Comments Add Comment

सर्पदंश समयमै थाहा नहुँदा बालबालिका मृत्युको जोखिम

८ मंसिर, चितवन । बालबालिकालाई सर्पले डस्दा देखिने लक्षणका बारेमा जानकारी नहुँदा मृत्यु हुने जोखिम उच्च हुने देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा २० हजार सर्पदशंका बालबालिकामध्ये एक हजारको मृत्यु भएको देखिएको छ ।

अल्पविकसित देशहरुमा सर्पदंशका कारण हुने मृत्युदर उच्च छ । भरतपुरको चितवन मेडिकल कलेजका कन्सल्ट्यान्ट प्रिडियाक्टिस डा. बिराज पराजुलीका अनुसार करेतले साधारणतय रातीमा टोक्ने, टोकेको थाहा नहुने, आँखा लठ्ठिदै जाने, पेट दुख्ने, वान्ता हुने हुन्छ ।

यी लक्षणहरु सर्पको टोकाइबाट नै भएका हुन् भन्ने कुरा अभिभावकलाई थाहा नहुने, नजिकको स्वास्थ्य संस्थामा पुगे पनि अन्य औषधी र उपचार गर्दा बालबालिकाको मृत्यु हुन सक्ने डा. पराजुली बताउँछन् ।

बालबालिकालाई ढिला अस्पताल ल्याउँदा तत्कालै आईसीयू र भेन्टिलेटर चाहिने हुँदा जोगाउन गाह्रो हुने गरेको डा. पराजुलीको भनाइ छ । ‘करेतले टोकेको डोब पनि खासै देखिदैन, न्यूरोप्यारालाइज हुन्छ, बालबालिकाहरुले मेसो पाउने कुरा पनि पनि भएन, लक्षणको ख्याल अभिभावकलाई पनि हुँदैन, स्वास्थ्यकर्मीहरुले पनि ध्यान दिन नसके बालबालिकाको दुःखद मृत्य हुनसक्छ’ डा. पराजुली भन्छन् ‘यस बारेमा नजिकैको हेल्थपोष्ट, मेडिकल सञ्चालक र अभिभावकहरुलाई सचेत गराउन आवश्यक छ ।’ जटिल अवस्थामा यस्ता बालबालिकालाई चाँडै भेन्टिलेटरको आवश्यकता पर्ने डा. पराजुलीले बताए ।

उनले चितवन मेडिकल कलेजमा बितेको तीन महिनाको अवधिमा यस्ता १२ वटा घटना देखिएको बताए । तीमध्ये ११ जनालाई करेतले डसेको थियो । समयमा नै उपचार पाए यस्ता बालबालिका ७ देखि १० दिनमा निको भएर घर जान सक्छन् ।

मरेतुल्य भएर आएका बालबालिका निको भएर अस्पतालबाट हिडेर जाँदा आफूहरुलाई खुसी लाग्ने गरेको डा. पराजुली बताउँछन् । चितवनमा गएको वैशाखयता ५६ जनालाई सर्पले डसेको भरतपुर अस्पतालको आकस्मिक कक्षका इन्चार्ज राजकुमार ढुंगानाले बताए ।

चितवनभन्दा बढी नवलपरासी, बारा, पर्सा, रौतहट, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाबाट सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन् । सर्पदंशको उपचारका लागि प्रयोग गरिने एन्टिस्नेक भेनम भरतपुर अस्पतालले जिल्लाका अन्य अस्पताललाई उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment