Comments Add Comment
कोभिड–१९ योद्धा ६ :

कोरोना कहरमा चिनिएका डाक्टर

८ कात्तिक, वीरगञ्ज । फेमिली फिजिसियन तथा आकस्मिक रोग विशेषज्ञ उदयनारायण सिंह (३६) अहिले नारायणी अस्पतालमा इमर्जेन्सी विभाग प्रमुख छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एमडी उनले त्यहाँँ उपप्राध्यापकको जागिर पनि पाएका थिए । तर, मन आफ्नै वीरगञ्जमा तानियो ।

अनि राजिनामा दिएर नारायणी अस्पतालमा अस्थायी मेडिकल अधिकृत बन्न आए । गृह नगरको अस्पतालमा कामसँगै लोकसेवा आयोगको परीक्षा दिने तयारी अगाडि बढाए । स्थायी भएको पनि अब त चार वर्ष पुग्न लाग्यो, तर गृहनगरमा उनले चर्चा भने कोरोना महामारीकालमा पाए ।

चैत २०७६ मा भारतको दिल्लीबाट फर्किएका एक विद्यार्थी कोरोना संक्रमणको आशंकामा नारायणी अस्पताल आउँदा आकस्मिक विभागमा खैलाबैला मच्चिएको थियो । उनलाई हेर्ने डा. सिंह नै थिए । आकस्मिक विभाग प्रमुख सिंह भन्छन्, ‘त्यतिखेर मास्क पनि थिएन, दुरी कायम गरेर ती विद्यार्थी भाइसँग कुरा गरेँ ।’

त्यसपछि त नारायणीको आइसोलेसन वार्डमा उनको ड्युटी दिन प्रतिदिन बढ्न थाल्यो । कोभिड विशेष अस्पतालमा रुपान्तरण हुनुअघि नारायणीको आइसोलेसन वार्डमा १६ जना शंकास्पद संक्रमितलाई उपचार गरिएको थियो ।

२९ चैतमा कोरोना संक्रमण पुष्टि भएका चार जना भारतीय जमाती नारायणी अस्पतालमा भर्ना भए । त्यसपछि संक्रमितको संख्या मात्र बढेन, स्वास्थ्यकर्मी नआएको, आवश्यक जाँच पड्ताल नगरेको, सरसफाइ नगरिदिएको गुनासो चुलिन थाल्यो ।

स्वास्थ्यकर्मीहरुले भने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट समेत पाउन गह्रो थियो ।

संकटको त्यो घडीमा डा. सिंह भने शंकास्पद र संक्रमितसंग प्रत्यक्ष कुराकानी गरेका हुन्थे, पहिला मास्क र पछि पीपीई बिना । त्यो जोखिमपूर्ण काम थियो ।

कोरोनाको भुँग्रोमा हाम फाल्दा

२०७७ वैशाख पहिलोसाता वीरगञ्ज महानगरपालिका र गण्डक अस्पतालबीच अस्थायी कोरोना अस्पताल बनाउने सम्झौता भयो ।

तर नारायणीलाई कोभिड अस्पताल बनाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकलाई कोभिड अस्पतालका रुपमा अनुमति दिएन । नारायणीले नेतृत्व र महानगरले आर्थिक दायित्व बहन गर्ने गरी ८ जेठमा गण्डकमा कोरोना संक्रमितको उपचार सुरु भयो ।

अस्थायी कोभिड अस्पताल, गण्डकमा संयोजकको जिम्मेवारी डा. सिंहले नै पाए । नारायणी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय आईसीयूमा काम गरेका इमर्जेन्सी फिजिसियन हुनुका साथै आफैं खट्न सक्ने र अरुलाई पनि समेटेर काम लगाउन सक्ने क्षमता भएकाले सिंहलाई त्यो जिम्मेवारी दिइएको बताउँछन् ।

त्यो जिम्मेवारी दिँदा डा. उपाध्यायले भनेका पनि थिए, ‘आगोमा हाम फाल्न जान लागेको कुरा पनि नबिर्सनु है ।’

नारायणीका उनीभन्दा सिनियर डाक्टरले विविध कारणले नेतृत्व लिन सकेनन्, चाहेनन् । डा. सिंह भने ऐय्या आत्था नगरी चार महिना ‘आगोको भुङ्ग्रो’मा नै बसे ।

लक्षणसहितका संक्रमितको उपचार र व्यवस्थापनमा डा. सिंहले महत्वपूर्ण खेलेको डा. उपाध्याय बताउँछन् । ‘विपदको बेला एकेडेमिक डिग्रीले मात्र केही नहुने रहेछ । हिम्मत र आत्तिएका मानिसहरुसँग समन्वय गर्ने क्षमता चाहिँदो रहेछ’, तत्कालीन मेसु उपाध्याय भन्छन्, ‘संक्रमितलाई काउन्सिलिङ र स्टाफ लगायतको व्यवस्थापनमा डा. उदय खट्दा वीरगन्जमा ढुक्क भयो ।’

हुन पनि डा. सिंहले नारायणी अस्पतालका अस्थायी, स्थायी, करार तथा अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी सबैको साथ लिन सके । महानगरपालिका लगायत अन्य सरोकारवाला निकायसँग समन्वय गरे ।

वीरगञ्जका मेयर विजय कुमार सरावगी नयाँ महामारी भएकोले कतिपयले चिकित्सक डराएर काम गर्न नमानेको परिस्थितिमा डा. सिंहले लक्षण सहितका दीर्घरोगी र वृद्धवृद्धा कोरोना संक्रमितलाई सम्हाल्ने साहस देखाएको बताउँछन् । उनी भन्छन्, ‘उहाँले सीमित स्रोत साधनको व्यवस्थापन गर्दै सबैतिर समन्वय गरेर गतिलो काम गर्नुभयो ।’

कोरोना कालमा चिकित्सकीय दायित्व बाहेकका काम पनि गरेर प्रशंसा कमाए । १५ साउनमा एक गर्भवतीलाई ब्यथा लागेर नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आउँदासम्म ब्यथाले च्यापिसकेकाले उनलाई उनलाई त्यसै दिन राति कोरोना अस्पताल ल्याउनुपर्ने भयो । तर कोरोना विशेष अस्पतालमा प्रसुति सुविधा थिएन ।

डा. सिंहले मध्यरातमा एक–एक स्टाफलाई फोन गर्दै आफैं गाडी लिएर बिरामी लिन गए । ‘प्रसुतिमा काम गरेको एक जना नर्सिङ स्टाफ आए’, डा. सिंह सम्झन्छन्, ‘प्रसुतिको लागि अप्रेसन थिएटरसमेत नभएको ठाउँमा कोसिस गरियो । भाग्यवश, बिहान ४ बजे नर्मल डेलिभरी भयो । आमा र बच्चा दुवैको अवस्था राम्रो पाउँदा ठुलो विजय हासिल गरेको सन्तोष भयो ।’

त्योबेला पर्सामा हरेक दिन कोरोना संक्रमणबाट कोही न कोहीको मृत्यु हुने गरेको थियो । त्यस्तो बेला एउटा डेलिभरी सफल हुँदा कोरोना महामारीमा मृत्यु मात्र होइन, जन्म पनि हुन्छ भन्ने देखाउन मद्दत पुगेको डा. सिंह बताउँछन् ।

एम्बुलेन्सले संक्रमित बोक्न नमान्दा धेरै पटक उनी आफैंले क्वारेन्टिनका सहकर्मीहरु लिएर त्यो काम गरे । एउटा गजब के भइदियो भने कोरोना संक्रमितको उपचारमा निरन्तर खटेपनि उनी संक्रमणबाट जोगिए । ‘पाँच महिनामा ४ पटक पीसीआर गराएँ’, चार पटक क्वारेन्टिनमा बसेका डा. सिंह भन्छन्, ‘जब सहकर्मी डा. दिलिप चौरसियालाई साउृन दोस्रो साता कोरोना संक्रमण भएर आईसीयूमा भर्ना गर्नुपर्‍यो । त्यसबेला भने मलाई निकै डर लागेको थियो ।’

उनैले गाडीमा लगेर स्वाब संकलन गराएका चौरसिया परिवारका सबैको रिपोर्ट पोजेटिभ आएको थियो । ‘त्योबेला भित्रैदेखि डर लागेर च्यवनप्रास, कागती पानी र केही औषधी पनि खाँए’, उनी भन्छन्, ‘एकसाता केही नभएपछि डर हरायो ।’

वीरगञ्जमा उनकै नेतृत्वमा रेम्डेसिभिर इन्जेक्सन र प्लाज्माथेरापी विधिबाट संक्रमितको उपचार गरियो । भदौ १४ गते वीरगञ्जमा पहिलो पटक सर्लाहीको संक्रमितलाई प्लाज्मा थेरापी गरिएको थियो । रेम्डेसिभिर पनि उनैलाई चलाएको थियो ।

डा. सिंह भन्छन्, ‘उनको स्वास्थ्यमा सुधार हुँदै थियो । भदौ २१ गते अवस्था बुझ्न गएको थिएँ, विरामीको अवस्था अचानक बिग्रिएर साथीहरु सीपीआर गर्दै रहेछन् । मसँग माक्सबाहेक अरु केही सुरक्षा सामग्री थिएन । तर आफूले उपचार गरिरहेको बिरामी छटपटिरहेको देखेपछि त्यसै फर्कन मन मानेन । ट्युब लगाएँ, भेन्टिलेटरमा हालेँ । तर बचाउन सकिएन । त्यो दिन धेरै दुःख लाग्यो । ’

कोभिड उपचारमा काम गरेका हुनाले डा. सिंह पाँच महिनासम्म आमाबुवा र परिवारको नजिक परेनन् । छोराहरुसँग भेट गर्न नपाउँदा धेरै न्यास्रो लागेको उनी सुनाउँछन् ।

कहिले बिरामीको अवस्था गम्भीर बन्यो भनेर, कहिले रौतहटका बिरामी सार्नुपर्‍यो, कहिले कसैको पीसीआर त कसैको कन्ट्याक्ट ट्रेसिङ भएन, कहिले होम आइसोलेसनमा औषधी के खाने भन्ने अन्यौल । उनले दैनिक ५०० पटक जति फोन उठाए ।

महामारीमा खटेर के पाउनुभयो त ?

यो प्रश्न सुनेर उनी हल्का मुस्कुराए, र भने ‘महामारी कस्तो हुन्छ भन्ने अनुभव हाँसिल भयो । युद्धमा सिपाही र कमाण्डर दुवैले खेल्नुपर्ने भूमिका निर्वाह गरियो । यस्ता अनुभवसँगै हजारौंको माया, वयोवृद्ध आमाबुवाको आशिषले हृदय भर्न पाइयो ।’

जब वीगरञ्जमा समुदायस्तरमा संक्रमण फैलियो, संक्रमितले उपचार नपाएर पनि मृत्युवरण गर्नुपर्ने अवस्था आयो । साउन २३ गते राति वीरगञ्ज महानगरपालिका- २ छपकैयाकी २० वर्षकी महिलाको अस्पतालको चक्कर काट्दा काट्दै मृत्यु भयो ।

मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भयो । अस्पतालले उपचार नगरेकै कारण उनको मृत्यु भएको भन्दै आफन्त र छपकैया बासीले नारायणी अस्पताल अगाडि प्रदर्शन गरे ।

त्यही आक्रोशित भिडले अस्पताल परिसरमा रहेको डा. सिंहको गाडी तोडफोड गरिदियो । ‘मेरो गाडी हो भनेर तोडफोड गरिएको थिएन, आवेशमा आक्रमण भयो’, उनी भन्छन्, ‘समाजले त्यसको प्रतिक्रिया दियो, सबैतिरबाट निन्दा–भत्र्सना भयो । मैले आक्रामणको पीडा भुलेँ ।’

काम गर्ने क्रममा माया गर्नेहरुसँगै आलोचक पनि बढ्छ भनिन्छ । कोरोना महामारीको समयमा डा. सिंहको पनि आलोचकहरु देखिए । ‘मानसिक यातना दिने दुस्प्रयासहरु भए’, उनी भन्छन्, ‘तर त्यसबाट बिचलित भएर बस्ने अवस्था थिएन ।’

‘युद्धमा जस्तै महामारीमा पनि हरेक नागरिकको दायित्व सिपाही सरहकै हुनेरहेछ । खास पेशाकर्मीहरु हतियार लिएर फ्रन्टमा लड्छन् । नागरिकहरुले अरु तरिकाले लड्नपर्छ’, डा. सिंह भन्छन् ।

पछुतो लागेका काम कुरा

पर्सामा साउनमा कोरोना संक्रमणको दोस्रो लहर आयो । त्यसको पूर्व अनुमान भएपनि त्यसअनुसार तयारी खासै थिएन । कोरोना अस्पतालमा शंकास्पद संक्रमित आउने इमर्जेन्सी पनि आईसीयू जत्तिकै हुनुपर्छ भन्ने ध्यान नगएको उनी स्वीकार्छन् ।

एउटै अस्पतालबाट चारजना शंकास्पद संक्रमित आउँदा आकस्मिक कक्षमा अक्सिजन सप्लाई भएपनि सिक्याप मेसिन, भेन्टिलेटर नभएको अवस्था सामना गर्न परेको उनले बताए ।

‘आईसीयुमाभन्दा बढी संक्रमितको मृत्यु आकस्मिक कक्षमा नै भयो’, उनले भने, ‘निकै समस्या भइसकेपछि अस्पताल आएका विरामीलाई २४ घण्टा पनि बचाउन सकिएन । त्यसले निका पीडा दियो ।’

परिवारका सदस्यले हेर्न, शव लैजान, अन्तिम संस्कार गर्न नपाउने अवस्था निकै पीडादायी थिए । ‘एक पटक अनुहार त देखाइदिनुस्, गंगाजल खुवाउन दिनुस् भन्थे । कतिपयलाई फोनबाट अनुहार देखाइदिन्थ्यौं । टाढैबाट गंगाजल खुवाउने, धुपबत्ती गर्न पनि दियौं’, उनी भन्छन्, ‘कतिपय मृतक परिवारका कोही आउँदैनथे ।’

राजीनामा दिएको दिन

एकातिर कोशिस गर्दागर्दैै, कुरा गर्दागर्दै संक्रमितको मृत्यु भइरहेको थियो । अर्कोतिर एनेस्थेसिया, क्रिटिकल केयर विशेषज्ञ लगायतका दक्ष जनशक्तिको अभाव थियो । ‘संक्रमितलाई आईसीयूमै गएर हेर्ने थप जनशक्ति माग्थे, तर पाउँदैनथेँ । अपजस भने मेरै टाउकोमा आउँथ्यो’, उनी भन्छन्, ‘अति भएपछि मेसु डा. उपाध्यायलाई राजीनामा बुझाएँ । उहाँले सम्झाएपछि फिर्ता लिएँ ।’

अस्पताल वृत्तमा बेलाबेला जुनियरलाई नेतृत्व दिएको भनेर खासखुस पनि चलिरहन्थ्यो । त्यसप्रति संकेत गर्दै डा. सिंहले सिनियर कोही तयार हुनुहुन्छ भने छोड्न तयार छु भनेका पनि थिए । तर खासखुस मात्र चल्थ्यो, कोही अगाडि सरेनन् ।

वीरगञ्जबाट काठमाडौंले सिकोस्

डा. उदय सिंहलाई लाग्छ, कोभिड महामारीमा वीरगञ्जले हासिल गरेको अनुभवबाट अन्यत्र पनि निकै उपयोगी हुनेछ । ‘वीरगञ्जमा संक्रमण बढ्न थालेपछि सक्रमणको चेन अस्पताल र समुदाय देखियो, तुरुन्त निषेधाज्ञा लगाइएन भने व्यापक हुन्छ भन्यौं । निषेधाज्ञा लाग्यो पनि’, उनी भन्छन्, ‘त्यसपछि समुदायमा परीक्षणसँगै आइसोलेसन संख्या बढायौं, होम आइसोलेसनमा निगरानी थाल्यौं । त्यसले फाइदा गर्‍यो । अन्यथा संक्रमण र मृत्यु संख्या दोब्बर हुन्थ्यो ।’

संक्रमितहरुलाई त्यतिकै समाजमा छोड्दा संक्रमण थप फैलने हुनाले काठमाडौं उपत्यकामा कम्युनिटी आइसोलेसन बनाउनुपर्ने डा. सिंहको सुझाव छ । त्यसका लागि होटल, धर्मशाला आदि प्रयोग गर्न सकिने उनी बताउँछन् ।

उपचारमा वीरगञ्जमा देखिएका कमजोरी काठमाडौंमा नदोहोरियोस् भनि सचेत हुनपर्ने उनी बताउँछन् । ‘कोभिड उपचारमा दक्ष जनशक्ति चाहिन्छ, क्रिटिकल केयरमा विशेषज्ञ अभाव झेल्न नपरोस्, सिप्याप मेसिन पर्याप्त हुनुपर्छ’, उनी भन्छन्, ‘शंकास्पद संक्रमितहरु आउने इमर्जेन्सीलाई आईसीयू सरह तयार राख्नुपर्छ ।’

उनको अनुभव भन्छ– महामारीविरुद्व खास पेशाकर्मीे मात्र लागेर नहुने रहेछ । यसमा हरेक नागरिकको दायित्व हुन्छ । तब मात्र महामारीलाई पराजित गर्न सकिन्छ ।

‘युद्धमा जस्तै महामारीमा पनि हरेक नागरिकको दायित्व सिपाही सरहकै हुनेरहेछ । खास पेशाकर्मीहरु हतियार लिएर फ्रन्टमा लड्छन् । नागरिकहरुले अरु तरिकाले लड्नपर्छ’, डा. सिंह भन्छन्, ‘सबैले सजकता–सतर्कता अपनाउँदै रोकथामका उपाय अबलम्वन गरे कोरोनालाई चाँडो जितिन्छ ।’

कोभिड-१९ योद्धा १ : यो पनि पढ्नुहोस आपतकालका जब्बर डाक्टर अनुप

कोभिड-१९ योद्धा २ : यो पनि पढ्नुहोस संक्रमितको साथी : भक्तपुरको ‘आरएनए- १६’

कोभिड-१९ योद्धा ३ : यो पनि पढ्नुहोस एम्बुलेन्स चालक समसुल मियाँ, जसले सिंगो पर्सा थामेका छन्

कोभिड-१९ योद्धा ४ : यो पनि पढ्नुहोस बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

कोभिड-१९ योद्धा ५ : यो पनि पढ्नुहोस ‘कोरोनाले मलाई जितिसकेको थियो…’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment