Comments Add Comment

ब्युटिसियन कमला : ६३ वर्षमा पनि उस्तै जोशिली

संघर्षले खारिएकी उद्यमी महिलाको सफलताको कथा

१० कात्तिक, काठमाडौं । ‘कसैले नगरेको काम, त्यसमा पनि ४० वर्षको निरन्तरता । कसरी सम्भव भयो ?’ नेपालकी प्रथम ‘ब्युटिसियन’ कमला श्रेष्ठले सामना गरिहनुपर्ने प्रश्न हो ।

हामी पनि यही प्रश्नको सेरोफेरोमा कमलासँग कुरा गर्न पुग्यौं । ललितपुरको कुपण्डोलस्थित साइम ब्युटी सैलुनमा पुग्दा उनी काममा व्यस्त थिइन् ।

उमेरले ६३ वसन्त पार गरिसकेकी कमला अहिले पनि उस्तै सक्रिय छिन्, जस्तो ४० वर्षअघि थिइन् ।

हामीसँगको करिब दुई घन्टा लामो बसाइमा उनले आफ्नो जीवनका अनेक पत्रहरु उघारिन् । आफ्ना संघर्षका क्षणहरु सुनाउँदा उनका आँखाहरु टिल्पिलाए । अनि सफलताको वर्णन गर्दा उत्साहित बनिन् ।

२०३६ सालमा बैंककबाट फर्किएर नेपालमा ब्युटीपार्लर व्यवसाय शुरु गरेकी हुन् कमलाले । सुरुमा उनले थालेको काममा परिवारको समर्थन थिएन । श्रीमानबाहेक परिवारमा सबैले उनलाई यो काममा निरुत्साहित गरेका थिए । अन्ततः परिवार र पेशामध्ये एक रोज्नुपर्ने भएपछि उनले पेशा रोजिन् । परिवारसँग टाढिइन् ।

कुपण्डोलमा ५ सय मासिक तिर्नेगरी घर भाडामा लिएर उनले ब्यूटीपार्लर सुरु गरेकी थिइन् । अन्ततः यही व्यवसायले उनको आर्थिकस्तर मात्रै माथि उठाएन, इज्जत र प्रतिष्ठा पनि बढाइदियो । कमला अहिले उद्योग व्यवसायमा एउटा चर्चित नाम बन्न पुगेकी छिन् ।

एकदिन तत्कालीन सेना प्रमुख अर्जुन नरसिंह राणाकी श्रीमती उनको पार्लरमा आइन् । मोटो ज्यानकी उनी बस्ने बित्तिकै क्याम्पट भाँच्चियो । क्याम्पट नै भाँचिएर ग्राहक लडेपछि कमलालाई धेरै तनाब भयो । उनले माफी मागिन् । पछि राणाकी श्रीमतीले नै धेरै सहयोग गरेको उनी सुनाउँछिन् ।

कमलाले सीटीईभीटीबाट सम्बन्धन लिएर आफ्नै संस्था दर्ता गरिन् । आफ्नो संस्थाबाट धेरैलाई तालिम दिएर स्वरोजगार बनाइन् । उनले नेपालसँगै अन्य देशहरुमा पनि ब्युटी पार्लर व्यवसायीहरुलाई संगठित गराएकी छिन् ।

कमला ठूला उद्योगी–व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघको लगातार तीनपटक केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

नेपाली पाठ्यपुस्तकमा सौन्दर्य शिक्षालाई समावेश गर्नुपर्ने आवाज उनले निरन्तर उठाइन् । अन्ततः यही शैक्षिक शत्रदेखि सरकारले सौन्दर्य शिक्षलाई पाठ्क्रममा समावेश गर्ने निर्णय गरिसकेको छ ।

सौन्दर्य व्यवसायीका रुपमा मात्रै कमलाको परिचय गराउँदा अधुरो हुन्छ । उनी कराँते खेलमा ‘ब्ल्याक बेल्ट’ पाउने पहिलो नेपाली महिलासमेत हुन् । साथैै नेपालकै पहिलो महिला स्कुटर चालकको रेकर्ड पनि उनको नाममा छ । उनलाई केही महिनाअघि यामाहा कम्पनीले पहिलो स्कुटर चालक भन्दै स्कुटर उपहारसहित सम्मान गरेको छ ।

बैंकक टु काठमाडौं

वि.सं. २०१४ सालमा बुवाआमाकी आठौं सन्तानका रुपमा सुनसरीको धरानमा जन्मिएकी हुन् कमला । उनका सात दाजुहरु थिए । उनले विद्यालय तहको शिक्षा धरानबाट पूरा गरिन् । छात्रामात्रै पढाउने धरानको कालिका स्कूलबाट एसएलसी उत्तीर्ण गरिन् ।

एसएलसीपछि उनको काठमाडौंका नेवार युवासँग वैवाहिक सम्वन्ध गाँसियो । कमलाका श्रीमान् त्यसबेला वन कार्यालयमा अधिकृत थिए ।

उच्च शिक्षाका लागि धरान बहुमुखी क्याम्पस भर्ना भएकी उनी श्रीमानको धनकुटा सरुवा भएपछि उतै गइन् । उनले धनकुटामै उच्च शिक्षा अध्ययन गरिन् । आइएको अन्तिम परीक्षाका बेला जेठो छोरा जन्मिए । स्नातक तहको अन्तिम परीक्षाका बेला कान्छो छोरा जन्मिए । उनले दुई छोराहरु हुर्काउँदै अध्ययन पूरा गरिन् ।

‘विवाहपछि जीवन बर्वाद भयो भनेर धेरै भन्छन्, तर म आफंै उदाहरण छु, मैले विवाह पछि नै प्रगति गरेँ,’ गर्वसाथ सुनाउँछिन् कमला ।

कमला धनकुटामा छँदा तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्या त्यहाँ आएका थिए । कमलाका अनुसार ऐश्वर्या बोटविरुवामा धेरै रुची राख्थिन् । कमलाका श्रीमान् वन अधिकृत भएका कारण बोटविरुवाहरुबारे युवराज–युवराज्ञीलाई बुझाइदिने अवसर उनले पाए । त्यसबेलै वीरेन्द्रले खुसी भएर कमलाका श्रीमानलाई पढ्नका लागि विदेश जाने प्रस्ताव गरे ।

‘युवराजले त्यति भनेपछि त हामीलाई के खोज्छस्… आँखो भनेझंै भयो, मेरा श्रीमानले तुरुन्त जान्छु भन्नुभयो,’ उनले भनिन् । नभन्दै कमलाका श्रीमान् बैंकक गए । पढ्नका लागि गएका उनले यूएनमा काम गर्ने अवसर पनि पाए ।

त्यहाँ परिवार लैजान पाउने सुविधा पनि मिल्यो । साना छोराहरु लिएर कमला पनि बैंकक गइन् । बैंकक बसाइलाई सदुपयोग गर्नुपर्छ भन्ने सोचिन् । कमलालाई श्रृंगारमा सानैदेखि रुची थियो । एक दिन बैंकक सहर घुम्दै जाँदा एउटा ट्रेनिङ कलेज देखिन् । अनि त्यहीँ २ वर्ष उनले डिप्लोमा कोर्ष गरिन् ।

‘मेसा’ प्रोजेक्टमा श्रीमानले काम गर्थे । कमलाका अनुसार त्यो प्रोजेक्ट त्यहाँको राजपरिवारको निगरानीमा थियो । एक दिन थाई राजदरबारमा उनका श्रीमानसहितलाई साँझको खानाका लागि बोलाइएको थियो । कार्यक्रममा कमला साडी लगाएर गएकी थिइन् । सबैलाई अनौठो लाग्यो । त्यहाँकी रानी उनको पोशाक देखेर अचम्ममा परिन् ।

रानीले उनलाई कोट्याएर सोधिन्, ‘तिमी कहाँबाट आएको ?’

उनले आफू बुद्धभूमि नेपालबाट आएको बताइन् । रानी खुशी भइन् । त्यसपछि उनले बैंककमा के गछ्र्यौ भनेर पनि सोधिन् । कमलाले ब्युटिसियनको कोर्स गरिरहेको सुनाइन् ।

रानीले फेरि छक्क पर्दै सोधिन्, ‘तिमीहरुको देशमा पनि यस्तो व्यवसाय हुन्छ र ?’

त्यहीँबाट कमलालाई नेपालमा गएर कसैले नगरेको काम गर्ने अठोट जाग्यो । २०३६ सालमा नेपाल फर्किइन् । तत्कालै काम शुरु गरिहाल्ने योजना उनको थियो । तर, यसमा धेरै व्यवधानहरु थिए । सौन्दर्य सामग्रीहरु पनि नेपालमा पाइन्थेन । साथै, परिवारको पनि समर्थन भएन । अन्ततः उनी संयुक्त परिवारबाट छुट्टिइन् ।

श्रीमानको भने उनलाई पूर्ण सहयोग र समर्थन थियो । उनीहरुले परिवारबाट छुट्टिएर कुपण्डोलमा मासिक ५ सय भाडा तिर्ने गरी एउटा दुईतल्ले घर भाडामा लिए । त्यही घरको एउटा कोठामा उनले १० हजार रुपैयाँ लगानी गरेर व्यवसाय शुरु गरिन् ।

बैंककबाट नेपाल फर्कंदा केही सामानहरु ल्याएकाले उनलाई केही सहज भयो । त्यसबेलाको मेन्यु अहिले पनि कमलासँग सुरक्षित छ । त्यसबेला ड्राइङ ८ रुपैयाँ, हेयर कट १० रुपैयाँ यस्तै थियो शुल्क ।

व्यवसाय शुरु त गरिन् । तर, ग्राहक नै आउँदैनथे । आएका ग्राहकहरु पनि यो त राजपरिवारले मात्रै गर्ने कुरा हो भनेर लाज मान्ने गरेको कमला सम्झन्छिन् । कुपण्डोलमा त्यसबेला धेरै राणा, शाह परिवार बस्थे ।

व्यवसायको बारेमा जानकारी गराउन त्यतिबेला टेलिभिजन तथा सामाजिक सञ्जाल केही थिएन । उनलाई निकै तनाब भयो । तर, हिम्मत हारिनन् ।

बिहान ४ बजेदेखि राति १० बजेसम्म पनि ननस्टप काम गरेको अनुभव कमलासँग छ । व्यस्तताकै कारण उनले परिवारलाई समय दिन पनि सकेकी थिइनन् । छोराहरु बूढानीलकण्ठ स्कूलमा पढ्थे । बिदाका बेला घर आउँदा पनि उनीहरुले आमासँग समय बिताउन गाह्रै पर्थ्यो  ।

एकदिन एकजना महिलालाई सेवा दिइन् । त्यसपछि ती सेवा लिनेले अर्कीलाई सुनाइन् । एक कान, दुई कान मैदान भनेजस्तै उनको पार्लरका बारेमा प्रचार भयो । अब श्रृंगारका लागि भारत तथा अन्य देश जानु पर्दैन भन्ने भएपछि ग्राहकहरु पनि बढे ।

पार्लरका लागि आवश्यक सामानहरु त्यसबेला थिएनन् । बाटामा पानी राखेर मगले नुहाइदिने गर्थिन् । बस्ने क्यामपट (नुहाउँदा सुत्ने भाँडो) भने बैंककबाट ल्याएकी थिइन् ।

एकदिन तत्कालीन सेना प्रमुख अर्जुन नरसिंह राणाकी श्रीमती उनको पार्लरमा आइन् । मोटो ज्यानकी उनी बस्ने बित्तिकै क्याम्पट भाँच्चियो । क्याम्पट नै भाँचिएर ग्राहक लडेपछि कमलालाई धेरै तनाब भयो । उनले माफी मागिन् । पछि राणाकी श्रीमतीले नै धेरै सहयोग गरेको उनी सुनाउँछिन् ।

ग्राहकहरु बढ्दै गए । कमलाले आरामसमेत नलिई मेहनत गर्दै गइन् । बिस्तारै उनलाई भ्याई–नभ्याई हुन थाल्यो ।

२०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भयो । टेलिभिजन स्थापनापछि उनलाई श्रृंगारसम्बन्धी कार्यक्रम नै चलाउन आग्रह गरियो । टेलिभिजनका तत्कालीन कर्मचारीहरु रमा सिंह र ऋचा गुरुङ घरपरिवार नामक कार्यक्रम चलाउने प्रस्ताव लिएर कमलाकहाँ पुगे ।

कमलालाई टेलिभिजनमा कुनै अनुभव थिएन । तर, टिमका अन्य सदस्य पनि विज्ञ थिएनन् । सबै उस्तै भएकाले उनको हिम्मत बढ्यो । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण शुरु भयो ।

त्यो कार्यक्रमले झनै कमलालाई चर्चित बनाइदियो । कार्यक्रम सुपरहिट भयो । केही वर्षपछि च्यानल नेपाल पनि सञ्चालनमा आयो । च्यानल नेपालले कमलालाई कार्यक्रम चलाउन अफर गर्यो । उनले त्यसमा पनि ६ वर्ष कार्यक्रम चलाइन् ।

उनले टेलिभिजनमा कार्यक्रमलाई थोरै समय र बाँकी धेरै समय पार्लरलाई दिने गरेकी थिइन् । ‘ग्राहकहरु यति धेरै आउँथे कि खाने टुंगो पनि हुँदैनथ्यो र ‘कामले गर्दा म खाना खान पनि बिर्सन्थे’ उनी सम्झन्छिन् ।

कमलाले इमेज टीभीमा पनि काम गरिन् । व्यवसायसँगै टेलिभिजनमा १५ वर्षभन्दा धेरै समय अनुभव बटुलिन् । टीभीमा देखेर नै धेरै ग्राहक उनको सैलुनमा आए । उनलाई भ्याई नभ्याई नै थियो ।

पाठेघरको अप्रेसन गरेपछि पनि उनले आराम गर्न पाइनन् । अप्रेसन पछि रेष्ट गरिरहेका बेला एकजना थाई ग्राहक आएको उनी स्मरण गर्छिन् । ती विदेशी ग्राहकले अन्य स्टाफले काम गरेको चित्त बुझाइनन् । आराम गरिरहेकै बेला आएर कमलाले आफैंले काम गरिन् ।

बिहान ४ बजेदेखि राति १० बजेसम्म पनि ननस्टप काम गरेको अनुभव कमलासँग छ । व्यस्तताकै कारण उनले परिवारलाई समय दिन पनि सकेकी थिइनन् । छोराहरु बूढानीलकण्ठ स्कूलमा पढ्थे । बिदाका बेला घर आउँदा पनि उनीहरुले आमासँग समय बिताउन गाह्रै पर्थ्यो  ।

एकदिन अचम्म भयो ।

कमला पार्लरभित्र बसिरहेकी थिइन् । कोही ग्राहक आएनन् । यसो बाहिर नजर लगाइन् । आएका ग्राहकहरु गेटबाटै धमाधम फर्किरहेका थिए । के भएछ भनेर यसो नियाल्दा कमलाले थाहा पाइन् । छोराहरुले ‘सैलुन क्लोज्ड टुडे’ लेखेर टाँसिदिएछन् । सैलुन बन्द रहेको ठानेर ग्राहकहरु धमाधम फर्किएछन् ।

वास्तवमा छोराहरुले आमाको समय चोर्न यस्तो जुक्ति लगाएका थिए । त्यसपछि कमलालाई अलि नमज्जा लाग्यो । अनि उनले परिवारका लागि जसरी पनि समय छुट्याउन थालिन् ।

प्रगति हुँदै गयो । मासिक ५ सयको घरबाट उनी १५ सयको घरमा, अनि पछि ५ हजारको घरमा सरिन् । त्यसपछि उनले आफ्नै पौरखले कमाएको पैसाबाट जग्गा किनिन् । उनले किनेका बेला कुपण्डोलमा ५० हजार रोपनी जग्गा पाइन्थ्यो । उनले २ रोपनी जग्गा किनिन् र आफ्नै पैसाले घर बनाइन् ।

त्यो बज्रपात

परिवार राम्रोसँग चलिरहेको थियो । छोराहरु पनि ठूला भइसकेका थिए । जेठा छोरा २०, कान्छो १७ वर्ष पुगेका थिए । उनले आफू ब्युटीपार्लर मात्रै चलाउने भन्दा पनि अरुलाई पनि स्वरोजगार बनाउने उद्देश्यले ट्रेनिङ सेन्टर खोल्ने योजना बनाइन् ।

यसका लागि कान्छो छोरा पनि इच्छुक थिए । उमेरले सानै भए पनि कान्छो छोरा उनका सल्लाहकारजस्ता थिए । ‘मलाई यो गरौं, त्यो गरौं भनेर सल्लाह दिइरहन्थ्यो, पढ्नमा पनि निकै ट्यालेन्ट थियो,’ कमला सम्झन्छिन्, ‘कान्छो छोराले एसएलसीको तयारी गरिरहेका थिए । एसएलसीको बोर्डमै आउने उनको लक्ष्य थियो । तर, भगवानले अर्कै सोचेका रहेछन् ।’

त्यसबेला कमलाका श्रीमान हेटौडा वन कार्यालयमा कार्यरत थिए । कान्छो छोरालाई लिएर बुवा हेटौडातर्फ जाँदै गर्दा गाडी दुर्घटना भयो । दुर्घटनामा बुवाको हात भाँचियो । छोराले भने ज्यानै गुमाए ।

छोराको निधनले कमला भित्रैदेखि टुटिन् । आज पनि यो प्रसंग कोट्याउनासाथ उनी भक्कानिन्छिन् ।

जसोतसो उनले आफूलाई सम्हालिन् । श्रीमान् र जेठो छोराका लागि पनि आफू कमजोर बन्नुहुँदैन भनेर मनलाई बलियो बनाइन् । स्वर्गीय छोराको ईच्छा पूरा गर्नका लागि उनी सीटीईभीटीमा सम्वन्धन लिन गइन् । तर, सीटीईभीटीले आनाकानी गर्‍‍यो । दुई वर्ष निरन्तर उनी सीटीईभीटीमा धाइरहिन् ।

‘मैले सिकेको सिप अरुलाई सिकाएर स्वरोजगार बनाउँछु भन्दा तपाईहरु किन रोक्नुहुन्छ ? भनेर मैले निरन्तर एक किसिमको लडाइँ नै लडेँ,’ उनी भन्छिन् ।

अन्ततः २ वर्षपछि २ लाख धरौटी राखेर सम्बन्धन पाइन् । चारजना विद्यार्थीबाट यो काम शुरु गरिन् । यो पनि नेपालकै पहिलो तालिम दिने संस्था थियो । उनले केटीहरुसँगै केटाहरुको हेयर कटिङको पनि २५ वर्षअघि तालिम दिइन् । एकपछि अर्को काम गर्दै उनले नेपालमा सौन्दर्य व्यवसायलाई उचाईंमा पुर्‍याइन् ।

सौन्दर्यकर्मीकी नेतृ

व्यवसायमा उचाई हासिल गरेपछि कमलालाई नेपाल उद्योग वाणिज्य महासंघमा पनि जानुपर्छ भनेर ठूला उद्योगी व्यवसायीहरुले आग्रह गरे । त्यसपछि शुरु भयो उनको व्यवसायिक राजनीति ।

अहिले व्यवसायसँगै निजी क्षेत्रको राजनीतिमा पनि उनी निकै सक्रिय छिन् । उनले महिला उद्यमीहरुको नेतृत्व गरेकी छिन् ।

उद्योग वाणिज्य महासंघमा भने नेतृत्व नै लिने उनको लक्ष्य छ । पुरुषहरु मात्रै होइन, महिलाहरु पनि प्रतिष्पर्धाबाट आउन सक्ने उनी बताउँछिन् । अघिल्लो वर्षको कात्तिकमै हुने भनिएको विधान संशोधन नहुने भएपछि अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्दैछन् । अब नयाँ वरिष्ठ उपाध्यक्षका लागि भने चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा होमिँदैछन् ।

वस्तुगत उपाध्यक्ष रहेका उमेशलाल श्रेष्ठ आगामी चुनावमा पनि सोही पदमा उठ्ने भएका छन् । कमला पनि यसपालि वस्तुगत उपाध्यक्षमा चुनाव लड्न चाहन्थिन् । तर, ढकाल वरिष्ठ उपाध्यक्षमा र उमेश वस्तुगत उपाध्यक्षमा नै दोहोरिने भएपछि उनीहरुलाई सघाउन केन्द्रीय सदस्यमै चित्त बुझाउने सोच उनले बनाएकी हुन् ।

ब्युटिपार्लर पेशामा व्यवसायीहरु थपिँदै गएपछि संगठन खोल्ने कुरा भयो । सबैले कमलालाई नै नेतृत्व गर्न आग्रह आग्रह गरे । उनले ०६४ सालमा सौन्दर्य कला व्यवसायी संघ खोलिन् । अहिलेसम्म पनि कमला संघको निर्विरोध अध्यक्ष छिन् । संगठन ७७ जिल्लामै फैलिएको छ । देशभर ३ लाख बढी सौन्दर्य व्यवसायीहरु छन् ।

संघ खोलेको केही महिनामा नै उनले यसलाई उद्योग वाणिज्य महासंघमा संस्थागत सदस्य बनाइन् । वस्तुगततर्फबाट उनी तीनपटक लगातार महासंघको केन्द्रीय सदस्य बनिन् ।

महासंघको गत चैतमा हुने चुनाव लकडाउनका कारण स्थगित भयो । अब मंसिरमा चुनाब हुँदैछ । यो चुनावमा कमलाले वस्तुगततर्फको उपाध्यक्ष नै लड्ने तयारी गरेकी थिइन् । धेरैले उनलाई सहयोग गर्ने बचन पनि दिएका थिए । तर, उनी यसपालि पुनः केन्द्रीय सदस्यमै दोहोरिने सोचमा छिन् ।

निरन्तर संघर्षको प्रतिफल

महासंघको महिला उद्यमी सभापति हुँदा कमलाले धेरैलाई स्वरोजगार बनाउन तालिम दिइन् । सौन्दर्य सामग्रीमा अनिवार्य भ्याट तिर्नुपर्ने नियम थियो । विकट क्षेत्रका मान्छेहरुले तिर्न सक्दैनन् भनेर उनले सरकारसँग पटकपटक गुहारिन् । अन्ततः सरकारले कुरा सुन्यो, र त्यो हटाइदियो ।

उमेरले वृद्धावस्थामा प्रवेश गरे पनि कमलाको सक्रियता भने अहिले पनि उस्तै छ । उनी व्यवसायसँगै नीति निर्माण तहमा समेत संगठनको प्रतिनिधित्व गर्छिन् । आफ्नो व्यवसायलाई पनि अझै राम्रो बनाउन उनले सक्रियता देखाइरहेकी छन् ।

सौन्दर्य व्यवसायलाई खासगरी सरकारी अधिकारीले पनि व्यवसायको रुपमा हेर्दैनथे । यो पनि एउटा राम्रो व्यवसाय हो भन्ने बुझाउनका लागि कमलाले निकै मिहिनेत गरिन् । अन्य पेशाजस्तै यसलाई पनि व्यवसायिक बनाउनका लागि औपचारिक शिक्षा आवश्यक पर्ने उनको ठम्याइ थियो ।

सौन्दर्य व्यवसायलाई पनि सेवा क्षेत्रमा राखिनुपर्ने कमलाले माग गर्दै आएकी थिइन् । नभन्दै सेवा क्षेत्रका रुपमा सरकारले यसलाई राख्यो । धेरै आग्रहपछि तत्कालीन उद्योग वाणिज्य मन्त्री महेश बस्नेतका पालामा यसलाई सेवा क्षेत्रमा सुचीकृत गरिएको थियो ।

कमलाकै अनवरत पहलको परिणामस्वरुप पाठ्यक्रममा सौन्दर्य ज्ञान विषय समावेश भएको छ । यसका लागि सरकारलाई ‘कन्भिन्स’ गराउन निकै लामो समय लागेको उनी सुनाउँछिन् । ७ वर्षपछि यसले यो शैक्षिक सत्रबाट सौन्दर्य शिक्षासमेत पाठ्यक्रममा समावेश गर्ने निर्णय गरेको छ ।

अब ९, १० साथै ११ र १२ कक्षामा समेत यो ऐच्छिक विषयका रुपमा पढाइ हुनेछ । कमला भन्छिन्, ‘यो मेरा लागि धेरै ठूलो सफलताको कुरा हो । मेरो प्रयास सार्थक भएको छ ।’

सौन्दर्य शिक्षाले अब धेरैलाई स्वरोजगार बनाउने तथा रोजगारी उपलब्ध हुने कमला बताउँछिन् । डाक्टर–इन्जिनियर बन्छु भन्नेहरुलाई अरु क्षेत्र पनि छन् है भन्ने ज्ञान अब बढ्ने भनाइ छ ।

जीवनमा जति तनाव हुँदा पनि कहिल्यै हतोत्साहित नभएर व्यवसायमा तल्लीन भएका कारण अहिले यो स्थानमा आइपुगेको कमला बताउँछिन् ।

अन्तरजातीय विवाहका कारण शुरुमा थोरै तनाब झेलिन् । व्यवसाय शुरु गर्दा धेरैले ‘हजाम’ भनेर खिसी गर्ने गरेको उनी सुनाउँछिन् । ‘यतिसम्म कि मेरै घरको जग हाल्ने बेलामा पनि मलाई मेरै बाहुनी बज्यैले तिमी परै बस हैँ, पूजाको सामान छुनुहुँदैन भन्नुभएको थियो’ कमला भन्छिन् ।

उमेरले वृद्धावस्थामा प्रवेश गरे पनि कमलाको सक्रियता भने अहिले पनि उस्तै छ । उनी व्यवसायसँगै नीति निर्माण तहमा समेत संगठनको प्रतिनिधित्व गर्छिन् । आफ्नो व्यवसायलाई पनि अझै राम्रो बनाउन उनले सक्रियता देखाइरहेकी छन् ।

ब्युटिपार्लरबारे सिक्न चाहनेहरुलाई उनले अनलाइनबाट सिकाइरहेकी छिन् । त्यसबाहेक राज्यसँग पनि उनी छलफलमै रहिन् । अब थप ५० हजार जनालाई रोजगार बनाउने उद्देश्य लिएकी छन् उनले । यो उद्देश्य पूरा गर्नका लागि सात प्रदेशमा २५ वटा सेन्टर खोल्ने र स्थानीय तहसँगको समन्वयमा तालिम दिएर स्वरोजगार बनाउने उनले योजना सुनाइन् ।

उपप्रधानमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलगायतका सरकारका उच्च अधिकारीहरुले यसलाई राम्रो प्रतिक्रिया दिएर कार्यक्रम स्वीकृतसमेत भइसकेको उनी बताउँछिन् । तर, सरकारले स्वीकृत गरे पनि उनको यो कार्यक्रम अगाडि बढ्न भने सकेको छैन ।

अहिले नेपालमा कपाल काट्ने पेशामा धेरै धेरै भारतीयहरु छन् । यसले ठूलो रकम रेमिट्यान्सका रुपमा बाहिरिएको छ । नेपालीलाई नै सिप सिकाउँदा त्यो रकम स्वेशमै राख्न सकिने कमलाको विश्वास छ ।

‘कोभिडपछि धेरैले जागिर गुमाएका छन् । बेरोजगारलाई कसरी व्यवस्थापन गर्ने ? विदेशबाट फर्केकालाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेका छौं’ कमला भन्छिन्, ‘हामीले यो कार्यक्रम अन्तर्गत तालिम दिएर २ महिनामा नै उनीहरुलाई रोजगारी दिन सक्छौं ।’

लकडाउनपछिको दैनिकी

कमलालाई संघ–संगठनको काममा भ्याई नभ्याई हुन्छ । व्यवसायको हितका विषयमा सरकारसम्म आवाज पुर्याउनेदेखि घरको किचनसम्मको काम गर्न भ्याउँछिन् उनी ।

हुन त कमलाको घरमा काम गर्ने मान्छे पनि नभएका होइनन् । तर, आफ्नो काम आफैं गर्नुपर्छ भन्ने उनको मान्यता छ । ‘घरको काम पनि म आफंै गर्छु, खाली बस्ने बानी छैन,’ उनी भन्छिन्, ‘अहिले पनि फोहोर देखेँ भने झाडू लगाइहाल्छु, खाना पनि पकाउँछु भाडा पनि माझ्छु ।’

लकडाउनले भने कमलाको व्यस्त जिन्दगीलाई अलि फरक बनाइदियो । तर, उनले खाली बसेर दिनभर समय बर्वाद भने पारिनन् । जुम मिटिङमा सहभागिता जनाउने, अनलाइनबाटै प्रशिक्षण दिने तथा विदेशमा रहेका छोरा–नातिहरुसँग कुराकानी गरेर उनको दिनचर्या बित्छ ।

‘अरु दिनभर सुतेर बिताएँ भन्छन्, मचाहिँ लकडाउनमा पनि व्यस्त नै भएँ,’ उनी भन्छिन्, ‘हामी श्रीमान्–श्रीमती मिलेर कहिले स्टोर सफा गर्ने, कहिले मिलेर खाजा बनाउने जस्ता काम गर्‍यौं ।’

कमलाका छोरा निश्चल परिवारसहित अमेरिकामा छन् । छोरा–बुहारी र ३ जना नाति–नातिना अमेरिकामै भएका कारण कमलाविगत धेरै वर्षदेखि हरेक दसैंमा अमेरिका जाने गरेकी थिइन् । तर, यसपालि भने २० वर्षपछि नेपालमै दसैं मनाएको उनले सुनाइन् । कोभिड महामारीका कारण उनले यसपालि अमेरिका नजाने सोच बनाएकी हुन् ।

हालसम्म विश्वका तीन दर्जन देशको भ्रमण गरिसकेकी कमलालाई अमेरिका त पानी पँधेरो बराबर छ । घुम्न वा छोराबुहारीलाई भेट्न मात्रै होइन, तालिमका लागि पनि अमेरिका गइरहनुपर्ने उनी सुनाउँछिन् । ‘तालिम एकपटक लिएर नहुने रहेछ, अपडेट भइरहनु पर्छ, नयाँ–नयाँ टेक्निकहरु आइरहन्छन्’ उनी भन्छिन्, ‘यसकारण पनि म गइरहन्थें । तर कोभिडका कारण तत्कालै जाने सम्भावना छैन ।’

हिजो नराम्रो सोच्ने आफ्ना नातागोताहरु पनि अहिले कमलालाई सह्राना गर्छन् । ससुराले पनि निधनअघि आफूसँग खुसी भएको र पहिला गाली गरेकोमा पछुताएको उनले सुनाइन् ।

व्यवसायबाट रिटायर्ड हुने भन्ने विषयमा कमलाले केही सोचेकी छैनन् । हातखुट्टा चलेसम्म व्यवसायमै सक्रिय रहने उनको सोच छ ।

‘मैले व्यवसायमा नै जीवन समर्पण गरेकी छु, अहिले नै रिटायर्ड हुने कुरै भएन नि,’ उनी भन्छिन्, ‘खुट्टा कमजोर भएपछि पनि म सकेसम्म घिस्रिएर भए पनि व्यवसायमा रमाउनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment