Comments Add Comment

आईपीएलमा टिम फ्लप हुँदा पनि चम्किएका जडेजा

काठमाडौं । दुई ओभरको खेल बाँकी । जितका लागि ३० रन आवश्यक । यस्तो बलिङ गर्ने टिम जितको नजिक पुगेको मानिन्छ । तर, कहिलेकाहीँ नसोचेको परिणाम आइदिन्छ, यदि रवीन्द्र जडेजाजस्ता ब्याट्सम्यान क्रिजमा छन् भने ।

कोलकत्ता नाइट राइडर्सविरुद्ध बिहीबारको खेल चेन्नई सुपरकिङ्सको लागि उति महत्वपूर्ण थिएन । आईपीएलको समूह चरणबाट माथि उक्लिन नसक्ने पक्का भइसकेकाले यो म्याच केवल उसका लागि प्रतिष्ठाको लडाइँ मात्र थियो । कोलकत्ताका लागि भने यो म्याच जितेर ४ अंक बटुल्नु अत्यावश्यक थियो । तर, बाधक बनिदिए जडेजा । लगभग कोलकत्ताको पोल्टामा परिसकेको नतिजा उनले अन्तिममा खोसिदिए ।

भारतीय राष्ट्रिय टिमका अलराउन्ड जडेजा कम आँकिएका खेलाडी हुन् । यद्यपि, बारम्बार उनले ब्याट र बल दुवैबाट आफ्नो क्षमता सिद्ध गर्दै आएका छन् । पछिल्लो तीन वर्षको आँकडालाई हेर्ने हो भने उनको टेस्ट ब्याटिङ कुनै विशेषज्ञ ब्याट्सम्यानको भन्दा कम छैन । २४ म्याचमा उनले ४८.६१ रनको औसतमा ब्याटिङ गरेका छन् । तर, छोटो फर्म्याटको क्रिकेटमा भने उनको ब्याट त्यति भरोसायोग्य थिएन । आईपीएलमा पनि यो संस्करणभन्दा अघि उनको औसत २४.०८ र स्ट्राइक रेट १२२.६६ मात्र थियो ।

तर, यो वर्ष जडेजाले अर्कैरुप देखाएका छन् । पुराना आँकडाहरु बिर्सँदै उनले आफ्नो टिमका लागि ब्याटमार्फत अधिकतम योगदान दिइरहेका छन् । यो आईपीएलमा उनको औसत ४६.४० छ भने स्ट्राइक रेट १७१.८५ छ, जुन उनको टिममा सर्वोत्कृष्ट हो । यस आईपीएलमा स्ट्राइक रेटका आधारमा उनीभन्दा अगाडि केइरन पोलार्ड, निकोलस पुरन र एबी डेभिलियर्स मात्रै छन् । ब्याटिङकै कमजोरीले गर्दा धराशायी बनेको चेन्नईका लागि उनी एक गुप्त सुपरस्टारका रुपमा उदाएका छन् ।

कोलकात्ताविरुद्धको जितपछि सीएसकेका कप्तान महेन्द्रसिंह धोनीले भने, ‘यो सिजनमा उनको प्रदर्शन लोभलाग्दो छ । हाम्रो टिमका लागि अन्तिम ओभरहरुमा रन बटुल्ने जिम्मेवारी उनी एक्लैले लिएका छन् । उनी मैदानको सबै भागमा स्कोर गर्न सक्छन् । उनी पावरमा मात्रै भर पर्दैनन्, टेक्निक पनि उत्तिकै राम्रो छ ।’

पछाडिका ओभरहरुमा जडेजालाई साथ दिने अर्को ब्याट्सम्यान भइदिएको भए टिमको अवस्था फरक हुने विश्लेषण धोनीको छ । जडेजाले यो सिजनमा प्राय ६ नम्बरमा आएर ब्याटिङ गरिरहेका छन् । अगाडिका ब्याट्सम्यानहरुको खराब प्रदर्शनले गर्दा प्रत्येक खेलमा उनी दबावमा हुन्छन् । तर, पनि उनले खुलेर ब्याटिङ गर्दै आएका छन् ।

अहिलेसम्म ११ इनिङमा जडेजाले जम्मा एक सय ३५ बलको सामना गरे । त्यसमा केवल ५ पटक मात्रै उनी आउट भएका छन् । प्रत्येक इनिङमा उनले औसत १२ बल मात्रै खेल्न पाए । उनको स्थिरतालाई हेर्दा टिमले उनलाई अगाडि क्रममा खेलाउनुपर्ने मत धेरैको थियो । तर, त्यस्तो परिवर्तन गर्न टिम व्यवस्थापन इच्छुक भएन । धोनीले आफूभन्दा अगाडि उनलाई क्रिजमा पठाउन चाहेनन् ।

कोलकोत्ताविरुद्धको पहिलो खेलमा जेडेजा सातौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । त्यसबेला टिमलाई २.५ ओभरमा ३९ रन चाहिएको थियो । उनले आठ बलमा २१ रन हाने पनि टिमलाई जिताउन सकेनन् । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा उनी छैटौं नम्बरमा ब्याटिङ गर्न आए । त्यसबेला ३.३ ओभरको खेल मात्र बाँकी थियो । जडेजाले केवल १३ बलमा अविजित ३३ रन बनाए । म्याच दिल्लीले जित्यो । हिजोको म्याचमा पनि जडेजा आउँदासम्म चेन्नई कठिन अवस्थामा धकेलिइसकेको थियो । २.४ ओभरको खेल बाँकी छँदा चेन्नईलाई ३३ रन चाहिएको थियो, जुन सहज थिएन ।

जडेजाले म्याचपछि भने, ‘अन्तिम १२ बलमा धेरै सोच्ने आवश्यकता थिएन, मैले केवल ठूला सटहरु खेल्नु थियो । यदि उनीहरुले मैले चाहेको ठाउँमा बल फ्याके भने छक्का बजाउन सक्छु भन्ने आत्मविश्वास थियो । सोचेजस्तै भयो पनि ।’

चेन्नई सुपरकिङ्स आईपीएलको प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको छ । अब उसले आफ्नो अन्तिम खेल मात्रै खेल्न बाँकी छ । त्यस खेलमा सबैको आकर्षण जडेजा नै बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment