Comments Add Comment

कोरोना परीक्षणको लागि क्रिकेट खेलाडीको स्वाब संकलन

९ मंसिर, काठमाडौं । बन्द प्रशिक्षण सुरु गर्ने तयारीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस परीक्षणको लागि मंगलबार खेलाडी प्रशिक्षक अफिसियल र ग्राउण्ड स्टाफहरुको स्वाब संकलन गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सोमबार नै खेलाडीहरुको कोरोना परीक्षण गर्ने भनिएपनि खेलाडीहरु जम्मा हुन समय लागेकोले आज गरिएको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमै उनीहरुको स्वाब संकलन गरिएको हो ।

२० खेलाडी र प्रशिक्षक तथा १३ ग्राउण्ड स्टाफ गरी ३३ जनाको स्वाब संकलन भएको राष्ट्रिय टिमको फिजियो तथा व्यवस्थापक विक्रम न्यौपानेले जानकारी दिए । बाँकी रहेका खेलाडीहरुले मंगलबार साँझसम्म स्टार हस्पिटलमा गएर स्वाक दिने उनले बताए । यस्तै बाँकी रहेको ग्राउण्ड स्टाफको पनि साँझ सम्म स्वाब संकलन गरिने उनले जानकारी दिए ।

क्यानले बन्द प्रशिक्षणका लागि जम्मा २२ खेलाडीलाई डाकेको छ । अब कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट आउने खेलाडीहरुले बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सामेल हुनेछन् । कोरोना पोजेटिभ आउने खेलाडीहरुले भने तत्काल प्रशिक्षण गर्न पाउने छैनन् ।

बन्द प्रशिक्षणको लागि प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ भने फिटनेस ट्रेनरमा भारतीय आशय हतकरलाई नियुक्त गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमले झण्डै ९ महिनापछि आधरिकारिक रुपमा प्रशिक्षण गर्न लागेका हुन् । पछिल्लो पटक नेपालले मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टि-२० क्रिकेट खेलेको थियो ।

सरकारले खेलकुद प्रशिक्षणको लागि अनुमति दिएपछि क्यानले स्वास्थ्य प्रोटोकल पालना गर्दै क्रिकेट खेलाडीको बन्द प्रशिक्षण गराउन लागेको हो । तत्कालन अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि अब आगामी दिनमा हुने प्रतियोगितालाई मध्यनजर गर्दै प्रशिक्षण गर्न लागिएको हो ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment