Comments Add Comment

‘पुर्ख्यौली आरनमै छ आनन्द’

विदेशबाट फर्किएपछि पुर्ख्यौली पेशा बन्यो जीवन धान्ने आधार

३० कात्तिक, चितवन । सुखका लागि दुःख बेसाउन विदेश जाने युवाको संख्या ठूलो छ । विदेशमा समेत हैरानी भोगेर स्वदेश फर्किने र विभिन्न व्यवसायिक कर्ममा लाग्ने पनि उत्तिकै छन् । यस्तैमा पर्दछन् चितवनको पर्यटकीय नगरी सौराहा नजिकैका कृष्णबहादुर विक । १३ वर्ष कतारमा काम गरेर फर्किएका कृष्णबहादुरले बाउबाजेको पुर्ख्यौली पेशा आरनलाई जीवन धान्ने आधार बनाएका छन् ।

आरन चलाएर मासिक ४० हजार कमाउँदै आएको उनी बताउँछन् । ‘विदेशमा बसेर ७ धुर जग्गा १४ लाखमा किनेर ५ लाखको घर बनाए । छोराछोरीलाई पढाएँ,’ उनले भने, ‘अब यहीँ बसेर आरन चलाउँछु ।’

उनले पुर्ख्यौली पेशा आरन सुरु गरेको ८ महिना मात्रै भएको छ । धेरैलाई थाहा पनि छैन, थाहा भएकाहरु चार किलोमिटर परबाट समेत फलामका सामान बनाउन आउँछन् । सिजनमा दैनिकमा दुई हजार पाँच सय रुपैयाँसम्म कमाउने गरेको उनले सुनाए ।

धान काट्ने सिजन मंसिर, मासु काट्ने सिजन दशैं र तिहार ताका अरु बेलाभन्दा बढी काम र आम्दानी हुने उनी बताउँछन् । त्यतिबेला नयाँ भाडा बनाउने, अर्चप्नेहरु धेरै आउँछन् ।

उनलाई विदेश जाने धोको पुगेको छ । ‘अब विदेश जान्नँ, यहीँ बसेर बाउबाजेले सिकाइदिएको पेशा गर्छु,’ उनले भने, ‘मलाई यही काम गर्दा आनन्द लाग्छ, गर्व महसुस हुन्छ ।’

पैसा कमाएर जीवनलाई सहज बनाउन भन्दै विक २०५३ सालमा कतार गएका थिए । गत भदौ महिनामा कहिल्यै विदेश नजाने अठोटका साथ स्वदेश फर्किए । तर घर आएपछि उनी त्यसै बस्न सकेनन् ।

उनले बुवा लालबहादुर विकसँग आरनको काम सिकेका थिए । त्यही बेलाको सीप अहिले उनलाई जीवन धान्ने मेसो बनेको छ । ४८ वर्षीय विकलाई विदेशबाट फर्केर आएपछि जागिर खान मन लागेन । विदेशमा कमाएको पैसा छोराछोरीलाई शिक्षा र घरघडेरी जोड्दैमा सकियो । आम्दानीको स्रोत नभएपछि अभाव खड्किन थाल्यो । त्यसपछि आरन व्यवसाय सञ्चालनका लागि उनले करिब १ लाख रूपैयाँ लगानी गरे ।

उनी घर बनाउने डकर्मीसमेत हुन् । तर उनलाई त्यो कामभन्दा आरन पेशा नै ठीक लाग्छ । ‘ओतमा बस्न पाइने, घामपानी सहनु पनि नपर्ने, आफ्नै काम भयो,’ कृष्णबहादुर भन्छन्, ‘यो पेशालाई हेला गर्दा धेरैले दुःख पाएका छन् ।’

बजारमा पाइने रेडिमेड सामानका कारण आरन व्यवसाय बिस्तारै लोप हुँदैछ । परम्परागत पेसा पनि जोगिने र आम्दानीको स्रोत पनि हुने भएकाले विदेशबाट फर्केर आरन व्यवसाय सुरू गरेको विकले बताए ।

विदेश गएर लामो समय बसेको उनलाई पश्चाताप भने छैन । ‘विदेशमा मासिक ३५ हजारसम्म कमाउँथें,’ उनले भने, ‘तर ४० कटेपछि यहीँ काम गर्छु भन्ने सोच पहिल्यै बनाएको थिएँ । विदेश घुमेँ, देखेँ, हण्डरठक्कर खाएँ र पाको बनेँ ।’

छोराहरुले काम नसिकेकोमा चिन्ता

कृष्णबहादुरलाई आरनमा कहिलेकाँही श्रीमती उषाले सघाउँछिन् । उषा सौराहा बचत तथा ऋण सहकारी संस्थामा कार्यालय सहयोगीको रुपमा काम गर्छिन् । दुई छोरीको विवाह भयो । ठूलो छोरा १२ कक्षामा र कान्छो छोरा कक्षा ११ मा पढ्छन् ।

छोराहरुले आरनको काम नसिक्दा उनलाई दिग्दारी लाग्छ । आफ्नो शेष पछि छोराहरुले यो पेशा नअगाल्ने चिन्ताले उनलाई सताउँछ । ‘मैले काम सिकाउन कति प्रयास गरेँ, तर मान्दैनन्,’ कृष्णबहादुर भन्छन्, ‘मैले काम सिकेको थिएँ र पो आज दुःख पर्दा यही पेशा गर्न पाएँ, भोलि छोराहरूलाई पनि यस्तो दिन आउन सक्छ नि ।’

विकले बञ्चरो, खुर्पा, दाउ, कचिया, कोदालोलगायतका घरेलु औजार बनाउने गरेका छन् । उनले घरेलु औजारको मर्मतसँगै नयाँ बनाएरसमेत बिक्री गर्छन् । गाडीका पत्ता किनेर ल्याएर नयाँ समान बनाउने गरेको उनले बताए ।

व्यवसायलाई आधुनिक बनाउने योजना

बजारमा मेसिनले बनाउने तयारी सामान पाइने भएपछि हातैले बनाउने फलामे औजारको महत्व घट्न सक्ने चिन्ता उनलाई छ । कृषि आधुनिकीकरण हुँदै जाँदा पनि यस्ता व्यवसायमा संकट पैदा हुने देखिन्छ । त्यसैले परम्परागत पेशालाई नयाँ मोडलमा सञ्चालन गर्ने योजना छ उनको ।

विकसँग अहिले फलाम काट्ने र धार बनाउने ग्रेडर मेसिन, फलाम कुट्ने सामान्य मेसिन, हावा फाल्ने हाते मेसिन छ । अब आधुनिक उपकरण प्रयोगमा ल्याउने उनको योजना छ । वेल्डिङ मेसिन र हावा फाल्ने हाते मेसिन विस्थापित गरेर नयाँ उपकरण ल्याउने उनले बताए ।

उनले सामान बनाएर सौराहामा आउने पर्यटकहरुलाई बेच्ने र नेपालको चिनो विदेश पठाउने योजना बनाएको बताए । यसका लागि सटर पनि भाडामा लिएका थिए तर लकडाउनका कारण राम्रोसँग काम गर्न नपाएको उनले दुखेसो सुनाए ।

विकले मासिक ५० हजार बढी आम्दानी हुने गरी आरन व्यवसायलाई आधुनिक बनाउने योजना बनाएका हुन् । ‘अब बाँचुञ्जेल यही पेसा गर्छु’, उनले अनलाइनखबरसँग भने, ‘पुर्ख्यौली पेसा पनि जोगिन्छ, जीवन पनि सहज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment