणले आगो सल्काउने काम गर्नु पनि आगलागीको कारण हो ।

‘सधैंभरि पेट्रोलमा काम गरिरहने मान्छेहरु यसको गन्धसँग परिचित हुन्छन् र यसबाट केही हुँदैन भन्ने ठान्छन् । यस्तै बेलामा आगो लाग्ने खतरा हुन्छ,’ निगमका एक अधिकारी भन्छन् ।

यस्तै तेस्रो कारण भने तेल खाली गर्दा गर्दै तेल बाल्टिनमा हालेर मौज्दात गर्ने वा चोर्ने नियतले पनि ट्यांकर तथा पम्पमा आगलागीका घटना भएको निगमले जनाएको छ ।

सजगता नै पहिलो सुरक्षा

तीन वर्षअघि विराटनगरमा इन्धन भरिएको ट्याङ्करमा आगो सल्किएको थियो । त्यसबेला निगमको विराटनगर डिपोमा कार्यरत इन्जिनियर भरत रेग्मीका अनुसार ट्याङ्करमा आगो सल्किने बित्तिक्कै चालकले तुरुन्तै अग्नि नियन्त्रण उपकरण प्रयोग गरेर आगो नियन्त्रणमा लिएका थिए । पम्प सञ्चालक, कर्मचारी वा चालक सजग हुँदा मात्रै पनि पम्प वा ट्यांकर र पम्पको आगो धेरै हदसम्म रोकिने इन्जिनियर रेग्मी बताउँछन् ।

पम्पको अण्डरग्राउण्ड ट्यांकीमा आगलागी हुनसक्ने सम्भावना निकै कम हुने निगमका भैरहवा डिपो प्रमुख प्रलयङ्कर आचार्यको भनाइ छ । यस्तै ट्यांकरमा पनि भित्री कारणबाट आगो लाग्नै नसक्ने गरी सुरक्षा अपनाइएको हुने उनले बताए ।

आचार्यका अनुसार पम्पको ट्याङ्कीको मोटाई नै १० एमएमको हुन्छ र कुनै कारणबाट आगलागी हुन खोजे अटोमेटिक भल्भ बन्द हुने प्रविधि ट्यांकीमा जडित हुन्छ । यस्तै पम्पमा अर्थिङ गरिनु पनि अनिवार्य भएको उनको भनाइ छ ।

सामान्य दमकलले निभ्दैन पेट्रोलको आगो

भैरहवामा सोमबार राती आगो लागेलगत्तै पानी बोकेका कयौँ दमकलहरु पुगे । तर तिनीहरुले पानी छ्याप्दा आगो निभ्नुको साटो झनै दन्कियो । खासमा पेट्रोलमा लागेको आगो पानीले निभ्नेभन्दा झनै बल्नलाई सहायता गर्छ ।

यसका दुईवटा रसायनिक कारण छन् । पहिलो त सामान्य अवस्थामा पनि पेट्रोल बाफ (ग्यास) बनेर उडिरहेको हुन्छ र त्यो निकै प्रज्वलनशिल हुन्छ । दोस्रो, यसमा ९७ प्रतिशतसम्म कार्बन हुने भएकाले यो पानीभन्दा हलुका हुन्छ र पानीभन्दा माथि अक्सिजनसँग बल्न सक्छ ।

यसले गर्दा पेट्रोल बल्दा पानी आफै पाकेर बाफ बनेर थप बल्न पुग्छ । त्यसकालागि कार्बनडाइअक्साइडयुक्त फोम भएको अग्नि नियन्त्रणको उपकरण चाहिन्छ । यसले उच्च घनत्वको पेट्रोलको आगोलाई अक्सिजनबाट अलग गरेर आगो बल्नबाट जोगाउँछ ।

गत वर्षसम्म कार्बनडाइअक्साइड फोमयुक्त दमकल नेपाल आयल निगमसंग एउटा मात्रै थियो । निगमको अमलेखगन्ज डिपो बाहेक अन्यत्र यस्ता दमकल नभएपछि यसै आर्थिक वर्षमा ६ वटा त्यस्ता दमकल किनिएको निगमले जनाएको छ ।

हाल निगमको थानकोट डिपो, त्रिभुवन विमानस्थल हवाइ डिपो, विराटनगर, भैरहवा, पोखरा र नेपालगन्ज प्रादेशिक डिपोमा ६ हजार लिटर क्षमताका एक–एक वटा त्यस्ता दमकल राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । त्यस्ता दमकलमा ५ हजार लिटर पानी र एक हजार लिटर फोम हुन्छ ।

भैरहवामा सोमबार लागेको आगो निभाउन प्रयोग भएको दमकल दुई दिन अगाडि मात्रै डिपो कार्यालयमा भित्रिएको र संयोगवश आगलागी नियन्त्रणमा काम आएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

सबै प्रादेशिक डिपोमा अझै त्यस्ता दमकल नभएको र स्थानीय तह तथा प्रदेश सरकारले किनेको दमकल सामान्य खालको हुँदा थप त्यस्ता दमकलको आवश्यकता देखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment