+

बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

६ कात्तिक, काठमाडौं । साँझ ६ बजेको समय । ह्याम्स अस्पताल, कोठा नम्बर- १४ ।

डा. रक्षा पाण्डे हस्याङफस्याङ गर्दै आफ्नो कार्यकक्षमा आइपुगिन् । नाक-मुख ‘पी-१००’ मास्कले छोपेको छ । हामी सर्जिकल मास्कमा थियौं । उनले आफ्नो मास्क हटाएर नाकमा बसेको दाग देखाउँदै भनिन्, ‘कतिको त घाउ नै भएको छ, तर रातदिन मास्क नलगाई हुँदैन ।’

पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञ पाण्डेले बेलायतको नेशनल हेल्थ स्कीम (एनएचएस)मा साढे दुई वर्ष काम गरिन् । त्यसपछि थप अध्ययन गर्न सिंगापुर गइन्, जहाँ उनले कन्सलटेन्टको रुपमा सात वर्ष काम गरिन् ।

‘सब कुरा राम्रो थियो, तर आफ्नै देशमा काम गर्न मन लागेर दुई वर्ष अघि नेपाल फर्किएँ’, मनिपाल कलेजकी एमबीबीएस पाण्डे भन्छिन्, ‘हाम्सको क्रिटिकियल केयरमा आएको एकवर्षमा कोरोना महामारीसँग जुध्न परेको छ ।’

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा अधिकांश अस्पतालको आईसीयू र भेन्टिलेटर बेडहरु भरिन थालेका छन् । मृत्युसँग लडिरहेका संक्रमितहरुलाई घर फर्काउन डा. रक्षा पाण्डेको टिम जोखिम स्वीकारेर अहोरात्र खटिरहेको छ । ‘२० घण्टापछि आज साढे चार बजे खाना खाएँ’, उनले भनिन्, ‘लञ्च ब्रेकमा निस्कन सक्थेँ । तर, खाने समयमा अर्को दुईजना बिरामी हेर्छु भन्ने लाग्यो ।’

खानाअघि घण्टै तिर्खा सहिन् । कारण, पानी खाएपछि पीपीई खोलेर शौचालय जानपर्ने हुन्छ । यस्तो छ, कोरोनाविरुद्व अग्रमोर्चामा खटेका स्वास्थकर्मीहरुको अवस्था ।

घरमा पनि अस्पतालको ड्युटी

हृयाम्समा बिहान साढे आठ बजेदेखि डा. रक्षा पाण्डेको राउण्ड सुरु हन्छ । ओपीडीको कोभिड क्लिनिकका बिरामी पनि उनको प्रतिक्षामा हुन्छन् । त्यहाँ पुग्दासम्म डेढ-दुई बजिसकेको हुन्छ । साढे पाँच बजेसम्म ओपीडीमा बित्छ ।

हरेक वार्डमा जानुअघि पीपीई लगाउनुपर्छ र निस्किएपछि पीपीई खोल्नुपर्छ । मुस्किलले आधाघण्टा अनलाइनखबरलाई दिएकी उनी आईसीयू वार्डबाट निस्केर पीपीई खोलेर आएकी छन् । अब त्यही जाँदा फेरि पीपीई सेट लगाउनपर्छ ।

एउटा डाक्टरका रुपमा आफू कहाँ आउने हरेक विरामीलाई बचाउन मन लाग्ने उनी बताउँछिन् । तर, आईसीयू तथा भेन्टिलेटर बेड नभएर कोरानो संक्रमित बिरामीलाई हरेक दिनजसो फर्काउनु परिरहेको पीडा पनि छ । ‘त्यो विरामी कहाँ गयो होला ? उपचार पायो कि पाएन होला भनेर मन पिरोलिन्छ’, डा. पाण्डेको स्वर एकाएक उदाश बन्छ ।

घर फर्किएपछि उनी एक किसिमले ड्युटी मै हुन्छिन् । राति १-२ बजे पनि फोन बजिरहन्छ । कहिले अस्पताल त कहिले बाहिरबाट फोन आइरहेको हुन्छ । अस्पतालको फोनमा फलाना बेडको बिरामीको अवस्था खराब भयो, के गर्ने भन्ने प्रश्न हुन्छ । बाहिरका अधिकांश फोनको एउटै आग्रह हुन्छ- आईसीयू बेड चाहियो, प्लिज !’

प्लाज्मा हत्तपत्त पाइँदैन, आईसीयूमा समेत बिरामी छानेर उपचार गर्नुपरेको छ । योभन्दा बढी सकसको कल्पना गर्न सकिँदैन- डा. पाण्डे

हरेक दिनयस्तै समस्या सामना गरिरहेकी डा. पाण्डेले आफ्नो निष्कर्ष सुनाइन्, ‘सरकारको तयारी पुगेन, पुग्दै पुगेन । कम्तिमा आइसोलेसन त बनाउन सक्थ्यो नि !’

हुन पनि सरकार आफ्नो कार्यकाललाई बिर्सनलायक बनाउन लागिपरेको देखिन्छ । उसले भनिसकेको छ, निश्चित समूह बाहेक अरुले अब आफ्नो उपचार आफैं गर । होम आइसोलेसनमा बस, मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर ।’

सरकारको कुरा नगरी डा. पाण्डेलाई सोध्यौं, ‘यो अवस्था स्वास्थ्यकर्मीहरुको मन कतिको अत्तालिएको छ ?’

‘कहिलेकाँही निरन्तर १०-१२ घण्टा संक्रमितसँग बिताउन पर्दा पीपीई राम्रोसँग लगाइएन कि ? कतै लिकेज भयो कि ? भनेर मनमा त्रास बढिरहेको हुन्छ । घाँटी खसखस भयो भने पनि कोरोना नै सम्झिइन्छ’, डा. पाण्डेले भनिन्, ‘संक्रमित र उनको परिवारको अनुहार सम्झेर आफूमा भएको भय हटाउन कर लाग्छ ।’

उनले अहिलेसम्म कुनै संक्रमित देखेकी छैनन्, जसको अनुहार भयभित नभएको होस् । उनी भन्छिन्, ‘तर जब भेन्टिलेटरमा पुगेका संक्रमित निको भएर घर फर्किन लाग्छ, तब मनका सारा भय र दिक्दारीलाई खुशी र सन्तोषले हराइदिन्छ ।’

गरेको तयारी अपुग भयो

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले युरोपमा उत्पात मच्चाउन थाल्दा डा. पाण्डे, सुवास आचार्य, अनुप सुवेदीलगायतका जनस्वास्थ्य विज्ञहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई घचघच्याइरहेका थिए, नेपालमा त्यसको सम्भावित खतरा र गर्नुपर्ने तयारीहरुबारे प्रस्तुतीकरण दिइरहेका थिए ।

‘हामीले आफ्नो अस्पतालमा पनि इन्फेक्सन कन्ट्रोलका तयारी गर्‍यौं, सरकारले लकडाउन गर्नासाथ कोभिड वार्ड भनेर फ्ल्याट छुट्यायौं । कोभिड र ननकोभिडका लागि छुट्टाछुट्टै आईसीयू तयार पार्‍यौं’, उनले भनिन् ।

तर, हाम्समा लामो समय कोभिडका बिरामी आएनन् । बैशाखमा काठमाडौं बाहिरबाट हेलिकप्टरबाट एकजना बिरामी ल्याइयो । उनमा कोरोना संक्रमणको आशंका गरिएको त थिएन, तर पोजेटिभ देखियो ।

उनलाई भेन्टिलेटरमै राखेर उपचार गर्ने जिम्मेवारी डा. रक्षा पाण्डेको काँधमा आयो । ‘त्यतिबेला एक किसिमको डर थियो । डाक्टर, नर्स सबैले सतर्क भएर काम गर्‍यौं’, उनले भनिन्, ‘उहाँलाई निको बनाएरै पठायौं । यसले हामीलाई हौसला दियाो । त्यसपछि त आईसीयू र भेन्टिलेटरमा उपचार गर्नपर्ने बिरामी बढ्दै गए ।’

ह्याम्समा कोरोना संक्रमितको उपचारका लागि १० आईसीयू र १२ भेन्टिलेटर बेड छुट्याइएको छ । आईसीयूमा डा. पाण्डेसहित पाँच जनाको कन्सलटेन्ट टिम छ ।

अति नै निराशा र दुःखका क्षण

‘कोभिड-१९ यस्तो रोग हो, जसमा ठमठम् हिँडेर आएका बिरामीलाई पनि दुईघण्टामै अक्सिजन, पाँच घण्टामै आईसीयू र सात-आठ घण्टामा भेन्टिलेटर सपोर्ट आवश्यक पर्न सक्छ’, डा. पाण्डे भन्छिन्, ‘पछिल्लो महिनाहरुमा धेरैलाई निको पार्न सकेको खुशी र थोरैलाई बिदाइ गर्नपरेका पीडा छ ।’

एकजना संक्रमितलाई उपचार गरेको १८ औँ दिनमा भेन्टिलेटरमा राख्नु परेको थियो । लामो समय भेन्टिलेटरमा राखेका उनको घाँटीमा प्वाल पारेर उपचार गर्नुपरेको थियो । ‘३० औं दिनमा उहाँलाई डिस्चार्ज गर्न हामी सफल भयौं’, डा. रक्षा पाण्डेको स्वर पुलकित हुन्छ, ‘उहाँ आफैं हिँडेर घर पर्किनुभयो ।’

तर, दुई महिनाअघि एकजना ३० वर्षीय संक्रमितलाई भने डा. रक्षाको टिमले बचाउन सकेन । हेलिकप्टरबाट हृयाम्स ल्याइएको उनलाई १२ घण्टामै आईसीयूमा राख्नु परेको थियो । ‘उमेरदार मानिसलाई कोरोनाले यती छिटो गलाउँछजस्तो लागेको थिएन’ भन्छिन्, ‘अस्पताल ल्याउनै ढिलो भएको थियो ।’

कोभिड कालमा डा. पाण्डेको टिमले आफैं हिँडेर अस्पताल आएका र नर्मल एक्सरे भएको बिरामीलाई पाँच दिनमै भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको छ । हिँडेरै आएका बिरामीलाई भेन्टिलेटरमा राखेर डायलासिस गराउनु परेको छ, रक्तचाप कम भएर सिटिस्क्यान गर्न लैजानसमेत गाह्रो भएका केसहरु पनि छन् ।

योबीचमा एउटै परिवारका छ/सातजना संक्रमितलाई एक साथ उपचार गर्न गर्नुपर्‍यो । एउटै परिवरको दुई-तीनजनाको मृत्यु भयो । एउटै परिवारको तीनजना भेन्टिलेटरमा गएर दुईजना नफर्केको अवस्था पनि उनको टिमले सामना गर्‍यो । डा. पाण्डे भन्छिन्, ‘यो हाम्रा लागि निराशा र दुःखका क्षण हुन् ।’

उनी कोभिडअघिको समय खुब मिस गर्छिन् ।

‘उपचारका क्रममा डाक्टर र बिरामीले एकअर्काको मुख हेर्न पाए हुन्थ्यो भन्ने हुन्छ । किनकि, मेडिसिन भनेको आत्मीयता पनि हो’ उनी भन्छिन्, ‘अहिले पीपीई लगाएर उपचार गर्नपर्छ, बिरामीले डाक्टरको धमिलो आँखा बाहेक केही देख्दैनन् ।’

कहिलेकाहीँ नांगो हातले स्पर्ष गर्दै बिरामीको उपचार गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । तर, त्यसरी उपचार गर्न पाइने समय कहिले आउँछ, कसैलाई थाहा छैन ।

सरकार ! केही त गर

कोरोनाले डा. पाण्डेलगायत हरेक फ्रन्टलाइनरलाई घरदेखि अस्पतालसम्म सीमित पारिदिएको छ ।

घरिवारको सदस्यसँग घुलमिल हुन नपाएको महिनौं भइसहृयो । तर संक्रमित संख्यासँगै सिकिस्त बिरामी बढेका छन् । ‘सरकारले औषधि आपूर्ति सहज बनाएको छैन, प्लाज्मा हत्तपत्त पाइँदैन’, पाण्डे भन्छिन्, ‘आईसीयूमा समेत बिरामी छानेर उपचार गर्नुपरेको छ । योभन्दा बढी सकसको कल्पना गर्न सकिँदैन ।’

दसैंपछि अहिलेभन्दा डरलाग्दो अवस्था आउन सक्ने डा. पाण्डेको विश्लेषण छ ।

यस्तोबेला एकाध स्वास्थ्कर्मी वा अस्पताल लागेर यो चुनौती पार नलाग्ने भएकाले सरकार नै लाग्नुपर्ने उनी बताउँछिन् । ‘हामीलाई त हरेक बिरामी बचाउन मन लाग्छ । तर, हामी नै संसार थाम्छौं भन्ने हुँदैन’, उनी भन्छिन्, ‘बुढोलाई बचाउने कि तन्नेरीलाई भनेर छान्नुपर्ने पीडादायक स्थितिको हटाउन सरकार नै लाग्नपर्छ । राज्य यसरी भगवान भसोसामा बस्न मिल्दैन ।’

तस्वीर र भिडियो : चन्द्रबहादुर आले र आर्यन धिमाल/अनलाइनखबर

कोभिड-१९ योद्धा १ :

कोभिड-१९ योद्धा २ :

कोभिड-१९ योद्धा ३ :

कोभिड-१९ योद्धा डा. रक्षा पाण्डे
डा. रक्षा पाण्डे
लेखक
डा. रक्षा पाण्डे
फोक्सोरोग तथा क्रिटिकल केयर विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३९३२ अध्ययन : एमबीबीएस, एमआरसीपी (बेलायत), एफएएमएस (फेलो अफ एकेडेमी अफ मेडिसिन सिंगापुर), पल्मोनरी र क्रिटिकल केयर पल्मोनरी र क्रिटिकल केयर मेडिसिन हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

आँखामा देखिने ‘जान्थेलाज्मा’ कति खतरनाक ?

आँखामा देखिने ‘जान्थेलाज्मा’ कति खतरनाक ?

यसकारण हुन्छ गर्भावस्थामा बान्ता

यसकारण हुन्छ गर्भावस्थामा बान्ता

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती