Comments Add Comment

संक्रमण विज्ञ फाउचीलाई निस्कासन गर्ने ट्रम्पको चेतावनी

१८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफू पुनः राष्ट्रपतिमा निर्वाचित भएमा संक्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।

संक्रमण रोग न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई ट्रम्पले हटाउने चेतावनी दिएका हुन् ।

फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा. फाउचीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संक्रमण र त्रास फैलिनुमा डा. फाउची पनि दोषी रहेको आरोप लगाए ।

चुनावी कार्यक्रममा ट्रम्पका समर्थकहरुले डा. फाउचीलाई निस्कासन गर्नुपर्ने माग गर्दै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उनलाई निस्कासन गर्ने अभिव्यक्ति दिएका हुन् ।

‘यसबारे मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,’ ट्रम्पले आफ्ना हजारौं समर्थकहरुलाई जवाफ फर्काउँदै भने ।

डा. फाउचीले अमेरिकामा संक्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् ।

तर गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार असफल भएको र डा. फाउचीका सुझावलाई राष्ट्रपति ट्रम्पले बेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको छ ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment