+
+

अमेरिकी चुनाव : बाइडन विजयी हुनेमा विश्वस्त, ट्रम्प अदालत जाने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते ७:२४

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ । कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक हुँदा बाइडन र ट्रम्पबीच झिनो अन्तर देखिएको छ ।

बाइडनले २४३ इलेक्टोरल मत पाउँदा ट्रम्पको पक्षमा २१४ मत परेको छ । जितका लागि निकै महत्वपूर्ण मानिएका राज्यहरुको मत गणना जारी छ । त्यसैले अहिले नै अमेरिकाको ५८ औं राष्ट्रपति को हुन्छ भनेर भन्न सकिने स्थिति छैन ।

यद्यपि बाइडनले आफ्नो जित स्पष्ट भइसकेको बताएका छन् । तर ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने बताएका छन् ।

महत्वपूर्ण स्थानको परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति चुनिनका लागि पर्याप्त राज्यमा आफूले जित्ने बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपण सीएनएनबाट सार्वजनिक भएलगत्तै समाचार एजेन्सी एपीसँग संक्षिप्त कुरा गर्दै उनले भनेका छन्, ‘जब सबै गणना सकिन्छ, हामीलाई विश्वास छ, हामी नै विजेता हुन्छौं ।’

राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल भोट चाहिन्छ । मिशिगनमा बाइडनले जिते उनी विजय नजिक पुग्नेछन् ।

कसैले सत्ता हत्याउन नसक्ने बरु जनताले सुम्पिने उल्लेख गर्दै बाइडनले भनेका छन्, ‘हाम्रो लोकतन्त्रलाई कसैले खोस्न सक्दैन ।’ उनले सबै अमेरिकीको एकतामा पनि जोड दिएका छन् । ‘हामीले जितेमा राता र नीला राज्यहरु हुने छैनन्, संयुक्त राज्य अमेरिका मात्र हुनेछ,’ उनले भने ।

अमेरिकाको राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग गरेका छन् । यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण पेश गरेका छैनन् । उनले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन् ।

बाइडन पक्षले भने ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै मतगणना नरोकिने जनाएको छ ।

पेन्सलभेनियाको मतगणनाको अन्तिम नतिजा आइसकेको छैन । तर ट्रम्प पक्षले पेन्सलभेनियामा आफूहरुले जितेको घोषणा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?