Comments Add Comment

चितवनमा कोभिड पहिचान नभएका, तर गम्भीर बिरामीको संख्या बढ्दो

भरतपुर अस्पतालको फाइल तस्वीर ।

५ मंसिर, चितवन । परीक्षण घटेसँगै चितवनमा दैनिक थपिने सक्रिय संक्रमितको संख्या कम देखिएको छ ।

अस्पतालहरुको आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या कम भएको छैन । साथै कोभिड–१९ को संक्रमण पहिचान नभएका तर गम्भीर स्वास्थ्य अवस्थाका बिरामी अस्पताल आउने क्रम बढेको छ ।

जिल्लामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार ३८३ जना पुगेको छ, उनीहरुमध्ये अहिलेसम्म ४ हजार १८९ जना संक्रमणमुक्त भएका छन् भने ८५ जनाको मृत्यु भएको छ । ११ सय ९ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ९ सय ९३ जना होम आइसोलेसनमा छन् ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार अस्पतालको आइसोलेसनमा ५९ जना र स्थानीय तहका आइसोलेसनमा ५७ जना संक्रमित छन् ।

मृत्यु भएका संक्रमितमध्ये भरतपुर महानगरपालिकाका सर्वाधिक ४६ जना छन् । केही संक्रमितहरुको होम आइसोलेसनमा बसेका बेलामा समेत मृत्यु भएको छ । पछिल्लो समय गम्भीर अवस्थामा मत्र अस्पताल आउने बिरामीको संख्या बढ्दो छ, जसमध्ये कतिपयको आकस्मिक कक्षमै मृत्युसमेत भएको छ ।

‘हाम्रोमा दैनिक १५ देखि २० जनासम्म कोभिड पहिचान नभएका तर गम्भीर स्वास्थ्य अवस्थाका बिरामीहरु आउँछन्’ चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल भन्छन्, ‘कोभिड भएको हुनसक्ने आशंकामा नै उपचार गर्छौं, कतिपयमा पुष्टि हुन्छ कतिमा हुँदैन ।’ चितवन मेडिकल कलेजमा अहिले ३८ जना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये ३ जना भेन्टिलेटरमा छन् ।

केन्द्रीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा पनि चितवन मेडिकल कलेजको जस्तै अवस्था छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालले कोभिड आईसीयूका लागि १० बेड छुट्याएको थियो, जुन भरिएको छ ।

साधारण कोभिड वार्डतर्फ १५५ बेड छुट्याएको छ । त्यहाँ १० जना बिरामी छ । पछिल्लो जनरल वार्डमा भर्ना गर्नुपर्ने बिरामी घटेको छ ।

पुरानो मेडिकल कलेज, भरतपुरको कोभिड आईसीयूमा १४ र आइसोलेसन बार्डमा ८ जना संक्रमितको उपचार भइरहेको छ । जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार कोभिड स्क्रिनिङ आईसीयूमा ९ जना र वार्डमा ६ जना छन् ।

जिल्लामा कोरोना परीक्षणको संख्या भने घटेको छ । भरतपुर र क्यान्सर अस्पतालको ल्याबमा दैनिक औसत १५०÷१५० र मेडिकल कलेजमा औसत २०० नमूना परीक्षण हुँदै आएको छ । यसअघि दैनिक ३५० भन्दा बढी नमनाको परीक्षण हुन्थ्यो ।

कन्ट्याक्ट ट्रेसिङ लगभग बन्द भएको छ । त्यसैले संक्रमितको संख्या कमी आउनु स्वाभाविक भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् ।

‘संक्रमणको दर घटेको जस्तो त लाग्दैन’ उनले भने, ‘दसैंतिहार जस्ता चाडपर्वमा भएको भिडभाड र जमघटले संक्रमणको दर फैलिएको छ या छैन भन्ने थाहा पाउन अझै केही हप्ता पर्खिनुपर्ने हुन्छ ।’

मृतक धेरै बृद्धबृद्धा

चितवनका धेरै संक्रमितको उमेर समूह २१ बर्षदेखि ३० बर्ष छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार यो उमेर समूहका एक हजार ५३९ जना संक्रमित भएका छन् ।

३१ देखि ४० बर्षसम्मका १२८५ जना संक्रमित भएका छन् । सबैभन्दा कम १० बर्षसम्मका ११८ र ८० बर्ष माथिका ६३ जना छन् ।

कोरोना संक्रमण भएर मृत्यु भएकामध्ये धेरै ६१–७० वर्ष उमेर समूहका छन् । यो उमेर समूहका २० जना र ५१ देखि ६० बर्षका १६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment