Comments Add Comment

दलीय भागबण्डा र अस्तव्यस्त विश्वविद्यालय

‘युनिभर्सिटी अफ बोलोग्ना’ विश्वकै पहिलो विश्वविद्यालय हो । सन् १०८८ मा इटालीमा यो विश्वविद्यालयको स्थापना भएको हो । यस्तै अक्सफोर्ड युनिभर्सिटि, पेरिस विश्वविद्यालय, क्याम्बिज्र विश्वको पुरानो विश्वविद्यालयमा पर्छन् ।

नेपालमा हाल ११ वटा विश्वविद्यालयहरू छन् । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर (२०१६), नेपाल संस्कृत विश्वविद्यालय दाङ (२०४३), काठमाडौं विश्वविद्यालय धुलिखेल (२०४८), पूर्वाञ्चल विश्वविद्यालय बिराटनगर (२०५१), पोखरा विश्वविद्यालय (२०५४), लुम्बिनी बौद्ध विश्वविद्यालय (२०६१), कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवन (बि.स. २०६७), मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत (२०६७), सुदुरपश्चिमाञ्चल विश्वविद्यालय महेन्द्रनगर (२०६७), नेपाल खुला विश्वविद्यालय (२०७३), राजर्षी जनक विश्वविद्यालय (२०७४) रहे पनि हाम्रो विश्वविद्यालयको त्यति लामो इतिहास छैन ।

वि.सं. २०१६ असारमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो । यसअन्तर्गत विभिन्न विषयको स्नातक, स्नातकोतर, एम.फिल र पीएचडी तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । ‘त्रि.वि. ऐन २०४९’ अनुसार यसको मुख्य उद्देश्य नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नु हो । स्तरयुक्त शिक्षा प्रदान गर्नु, उच्च शिक्षा हासिल गर्ने विधार्थीलाई प्रमाण–पत्र प्रदान गर्नु र विभिन्न विषयमा अनुसन्धान गराउनु हो ।

त्रिभुवन विश्वविद्यालयको उद्देश्य पुरा गर्नको निमित्त पठनपाठन र अनुसन्धान कार्यमा जोड दिनुपर्छ । विभिन्न विषयको प्राज्ञिक जनशक्ति उत्पादन गरिने थलोको रूपमा विश्वविद्यालयलाई चिनाउनुपर्छ ।

त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षासम्बन्धी शैक्षिक कार्यक्रमहरू, अनुसन्धान तथा प्राज्ञिक कार्य सञ्चालन गराउनको लागि विश्वविद्यालयको सूचना शाखाको अद्यावधिक तथ्याङ्क अनुसार त्रि.वि. अन्तर्गत पाँचवटा अध्ययन संस्थानहरू– कृषि र पशुविज्ञान अध्ययन संस्थान, वनविज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान छन् ।

यस्तै चारवटा संकायहरू शिक्षाशास्त्र संकाय, कानुन संकाय, ब्यवस्थापन संकाय, मानविकि र सामाजिकशास्त्र संकाय रहेका छन् । चारवटा अनुसन्धान केन्द्र, ३८ वटा केन्द्रीय विभाग र ६१ वटा आङ्गिक क्याम्पस तथा १०८४ वटा सम्बन्धनप्राप्त क्याम्पस रहेका छन् ।

उत्कृष्ट हजारमा त्रिवि तर बेरोजगारीको हब

विश्व वेब सर्वेक्षणमा भाग लिँदै आएको त्रिभुवन विश्वविद्यालय बेलायतस्थित ‘टाइम्स हाइयर एजुकेशन’ (THE) ले सन् २०२१ को लागि गरेको विश्वविद्यालय सर्वेक्षणमा विश्व वरीयताको उत्कृष्ट हजारभित्र पर्न सफल भयो ।

करीब ९२ देशको १ हजार ५ सय २७ विश्वविद्यालयको सूचीमा त्रिवि एक हजारभित्र परेको हो । यसअघि सन् २०१९ मा पनि त्रिवि उत्कृष्ट हजारभित्र परेको थियो । मूलत: शिक्षण, अनुसन्धान, साइटेशन, अन्तर्राष्ट्रिय छवि र संस्थाको आयलाई सूचकको रूपमा मानेको छ । त्रिविलाई पनि अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा पर्न तोकिएको मापदण्डभित्र मूल्याङ्कन गरी यो स्तर निर्धारण गरिएको हो ।

उत्कृष्ट हजारभित्र परे पनि त्रिविमा एसियाकै राम्रो मानिएको इन्जिनियरिङ, चिकित्साशास्त्र र वन विज्ञानबाहेक अन्य विषयको उत्तीर्ण प्रतिशत निरन्तर घट्दो दरमा छ ।

त्रिविले परीक्षा प्रणालीमा सुधार गर्न सकेको देखिँदैन । दुई वर्षको कोर्स ४ वर्षमा, छ महिनाको कोर्स ९ महिनामा पनि पुरा नहुने स्थिति बन्दै गएको छ । परीक्षाको नतिजा प्राप्त गर्न एक वर्षभन्दा बढी कुर्नुपर्ने, ट्रान्सक्रिप्ट वितरणमा ढिलाई, शैक्षिक क्यालेण्डर कार्यान्वयनको अभाव, समय सान्दर्भिक पाठयक्रमको बहस नहुनु लगायतक गतिविधि देखिँरहदा पनि त्रिवि नेत्तृत्व संवेदनशील भएको देखिँदैन । त्रिविका आंशिक प्राध्यापकहरू देशभरका क्याम्पसमा बौद्धिक श्रम शोषण भयो भन्दै तलबको लागि आन्दोलनमा उत्रिए । विद्यार्थीसँग शैक्षिक गतिविधिमा जोडिनुपर्ने प्राध्यापक रोजीरोटिमै अल्झिनु परेको सुन्दा, पढ्दा नयाँ पुस्ताले प्राध्यापक पेशाप्रति कस्तो धारणा बनाउला !

अर्कोतर्फ त्रिभुवन विश्वविद्यालयको उत्पादन बजारमा अधिकांश बेरोजगारी भेटिन्छन् वा रोजगारी पाएकाहरू पनि आफ्नो योग्यता अनुसारको रोजगारी नभेटेकोमा असन्तुष्टि भेटिन्छन् ।

कोरोना महामारी र लकडाउनको कारण शैक्षिक कार्यक्रम र परिक्षा सञ्चालन प्रभावित रहे पनि पदाधिकारीले विभिन्न क्याम्पसमा क्याम्पस प्रमुखहरू नियुक्ति गर्न भने भ्याए ।

नेपालकै जेठो विश्वविद्यालय दलीय भागबण्डा र खिचातानीका कारण अस्तब्यस्त बनेको छ । यसमा विश्वविद्यालय भित्रको समस्या, विकृति, प्रशासनिक ढिलासुस्ती र शैक्षिक गतिविधिमा सुधार गर्न सकेमा विश्वविद्यालयको उचाइ थप राम्रो बन्ने छ । त्रिविको नेत्तृत्वले संस्थाको हरेक निर्णय पारदर्शी, आन्तरिक व्यवस्थापन सबल बनाउन सकेमा त्रिविको भविष्य सुन्दर छ ।

राजनीतिक नियुक्ति मुक्त प्राज्ञिक क्षेत्र

विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिष्टारलगायत महत्त्वपूर्ण पदहरूमा राजनीतिक नियुक्ति गर्ने परिपाटीले विश्वविद्यालयमा शैक्षिक गतिविधिभन्दा बढी राजनीतिक गतिविधिले जरा गाढेको देखिन्छ । विभिन्न अध्ययन संस्थानका डिनहरू, विभागिय प्रमुखहरू, आङ्गिक क्याम्पसका प्रमुखहरू लगायत राजनीतिक भागबण्डाको आधारमा नै नियुक्ति गरिने चलन छ ।

जुन राजनीतिक दलले सरकार सञ्चालन गर्दछ, सोही दलको इच्छाअनुकूल विश्वविद्यालयजस्तो प्राज्ञिक थलो चल्दछ । प्राज्ञिक ठाउँमा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गरिनु योग्य र राम्रालाई भन्दा गुण लगाएको आधार र हाम्रोलाई नियुक्ति र अवसर दिने प्रवृत्तिले विश्वविद्यालयको शान गिर्दै गएको छ ।

विश्वविद्यालय विशुद्ध प्राज्ञिक क्षेत्र हो । त्यसैले विश्वविद्यालयमा आउने पदाधिकारीहरू उपकुलपति, रेक्टर, रजिष्टार राजनीतिक भागबण्डाको आधारमा भन्दा निष्पक्ष प्रतिस्पर्धाको आधारमा नियुक्त हुनुपर्छ ।

प्राज्ञिक क्षेत्रमा अनुभव नभएको र राजनीतिक विचारको आधारमा नियुक्ति भएको व्यक्ति विश्वविद्यालयको पदाधिकारी हुनु पुरै राजनीतिक हस्तक्षेपको शिकारमा छ भन्न सकिन्छ । निश्चित मापदण्ड (पेशागत कार्यक्षमता, योग्यता, विशिष्टता र भावी कार्ययोजना) भएका प्राध्यापकहरू मध्ये खुला प्रतिस्पर्धा नै गराएर उपकुलपति, रेक्टर, रजिष्टार, परिक्षा नियन्त्रक, डिनहरू, विभागीय प्रमुखहरू नियुक्ति गर्ने व्यवस्था गर्नुपर्दछ ।

नेपालकै ठूलो विश्वविद्यालय आर्थिक शैक्षिक र प्रशासनिक दृष्टिले धराशयी बन्दै गइरहेको छ । तर सुधार्न नै नसकिने अवस्थामा भने पुगेको छैन । त्रिवि धरासयी बन्नुको मुख्य गल्ती भनेकै विश्वविद्यालय पदाधिकारिहरूमा राजनीतिक भागबण्डाको आधारमा नियुक्ती हुनु र नेतृत्वमा रहेकसँग दिर्घकालीन दृष्टिकोण नहुनु नै हो ।

प्राध्यापक विद्यार्थी र कर्मचारीले पनि जिम्मेवारी बहन गर्नुपर्दछ । अनुशासनहीन विद्यार्थी, जिम्मेवारी र दायित्व भुल्ने प्राध्यापक र अल्छी कर्मचारीको कारण पनि विश्वविद्यालयको विकासमा ह्रास देखा परेको कुरा नकार्न सकिन्न । (सबैलाई भन्न खोजिएको हैन) यद्यपि त्रिविलाई अन्तराष्ट्रिय स्तरको सबल र समृद्ध विश्वविद्यालय बनाउने हो भने राजनितिक हस्तक्षेपबाट मुक्त, योग्य प्राध्यापक, सक्षम कर्माचरी, अनुशासित र जिम्मेवारी विद्यार्थी सबैले गम्भीर हुन आवश्यक छ ।

विद्यार्थी सङ्गठनको भूमिका

विद्यार्थी सङ्गठनहरूले पनि विश्वविद्यालयमा राजनीतिक आग्रह–पूर्वाग्राह राखी, त्यही ढङ्गले आन्दोलनमा उत्रिनु हुँदैन । विवेक पुर्याएर सत्यको पक्षमा सबै विद्यार्थी एकजुट हुन आवश्यक छ । आखिर विद्याको सार नै विवेक हो । नियमित र गुणस्तरिय शिक्षा, पुस्तकालयमा नयाँ संस्करणका पुस्तक, समयमै नतिजा प्रकाशन, विज्ञान प्रयोगशालामा पर्याप्त उपकरण छ–छैन लगायतको आम विद्यार्थीको चासो र गुनासोमा विद्यार्थी सङ्गठनको ध्यान जानुपर्छ ।

मुलुक परिवर्तनको संवाहक विद्यार्थी सङ्गठन शैक्षिक समस्यामा भन्दा मूल पार्टीका नेताहरूको चाकरीमा ब्यस्त देखिन्छन् । गुट–उपगुट बनाउने आफ्नो पार्टी निकटको ब्यक्ति विश्वविद्यालयमा पदाधिकारी नियुक्ति भएमा खादा लिएर स्वागतमा निस्कने, आफ्नो दल बाहेकका ब्यक्तl नियुक्ति भएमा भौतिक आक्रमणमै उत्रिन पछि नहट्ने गतिविधि देखिन्छ ।

शैक्षिक एजेण्डामा केन्द्रित हुनुपर्ने विद्यार्थी सङ्गठन दलगत त्यसभित्र पनि गुटगत राजनीतिमा मस्त छ । शैक्षिक क्षेत्रमा देखिने चरम अनियमिततामा विद्यार्थी सङ्गठनले वकालत गर्नुपर्छ । सबै बिद्यार्थी सङ्गठनहरूले शैक्षिक संस्थामा विभिन्न बहानामा तालाबन्दी, तोडफोड, बन्द, आगजनी लगायतका गतिविधि गर्नमा रोक लगाउनु पर्छ ।

संसारका कयौं विश्वविद्यालयहरू शोध–अनुसन्धानमा व्यस्त छन् । कोरोना महामारी (कोभिड-१९) को भ्याक्सिन बनाउन प्रतिस्पर्धामा छन् । तर हाम्रो विश्वविद्यालय राजनीतिक नियुक्तिको भागबण्डामै रूमल्लिरहेको छ ।

विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक थलोको रूपमा विकास गर्नको निमित्त राजनितिक नियुक्तिबाट मुक्त राख्नु अपरिहार्य छ । विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेतको साङ्लोबाट मुक्त गराउँदै प्राज्ञिक संस्थाप्रति आम जनविश्वास बढाउने, सक्षम र योग्य जनशक्ति उत्पादन गर्न सक्ने विश्वविद्यालय बनाउने जिम्मेवारी वर्तमान दुईतिहाई बहुमत प्राप्त सरकारको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment