Comments Add Comment

प्रधानमन्त्रीलाई साझा पार्टीको प्रश्न : रअका प्रमुख भेट्दा मर्यादाको ख्याल भएन ?

६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकामा साझा पार्टीले आपत्ति जनाएको छ ।

साझा पार्टीले रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? भनी प्रश्न गरेको छ ।

‘यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ’ प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमा भनेका छन् ।

रअका प्रमुखसँग भएको भेटलाई साझा पार्टीले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भनेको छ ।

‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्ने स्पष्ट हुने साझा  पार्टीले बताएको छ । यस्तो गतिविधिले अन्य देशहरूसँगको नेपालको कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीकै जस्तो आचरण दशकौँदेखि नेपालका शीर्ष नेताहरूले देखाइरहेको भन्दै साझा पार्टीले यस्तो आचरण रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment