Comments Add Comment

कविता : माटोको आवाज

उनीहरू-
मेरो सिङ्गै छाला काढेर
छाता बनाउन खोज्दैछन्
जम्मै मासु ताछेर
चिलहरूलाई खुवाउन खोज्दैछन्

यी सक्कली हातखुट्टा पनि
फक्लक्क फुकालेर
सट्टामा आफ्नै अनुहार चिथोर्ने
एकजोर हात दिन खोज्दैछन्
र भीर खोज्दै हिँड्ने
एकजोर खुट्टा दिन खोज्दैछन्

उनीहरू-
मेरै आलो रगतले लेख्न चाहन्छन्
शान्तिको नयाँ परिभाषा
मेरै आँखा निकालेर बनाउन चाहन्छन्
शक्तिशाली ‘सूक्ष्मदर्शक यन्त्र’
गमला बनाएर मेरै मुटु
सजाउन चाहन्छन् प्लास्टिकका फूल

अझ भनिरहेछन्-
तेरो नाक काटेर लैजान्छौं
जिब्रो थुतेर लैजान्छौं
र ओखर फुटाएजसरी टाउको फुटाएर
मस्तिष्क पनि लैजान्छौं

त्यसपछि त मसँग
करङै करङयुक्त कङ्कालमात्र बाँकि रहने छ
खै ! त्यो पनि उनीहरूले
चन्द्रमासम्म पुग्ने
भर्याङ बनाउन लैजाने अरे

उनीहरूको यही हर्कतले
यतिबेला-
मलाई बेस्सरी रिङ्गटा लागिरहेको छ
म भुमरीमा परेको
पत्करझैं भएको छु

तर तिमीहरू भने
कति निदाइरहन्छौ ?
ए ! मेरा प्रिय सन्तति हो
अब त ब्यूँझ
इस्पातजत्तिकै बलियो मुठ्ठी उठाएर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment