Comments Add Comment

फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

राहत प्याकेजसहित हल खोल्ने वातावरण बनाउन सरकारसँग माग

२७ कात्तिक, काठमाडौं । चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो ।

ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जनले चितवनको पर्सा र लालबन्दीमा पनि आधुनिक प्रविधिको सिनेमा हल खोलेका थिए । आठ महिनायता तीनवटै हल बन्द भएर आमदानीबिहीन बने पनि उनी बिजुलीको महसुल र कर्मचारीको तलब जुटाउन बाध्य छन् । ‘ठूलो संकट छ,’ उनी भन्छन्, ‘कति तनाव छ, भनिसाध्य छैन । गोजीबाट पैसा हालेर हल बचाइराखेका छौं ।’

देशभरका फिल्म हल सञ्चालकहरु अहिले महर्जनकै मनोदशामा छन् । हल खुल्ने दिन जति टाढिदै छ, उनीहरुको तनाव त्यति बढ्दो छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गत चैत ५ गते सिनेमा हलसहित भीडभाड हुने सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । चैत ११ बाट त देशव्यापी लकडाउन नै भयो ।

असार १ पछि अन्य व्यावसाय क्रमशः खुला हुँदै गएपनि सिनेमा हलहरुमा लागेको ताल्चा खुलेको छैन । महामारी फैलिने जोखिम उच्च हुने भन्दै सरकारले सिनेमा हल खोल्ने विषयमा चासो पनि दिएको छैन । यो आठ महिनामा नै कतिपय हल सधैंका लागि बन्द गर्ने निर्णयमा सञ्चालकहरु पुगिसकेका छन् । जसोतसो हल टिकाउन लागेका सञ्चालकहरुले कहिलेसम्म मासिक खर्च जुटाउन सक्छन्, यसै भन्न सकिने स्थिति छैन । हलहरु नचल्दा तिनका सञ्चालकदेखि चलचित्र निर्माता, कलाकार र प्राविधिकसम्मको रोजीरोटीमा समस्या परेको छ ।

लगानी फस्यो, सिजन टर्‍यो

पछिल्लो समय नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्स हल निर्माण बढेको थियो । काठमाडौंमा मात्र नभई मोफसलमा पनि थुप्रै मल्टिप्लेक्स हल खुल्दै थिए ।

तर महामारीले मल्टिप्लेक्सहरुमा गरिएको ठूलो लगानी संकटमा परेको नेपाल चलचित्र संघले बताएको छ । मल्टिप्लेक्स बन्द रहे पनि महिनामा लाखौं खर्च हुने सञ्चालकहरु बताउँछन् ।

उनीहरुका अनुसार, सिंगल हलको तुलनामा मल्टिप्लेक्सको खर्च अत्यधिक हुन्छ । सिंगल हलहरुलाई पनि यो संकट टार्न गाह्रो परिरहेको छ ।

हलहरु बन्द हुँदा अहिलेसम्म कति घाटा भयो भन्ने यकीन तथ्यांक पाइँदैन । हलमा सधैं एउटै अनुपातमा व्यापार हुँदैन । सामान्य समयमा फागुन–चैत–वैशाख र भदौ–असोज–कात्तिक–मंसिर हलहरुले राम्रो कमाइ गर्ने महिना हुन्थ्यो । यसपालि यही बेला सबै खाले हल बन्द रहे ।

८ करोड लगानीमा २०७६ असोजमा खुलेको नयाँ बानेश्वरको ‘वान सिनेमाज’ ६ महिनामै बन्द भयो । सञ्चालकमध्येका एक प्रज्ज्वल शमशेर जबराका अनुसार हल नचले पनि खर्च ठूलो छ । लगानी उठाउनुपर्ने बेला महामारीका कारण बन्द भएको हल व्यवस्थापन गरिराख्न लगानीमाथि लगानी थपिएको उनी बताउँछन् ।

ठूलो लगानीको हल बन्द राख्नुपर्दा पनि उनीहरु विकल्पहीन छन् । लगानी जोगाउन थप लगानी लगाउनु नै उनीहरुको एकमात्र विकल्प बनेको छ ।

शून्य आम्दानी, करोडको खर्च

नेपालमा आधुनिक सिनेमा हल चलाउने र व्यवस्थापन गर्ने अग्रणी ‘क्यूएफएक्स’ले करिब ९ ठाउँमा २५ वटा स्क्रिन व्यवस्थापन गर्छ । कति हलमा कम्पनीको आफ्नै लगानी छ भने कतिमा व्यवस्थापन मात्र हेर्छ ।

अहिले आम्दानी शून्य भएको समयमा क्यूएफएक्स अन्तरगतका हलहरुको आन्तरिक व्यवस्थापनमा मासिक करिब एक करोड रुपैयाँ खर्चिरहनु परेको बताउँछन् कम्पनीका सञ्चालक भाष्कर ढुंगाना ।

धेरै हलहरुले भाडा तिर्न सकेका छैनन् । उनीहरुले सपिङ मल र भवनअनुसार प्रतिमहिना प्रतिवर्गमिटर ७० देखि १२० रुपैयाँसम्म भाडा तिर्नुपर्छ । २ हजार स्क्वायर फिट नभई एउटा स्क्रिन चलाउन सकिन्न । त्यसका आधारमा एउटा स्क्रिनमै महिनामा कम्तिमा साढे २ लाखसम्म भाडा तिर्नुपर्ने हुन्छ ।

मल्टिप्लेक्स सिनेमा हलहरुलाई अहिले मलहरुमा भाडा तिर्न सकस छ । क्यूएफएक्स सञ्चालक ढुंगानाका अनुसार सुरक्षा–सरसफाइ गर्न, सामानहरु बिग्रन र प्राविधिक समस्या आउन नदिन कर्मचारी खटाउनु परेको छ ।

धेरैजसो हलले वर्षौं पुराना कर्मचारीलाई आधा तलब दिएर राखेका छन् । बिजुली खपत नभए पनि न्युनतम् डिमान्ड शुल्क तिर्नैपरेको छ । ‘सरकारले हामीलाई बिलासी सेवा र सुविधाको सूचीमा राखेर व्यवहार गरेको छ, हामी समस्या लिएर कति ठाउँमा पुग्दा पनि समाधानमा चासो देखाइएको छैन,’ ढुंगाना भन्छन्, ‘सरकारको यही शैली रहे यो व्यवसायमा धेरै डुब्ने र पलायन हुने अवस्था आउँछ ।’

सिंगल हल सन्चालकहरुको पनि समस्या उस्तै हो । पुरानो शैलीको हल चलाउनेमध्ये धेरैको आफ्नै भवन भएकाले भाडा तिर्नुपर्दैन । भाडाकै घरजग्गामा चलिरहेकाहरु थप सकसमा छन् ।

बौद्धको सिद्धार्थ र कोटेश्वरको पुष्पाञ्जली हल सञ्चालक रहेका नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले यी हल जोगाउन मात्र मासिक १० लाखदेखि १२ लाखको जोहो गर्नुपर्छ । रेखदेख, विद्युत महसुल, कर्मचारीको तलब लगायतका खर्च व्यवस्थापन गर्न बैंकबाट ऋण लिनुपरेको उनी बताउँछन् । ‘सरकार समस्या सुनिरहेको छैन’, उनी भन्छन्, ‘हामी ऋणमाथि ऋणले थिचिइरहेका छौं ।’

सरकारी बेवास्ताको गुनासो

उनकाअनुसार देशभर २०० सिनेमा हल सञ्चालनमा छन् । त्यसमा ६० प्रतिशत सिंगल हल र ४० प्रतिशत मल्टिप्लेक्स छन् । सिंगलहरु अगग्रेड गर्न पनि पछिल्लो समयमा ठूलो लगानी भएको थियो । एउटा हलमा ३ करोडदेखि ८ करोडसम्म लगानी भएको अनुमान छ ।

औसतमा एउटा हलमा ५ करोड लागेको मान्दा यो व्यवसायमा १० अर्बभन्दा बढीको लगानी भएको अनुमान हुन्छ । त्यसमध्ये करिब ७० प्रतिशत बैंकको ऋण भएको चलचित्र संघका अध्यक्ष प्रधानको अनुमान छ । उनी भन्छन्, ‘सरकारले यो क्षेत्रलाई पूरै बेवास्ता गर्दा अर्बौं लगानी जोखिममा छ ।’

सरकारले लकडाउनअघि नै बन्द गर्ने निर्णय सुनाएको सिनेमा हलहरुलाई मौद्रिक नीतिमा अतिप्राथमिकता प्राप्त व्यवसायको सूचीमा राखेको छैन ।

त्यसबाट अन्याय भएको भन्दै चलचित्र संघले सञ्चार र अर्थमन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराएको छ । अति प्रभावितको सूचीमा परेको भए पुनर्कर्जा सुविधा पाउने सम्भावना हुन्थ्यो । ‘पुनर्कर्जा सुविधाका लागि बैंक जाँदा नीति छैन भन्दै फर्काइन्छ,’ अध्यक्ष प्रधानले अनलाइनखबरसँग भने, ‘चलचित्र विकास बोर्डबाट पनि हाम्रो समस्यामा कुनै पहल हुन सकेन ।’

चल्न दिन माग

क्युएफएक्सका सञ्चालक ढुंगाना सार्वजनिक यातायातदेखि विमान सेवासम्मलाई मापदण्ड अपनाएर खुल्न दिएको सरकारले सिनेमा हललाई मात्र असुरक्षित देख्नु विडम्बनाकै विषय भएको बताउँछन् । उनी भन्छन्, ‘५० प्रतिशत मात्र दर्शक राखेर चल्न दिए पनि राहत हुन्थ्यो ।’

क्युएफएक्सले अब केही हल केही समयका लागि बन्द गर्ने सोच बनाइसकेको छ । पहिल्यैदेखि कम ‘अकुपेन्सी’ भएका र खोल्दा सञ्चालन खर्च उठाउन गाह्रो स्थानका हल चलाउन नसकिने निष्कर्ष निकालिएको ढुंगाना बताउँछन् । ‘अब हलहरु खुलेपनि एक–डेढ वर्ष त नाफामा जानै कठिन हुन्छ’, उनी भन्छन्, ‘हाम्रो संकटलाई यसैगरी बेवास्ता गरिए भविष्यमा समग्र चलचित्र उद्योग थला पर्छ ।’

हलहरु नचल्दा हजारौंको रोजगारी संकटमा छ । यो उद्योगसँग अप्रत्यक्ष रुपमा जोडिएकाहरु पनि समस्यामा छन् । त्यसैले हल खोल्ने वातावरण बनाउन र पुगेको क्षति कम गर्ने छुट्टै राहत प्याकेज ल्याउन सरकारसँग चलचित्र संघको माग छ ।

सीसीएमसीमा थन्कियो प्रस्ताव

सरकारले भने कहिलेबाट चलचित्र हल खोल्ने भन्ने निर्णय गरेको छैन । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल आफू असारमा अध्यक्ष भएर आएदेखि नै हल खुल्नुपर्छ भनेर पहल गर्दै आएको बताउँछन् । ‘अरु सबै क्षेत्र खुलेपछि हल खुल्न नहुने भन्ने हैन, अन्य व्यवसायले नसार्ने कोरोना हलले मात्रै सार्छ भन्ने हैन,’ उनले भने, ‘मैले सञ्चार मन्त्रालयमा यसबारे पटक–पटक जानकारी गराएको छु ।’

दशैंअघि नै हल खोल्ने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सञ्चार मन्त्रालयमार्फत् पठाइसकेको दाहालले बताए । पछिल्लो सयममा संक्रमण बढेकाले सरकारको निर्णय गर्न ढिलाइ गरेको हुनसक्ने भन्दै उनले अब धेरै ढिलाइ गर्न नहुने बताए ।

उनले हल खोल्नका लागि मापदण्डहरु पनि तयार भइसकेको र सरकारको निर्णय मात्रै पर्खिरहेको बताए ।

‘हल नखुलेसम्म समग्र सिनेमा उद्योग प्रभावित भइरहने भयो, यो उद्योगमा निर्भर जनशक्तिले पनि राहत पाउँथे,’ उनले भने, ‘सिनेमा हल खोल्ने पहलका लागि मैले चलचित्र संघ, चलचित्र निर्माता संघका पदाधिकारीलाई सँगै लिएर हिँड्ने गरेको छु, हामीले संयुक्त रुपमै यसबारे पहलकदमी लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment