Comments Add Comment

‘जिल्ला-नगरको ५० प्रतिशत अधिकार स्थापित गराउँछौं’

आगामी १३ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षका लागि चन्द्र ढकाल समूहबाट गुणनिधि तिवारीले उम्मेदवारी दिएका छन् । हाल उनी महासंघकै लुम्बिनी प्रदेश कमिटी अध्यक्ष छन् ।

उता किशोर प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्ष पदका लागि दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठ वाग्मती प्रदेश महासंघको अध्यक्ष हुन् । अर्थात् यस पदका अब प्रदेश ३ भर्सेस प्रदेश ५ चुनाव हुने भएको छ । दुवैको चुनाव जित्ने आ–आफ्नै दाबी छ ।

प्रस्तुत छ, तिवारीसँग अनलाइनखबरका लागि रोयल आचार्यले गरेको निर्वाचन वार्ता :

सहमतिको प्रयास भइरहेको कुरा बाहिर आउँदा आउँदै चुनाव हुने लगभग निश्चित भयो । तयारी कस्तो हुँदैछ ?

हामीले जिल्ला नगर उपाध्यक्षका साथीहरूसँग फिल्डमा पनि भेट्यौं । अहिले काठमाडौंमा पनि धेरै साथीहरू आउनुभएको छ, आउनेक्रम जारी छ । सबैको सहयोग पाइएको छ ।

नेपाल सरकारले पनि निर्धारित समयमा नै चुनाव गराउन स्वीकृति दिइसकेकाले १३ गते नै चुनाव हुनेछ । यसैको तयारीमा छौं ।

जिल्लानगर उपाध्यक्षमा उम्मेद्वार बन्न तपाईंले चन्द्र ढकालकै प्यानलचाहिँ किन रोज्नुभयो ?

महासंघको नेतृत्व लिन चन्द्र ढकाल योग्य हुनुहुन्छ । उहाँको व्यावसायिक सञ्जाल पनि देशभर फैलिएको छ । उद्योगी व्यवसायीहरुको समस्या, गुनासा सुन्ने र समाधान गर्न सक्ने क्षमता उहाँमा बढी छ ।

उहाँको स्वभाव पनि व्यावसायिक हित हेर्ने खालको छ । उहाँको नेतृत्वमा महासंघले उचाइ लिन सक्छ । उद्योगी–व्यवसायीको हितका लागि नीति निर्माणमा उहाँले राम्रो भूमिका खेल्न सक्नुहुन्छ । सरकार होस् या राजनीतिक दल वा निजामती कर्मचारी सबैतिर उहाँको पहुँच पुग्छ ।

उहाँको नेतृत्वमा व्यवसायमैत्री नीति निर्माणका लागि लविङ गर्न सजिलो हुन्छ । जिल्ला नगरका साथीहरूले उहाँको स्वभावका कारण पनि समर्थन गर्नुभएको छ । उहाँले सबैको कुरा सुन्नु भएको छ । समाधान गर्न सक्नुहुन्छ । सबैको समस्या बुझेर सम्बोधन गर्नसक्नुहुन्छ भनेर नै हामी ढकालको प्यानलमा छौंँ ।

आफ्नो पक्षमा नतिजा आउला भन्नेमा विश्वस्त हुनुहुन्छ ?

मैले साथीहरूको सरसल्लाह अनुसार नै उम्मेदवारी दिएको हुँ । म जित्छु भन्नेमा शतप्रतिशत ढुक्क छु । मसँग जिल्ला नगरमा १५ वर्ष र जिल्ला नगर संघमा ७ वर्ष काम गरेको अनुभव छ ।

अहिले पनि जिल्ला–नगरको सल्लाहकार संयोजक छु । २२ वर्षे व्यावसायिक यात्रामा १०६ वटै उद्योग वाणिज्य संघमा गएको छु । त्यहाँका समस्या प्रत्यक्ष बुझेको छु र समाधान पनि गर्न सक्छु ।

यसकारण मलाई मेरो साथीहरूले अत्यधिक मतले विजयी गराउनुहुन्छ भन्नेमा विश्वस्त छु । साथीहरूको भावना बुझेरै काम गर्नेछु ।

उद्योगी–व्यवसायीले तपाईंलाई किन जिताउने ? तपाईंका एजेण्ड के हुन् ?

जिल्ला नगरको समस्या भनेको धेरै स्थानीय तहमा नै हुन्छ । ९० प्रतिशत समस्या तलै हुने हो । स्थानीय सरकार, स्थानीय प्रशासन, स्थानीय करका विषयमा समस्याहरू हुन्छन् । पहिलो कुरा स्थानीयस्तरका समस्या समाधान गर्नेछु ।

दोस्रोमा ऐन कानुनका कुराहरू छन् । व्यवसायी मैत्री ऐन कानुन निर्माणका लागि र महासंघ, जिल्ला नगरबीच बढेको दुरी घटाउन मेरो भूमिका रहन्छ । जिल्ला नगरको तर्फबाट उपाध्यक्ष प्रमोद श्रेष्ठले जित्नुभएको थियो । तर उहाँ एक महिना पनि हुन पाउनु भएन ।

महासंघमा ५० प्रतिशत जिल्लानगरको अधिकार स्थापित गराउनु छ । जिल्ला नगर परिषद्लाई सक्रिय गराउनु छ । महासंघमा जिल्ला नगर हेर्ने छुट्टै सचिवालय बनाउनु छ । जिल्ला नगरका गुनासा, समस्या सुनेर तत्काल समाधान हुने वातावरण बनाउँछु । योसँगै रोजगारीका अवसर सिर्जना गर्ने, स्वरोजगार बनाउने पनि गर्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा गएका हाम्रा धेरै दाजुभाइ दिदीबहिनीलाई स्वदेशमै रोजगारी दिने वा स्वरोजगार बनाउने कामलाई प्राथमिकता दिइनेछ । अहिले व्यावसायिक कृषिमा राम्रो अवसर छ । यसलाई प्रवर्द्धन गर्नुपर्छ । विदेशमा सिकेका सिप स्वदेशमा सदुपयोग गराउनेमा हामी केन्द्रित हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment