Comments Add Comment

१०० नम्बरमा जिस्काउने कल !

२१ कात्तिक, डोटी । बिहीबार दिउँसो करिब ३ बजेतिर जिल्ला प्रहरी कार्यालय डोटीको १०० नं. मा फोन आयो । फोन रिसिभ गर्दै प्रहरी कर्मचारीले ‘जय नेपाल, जिप्रका डोटी’ भनेर अभिवादन गरे । ‘कहाँबाट को बोल्नु भयो ?’ भनेर पनि प्रश्न गरे । तर उताबाट कुनै प्रतिक्रिया आएन । प्रहरी कर्मचारीले तीन–चार पटकसम्म ‘हलो, हलो’ भने, कुनै जवाफ नआएपछि फोन राखे ।

करिब दुई मिनेटपछि फेरि फोनको घन्टी बज्यो । रिसिभकर्ता फेरि उस्तै गरी बोले । उताबाट कुनै आवाज आएन । यस पटक उनले ‘भन्नुहोस्, यो प्रहरी कार्यालय हो, तपाईंको के समस्या हो, को बोल्नु भएको हो ?’ भनेर फेरि प्रश्न गरे । तर उत्तर आएन अनि फोन राखे ।

जिल्ला प्रहरी कार्यालयको शुल्क नलाग्ने १०० नं. मा आउने यस्ता फोनले प्रहरीलाई हैरान वनाएको छ । ‘यसरी फोन गर्नेहरु अधिकांश त बोल्दै बोल्दैनन्,’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक रमेश शाही भन्छन्, ‘बोल्नेहरु पनि झर्केर बोल्छन्, तर आफ्नो समस्या भन्दैनन् ।’ कसैकसैले त बिहानै अपशव्द प्रयोग गरेर गाली गर्ने गरेको उनको अनुभव छ ।

‘दिनभरीमा आउने फोनहरुमा अधिकांश यस्तै आउँछन्,’ शाही भन्छन्, ‘फोन नउठाउने हो भने कसैको आपतकालीन समस्या होला भन्ने डर, उठाउने हो भने कि त बोल्दै बोल्दैनन्, कि त गाली खानु पर्छ ।’

कसैकसैले उल्टो जिस्काउने गरेको शाहीको भनाइ छ । ‘फोन किन गर्नु भएको हो भनेर सोध्यो भने ‘गफ गर्न नि ! भन्ने जवाफ दिन्छन्,’ शाहीले थपे, ‘उल्टो उल्टो कुरा गर्न थाल्छन्, किन मसँग कुरा गर्न हुन्न र ?’ भन्छन् ।’ यस्ता फोन गर्नेमा महिला आवाजहरु बढी रहेको शाहीले बताए । मदिरा सेवन गरेर प्रहरीलाई गाली गर्न फोन गर्नेहरु पनि रहेको शाहीले सुनाए ।

प्रहरीका लागि यस्ता फोनहरुले ठूलो समस्या भएको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेय बताउँछन् । ‘फोन गर्छ, न आफ्नो परिचय भन्छ, न समस्या बताउँछ,’ पाण्डेयले भने, ‘ड्यूटीमा बसेको प्रहरीलाई तनाव मात्रै हुन्छ ।’ कसैकसैले फोन डायल गरेर बच्चाको हातमा दिने गरेको उनले बताए । उनी थप्छन् ‘यताबाट फोन गरेर सोध्दा, बच्चाको हातमा मोबाइल थियो, गल्तीले च्यापिएको होला, भन्ने जवाफ आउँछ ।’

यस्तायस्तै फोन आइरहेका बेला कोही वास्तविक समस्यामा परेको मान्छेले फोन गर्‍यो र भने कहिलेकाहीँ प्रहरीले फोन रिसिभ गर्न नसक्ने अवस्था पनि आउन सक्ने पाण्डेय बताउँछन् ।

डोटीमा मात्रै नभएर यस्ता फोनहरु अन्यत्र पनि आउने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह बताउँछन् । कतिपय अवस्थामा प्राविधिक कारणले पनि फोन नसुनिएको हुन सक्ने सिंह बताउँछन् । ‘कहिलेकाहीँ ट्र्यापमा परेको व्यक्तिले फोन डायल मात्रै गर्न सक्यो, बोल्न नसकेको अवस्था पनि हुन सक्छ,’ सिंह भन्छन्, ‘कहिलेकाहीँ नेटवर्कले काम नगरेर पनि त्यस्तो समस्या आएको हुन सक्छ ।’ तर जानीजानी जिस्काउने, गाली गर्ने, गलत सूचना दिनेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए ।

‘१०० नं. फोन सेवा प्रहरीलाई अत्यावश्यक सूचना दिनका लागि हो, कुनै अपराध भएको वा भइरहेको वा हुन सक्ने सूचना दिनका लागि फोन गर्नु पर्ने हो,’ निमित्त प्रमुख सिंहले भने, ‘प्रहरीलाई जिस्काउँदा वा गलत सूचना दिँदा प्रहरीले प्रदान गर्ने सेवामा कठिनाइ भइरहेकाले यसो नगरिदिन आग्रह गर्दछु ।

उनले यस्ता फोनहरुको रेकर्ड राखी कसूर अनुसार कारबाहीको दायरामा ल्याउने बताए । उनले भने, ‘सञ्चारका साधनहरुको दुरुपयोग नगर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न पनि जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment