Comments Add Comment

ढाका टोपीको सन्देश : माइतीको शीर उच्च रहोस्

त्यसो त ढाका टोपी नेपालीको आफ्नै मौलिक र राष्ट्रिय परिधानकै एक हिस्सा हो । हिमाली टाकुरा झै शीरमा ढाका टोपी ढल्काउनु नेपाली हुनुको आत्म–गौरव पनि हो । यही ढाका टोपी सर्वोत्तम उपहार हो, चेलीले माइतीलाई दिने ।

खासगरी तिहारमा चेलीले माइतीका लागि उपहार दिने प्रचलन छ । र, यसका लागि सर्वोत्तम मानिन्छ ढाका टोपीलाई । ढाक टोपी नै किन त ? यसको खास अर्थ र महत्व छ । यसलाई पहिरनको पनि उच्च कोटीमा राखिन्छ । हाम्रा पूर्खाहरुले टोपीलाई शिरपोसको उपमा दिदै यसको महत्वलाई दर्शाए ।

तिहारको भाइटिकामा दिदी वहिनीले दाजुभाईको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपी जस्तै दाजुभाईको सिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देश सहित ढाका टोपी उपहार दिइन्छ ।

अर्कोतिर के पनि धारणा छ भने, भाइटिकामा माइतीको टाउको खाली राख्नुहुँदैन । यहि कारण टोपी पहि¥याइदिने गरिन्छ ।

त्यसो त ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध छ । यसमा हामी आफ्नोपन पाउँछौ । कतै हामीलाई चिनाउनु परे ढाका टोपी हाम्रो मानक बन्छ । यो हाम्रो आफ्नै उत्पादन हो । यो हाम्रो आफ्नै रचना हो । यो हाम्रो आस्थाको प्रतिक हो ।

जसै तिहार नजिकिन्छ ढाका टोपी छ्यापछ्याप्ती देखिन्छ । तिहारलाई लक्षित गरेर बजार ढाका टोपीले ढाकिन्छ । बजारमा ढाका टोपी देख्नसाथ हामी रोमाञ्चित हुन्छौ । किनभने, यसले हामीलाई तिहारको मिठास दिन्छ ।

आधुनिकताको नाममा हामीले कति परम्परागत विधी विधानलाई लत्याउँदै आएका छौ । पछिल्लो समय टोपी पनि यसैको मारमा परेको छ ।

अहिले चेलीले माइतीलाई ढाका टोपी होइन अन्य लत्ताकपडा दिने चलन बढी छ । भाइटिकामा दिइने उपहारलाई अन्य लत्ता कपडा तथा ग्याजेटहरुले प्रतिष्थापित गर्दै आएको छ ।

ढाका टोपी नेपालीहरुको मौलिक पहिचान हो । ढाकाको कपडामा तयार पारिने ढाका टोपी पुरुषहरुले लगाउने एक प्रकारको टोपी हो । निदार सहति सम्पूर्ण टाउको ढाक्ने भएकोले पनि यसलाई ढाका टोपी भनिने जनविश्वास छ । त्यस्तै, बंगलादेशको ढाका शहरबाटयस किसिमका कपडा आयायित भएकोल पनि यसलाई ढाका भन्ने गरेको पाइन्छ ।

ढाका टोपी दाउरा सुरुवालका साथमा माथमा लगाइने गरिन्छ । ढाका टोपी  नेपालीहरुको राष्ट्रिय पोशाक पनि हो ।

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाका टोपी राजा महेन्द्र वीर विक्रम शाहदेवको पालामा ढाकाटोपी बढी मात्रामा प्रचलनमा आएको थियो । त्यसबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ ।

ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यको दौरान निदार तथा शिर खाली राख्नु हुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्य पश्चात्त ढाका टोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटिकाको दिन हरेक दिदीबहिनीले दाजुभाईलाई ढाका टोपी लगाइदिने चलन रहेको बुझिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment