+
+
Shares

दसैंको मामिलामा फरक छ मनाङ

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७७ कात्तिक ९ गते २१:२८
फोटो : www.laidbacktrip.com

९ कात्तिक, काठमाडौं । पूर्वमा ताप्लेजुङको लेलेप र ओलाङचुङ्गोलादेखि कर्णालीको हुम्लाको लिमीसम्मको उच्च हिमाली भूभागमा बसोबास गर्ने मंगोलियन समूहमा प्रायः जातजातिहरूले दसैं खासै मनाउँदैनन् । तर, यस्तै हिमाली भूगोलमा बस्ने मनाङका गुरुङ लगायतका जातिले धुमधामका साथ दसैं मनाउने गर्छन्, किन होला ?

धेरै बली दिने अष्टमी र नवमीको दिन घरमाथिको डाँडामा गएर शान्तिको कामना गर्न बत्ती बाल्ने मुस्ताङका बौद्धदेखि तिब्बती सीमा क्षेत्रमा बढी बसोबास गर्ने बोन धर्म मान्ने समुदायको बीचमा अरू पर्वमा समानता भए पनि, दसैंको सवालमा भिन्न छ मुस्ताङ । जसले बोन धर्मद्वारा निर्देशित संस्कारलाई कायम राखी हिन्दुहरूले मनाउने दसैंलाई समेत मनाउन भ्याएको छ ।

बोन धर्मावलम्बीहरू प्रकृतिलाई पूजा गर्ने, देवी, देवता, भूत प्रेत, आत्माजस्ता अलौकिक वस्तुमा विश्वास गर्ने गर्छन् । ब्रह्माण्डमा जेजति वस्तुहरूको अस्तित्व छन्, ती सबैमा आत्मा हुन्छ भन्ने विश्वास यो धर्ममा गरिन्छ । खोला, नदी, तलाउ, रुख आदिलाई देवी र ठूलाठूला पहाड र चट्टानलाई देवताको रूपमा मान्ने यो धर्मको आफ्नो मौलिक चाडपर्वहरू छन् । तर मनाङका कतिपय बोन धर्मावलम्बीहरूले भने आफ्नो संस्कृतिसँगै दसैंलाई समेत धुमधामका साथ मनाउनुको कारण के होला ? भन्ने विषय महत्वपूर्ण छ ।

मनाङमा दसैं मनाउने धेरैलाई यो आफ्नो संस्कृति होइन भन्ने थाहा भए पनि किन र कहिलेदेखि दसैं मनाउन थालियो भन्नेबारे जानकारी छैन । तर पूर्खाले मान्दै आएको संस्कृति भएकोले यसलाई चट्टै छाड्न पनि नसकिएको स्थानीय युवाहरू बताउँछन् ।

मनाङमा सांस्कृतीकरणको प्रभाव कहिलेदेखि पर्न थाल्यो त ? संस्कृतिविद् एवं नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ नेपाल एकीकरणअघि नै मनाङेहरूमा दसैंको प्रभाव परेको हुन सक्ने बताउँछन् ।

‘तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघिसम्म लमजुङको करद राज्यका रूपमा रहेको मनाङमा दसैं पर्वको समयमा ‘राजा मान्ने’ भनेर भेडा च्याङ्ग्रा काटेर खाने चलन थियो ।’ डा. गुरुङ भन्छन् ‘त्यही बेलादेखि राजाले मानेको पर्व पनि मान्ने भनेर दसैं मनाउन थालेको हुन सक्छ ।’

स्थानीयका अनुसार अहिले पनि बुढापाकाले दसैंलाई ‘सरकार मान्ने’ भन्ने चलन रहेको चामे गाउँपालिका वडा नं १ का वडाध्यक्ष आशीष गुरुङ बताउँछन् ।

वडाध्यक्ष गुरुङ आफ्नो गाउँमा अहिले पनि टीकाटालोको चलन रहेको बताउँछन् । ‘युवापुस्तामा भएको जागरणले हिजोआज मान्छेलाई दसैं ‘हाम्रो संस्कृति होइन’ भन्ने चेतनाको विकास भएको छ, त्यसैले पहिले जस्तो धुमधामका साथ मनाउने चलन त घट्दै गएको छ ।’ गुरुङले अनलाइनखबरसँग भने ‘तर पुस्तौंदेखि चल्दै आएको यो संस्कृतिलाई तत्कालै रोक्न पनि उचित नमानेर अहिले हामी पनि दसैं मनाउँछौं । आफूभन्दा ठूलाबाट आशीर्वाद लिने पर्व भएकोले पनि हामीले निरन्तरता दिएका छौं ।’ यति हुँदाहुँदै पनि हामीले आफ्नो रैथाने धर्म बोनको संस्कारलाई भने अलिकति पनि विचलित हुन नदिएको उनी बताएँछन् ।

पहिले–पहिले दसैंलाई राज्यले नै मूल पर्वको रूपमा मनाउने गथ्र्यो । अद्यापि कतिपय ठाउँमा सरकारले नै देवालय एवं दूर्गा मन्दिरमा बलीको व्यवस्था गर्ने गरेको छ । पहिलेपहिले त सरकारले नै जनताको घरमा दसैंको जोहो गराइदिने गरेकोले त्यसैको प्रभाव मनाङसम्म पनि परेको हुन सक्ने डा. गुरुङको मत छ ।

सरकारको तर्फबाट दसैं मनाउने चलन

डा.जगमान गुरुङ उबेलाको दसैं मनाउने व्यवस्था सम्झँदै भन्छन् ‘त्यतिबेला दसैं मनाउने चलन पनि आफ्नैखालको थियो । कसैले फजुल खर्च गर्न पाउँदैन’थ्यो भने कसैले आर्थिक अभावमा दसैं मनाउन नसक्ने अवस्था पनि थिएन ।’

जतिबेला, गोश्वारा, अदालत, प्रशासन जस्ता सरकारी संरचनाको विकास भएको थिएन । त्यतिबेला गाउँघरको सबै शासन तालुकदार, गढीगौडाका द्वारे, कोटका अमरा, अमरामध्ये पनि नीर अमरा भन्ने मुख्य व्यक्ति हुन्थे । यही पदका मान्छेहरूले ग्रामीण शासन चलाउने गर्थे । राज्यको माथिल्लो निकायले ‘चेन अफ कमाण्ड’को आधारमा कुत लिनको लागि त्यहाँ मुखिया वा तालुकदारहरूको व्यवस्था गरिएको हुन्थ्यो ।

मुस्ताङ पनि तत्कालीन लमजुङ राज्यको करद राज्य अन्तर्गत् पर्दथ्यो । लमजुङको प्रत्यक्ष शासन चल्ने भएकोले पनि मनाङमा त्यतिबेलादेखि नै दसैंको चलन बस्यो भन्न सक्ने आधार देखिन्छ ।

डा. गुरुङ सम्झन्छन् ‘दसैं आएपछि गाउँका मुखियाको घरमा बलेख्रो काट्ने चलन थियो । अघिपछि काटिएको भैंसीलाई भैंसी भने पनि दसैंमा काट्ने भैैंसीलाई बलेख्रो भन्ने चलन थियो ।’

एउटै गाउँमा पनि दुई जना मुखिया हुन्थे । उनीहरूले आ–आफ्नो क्षेत्र तोकेका हुन्थे, त्यसलाई झुत्ता भनिन्थ्यो । एउटा झुत्ताभित्रका मान्छेको लागि कति घर छ त्यसको आधारमा जाति अनुसारको भैंसी वा अरू पशुलाई काट्ने चलन थियो । गुरुङ जातिभित्र पनि खानेहरूको लागि मुखियाको घरमा भैंसी काटिन्थ्यो । नखानेको लागि भेँडाच्याङ्ग्राको व्यवस्था हुन्थ्यो ।

दसैंमा पैसा भएन भनेर मासु खानबाट बञ्चित हुनु पर्दैन’थ्यो । दसैंको दिन काटेर लगेको मासुको पैसा पर्म निमेक गरेर माघे संक्रान्तिको दिन मात्रै तिरे हुन्थ्यो ।

मासुको व्यवस्था भएपछि भात खानको लागि धान उधारो दिने चलन थियो । त्यो पैसा वा पैँचो अर्काे साल तिरे हुन्थ्यो । कसैले धान दिएबापत पर्म तिर्नेुपर्ने चलन पनि थियो । त्यतिबेला जसोतसो दसैं भने सबैको राम्रैसँग चल्ने गर्दथ्यो ।

मुखियाले यसरी व्यवस्था गरेर दसैं मनाउन सकेनन् भनेर कसैले गुनासो गरिदियो भने मुखियाको जागिरै जान सक्ने हुन्थ्यो । त्यसैले पहिलेको त्यो सरकारी चलनका कारण नै मनाङमा समेत दसैंको चलन बसेको हुन सक्ने डा. गुरुङको मत छ ।

डेढ रुपैयाँ महँगो खसी ल्याउँदाको झमेला

अहिलेको समाज फजुल खर्चमा नै दसैंको भव्यता देख्छ । तर त्यतिबेला अलिकति धेरै खर्च गर्नेलाई पनि समाजले नै अघोषित कारबाही गर्ने गथ्र्याे । त्यतिबेला भैंसीको मासु नखाने गुरुङले भेँडा च्यांग्रा खोजेर ल्याउने गर्थे ।

डा. गुरुङको स्मरण गर्छन् ‘भेँडा च्यांग्राको ६ रुपैयाँ पर्ने समयतिरको कुरा हो । यकिन मिति त थाहा भएन । सबै जनाले आफ्नो परिवार अनुसार ६ रुपैयाँको खसी किनेका थिए । त्यही हुलमा एक जनाले भने के भएर हो कुन्नी साढे सात रुपैयाँको खसी ल्याएछन् । अरूले भन्दा धेरै पैसा तिरेर रवाफ देखाएको भनेर उनलाई गाउँलेले नै ¥याख¥याखती पारे । यसरी पहिले सरकारी अड्डाले पनि समान व्यवहार र थोरै खर्चलाई प्रोत्साहन दिने गर्दथ्यो ।

मुस्ताङेलाई दसैं आएको थाहै हुँदैन

नेपालकै पहाडी र तराई भेगमा १५ दिनसम्म धुमधामका साथ दसैं मनाइरहँदा पनि मुस्ताङ लगायतका हिमाली जिल्लामा भने यो पर्व आएको र गएको थाहै हुँदैन ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ का वडा सदस्य टासी छिरिङ गुरुङ मुस्ताङमा दसैं आएको र गएको पत्तै नहुने बताउँछन् । तर मुस्ताङ लगायतका जिल्लाका बौद्धमार्गीहरूले भने दसैंको अष्टमीको दिन आफ्नो घरभन्दा माथि डाँडोमा वा कुनै निश्चित ठाउँमा गएर शान्तिको कामना गर्ने चलन छ । वडा सदस्य गुरुङले देशमा धेरै बली चढाइने दिन शान्तिको कामना गर्दै बत्ती बाल्ने चलन भने रहेको बताए ।

‘यो दसैंमा मात्रै होइन, बुढापाकाले धेरै बली चढाइने दिन समयसमयमा यस्तो बत्ती बालिरहन्छन् ।’ गुरुङले अनलाइनखबरसँग भने यो त मुस्ताङमा मात्रै नभएर अन्य ठाउँका बौद्धमार्गीले पनि मनाउने गर्छन् । तर यसमा दसैंकै दिन भनेर मनाउने कुनै पर्व नरहेको उनी बताउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?