+
+
Shares

मोरङका ६ पालिकाले एक साथ विद्यालय खोल्ने, संक्रमणको जोखिम उस्तै

हरि अधिकारी हरि अधिकारी
२०७७ मंसिर ११ गते १५:५८
फाइल तस्वीर

११ मंसिर, विराटनगर । मोरङका ६ वटा पालिकाले एकसाथ विद्यालय खोल्ने निर्णय गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैतदेखि बन्द विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर १५ मंसिरदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कानेपोखरी र बुढीगंगाले भने यसअघि नै विद्यालय सञ्चालन गर्दै आएका थिए । विज्ञहरूले भने संक्रमणको जोखिम कायम रहेको बताएका छन् ।

चिसो मौसममा कोरोना भाइरस फैलने जोखिम बढी हुन्छ । महामारीको बेला विद्यालय सञ्चालन गर्दा संक्रमण फैलन सक्ने जोखिम हुने जनस्वास्थ्यविद डा. नवराज सुब्बा बताउँछन् । ‘हिजोको जसरी विद्यालय सञ्चालन गर्दा संक्रमण फैलन्छ,’ उनी भन्छन्, ‘मोरङ कोरोना प्रभावित जिल्ला हो, सामान्य सतर्कताले संक्रमण बढाउन सक्छ ।’

संक्रमणको जोखिम कम भएका पहाडी जिल्लामा भने सतर्कतासहित विद्यालय सञ्चालन गर्न सहज हुने सुब्बा बताउँछन् । मोरङमा ११ हजार ८७८ संक्रमित छन् । ‘विद्यालय खुला गर्ने हुँदा हात धुने र बस्ने व्यवस्थामा ध्यान दिनुपर्छ’ सुब्बा भन्छन् ‘धेरै विद्यार्थी हुँदा व्यवस्थापन गर्न गाह्रो हुनसक्छ ।’

जोखिम बढीरहेको अवस्थामा स्थानीय तहले विद्यालय खुला गर्न थालेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् । ‘विद्यालय सञ्चालन गर्दा बालबालिकामा संक्रमणको जोखिम बढ्छ’ उनी भन्छन् ‘स्थानीय तहले विद्यालय खुला गरेपनि हामीसँग समन्वय गरेका छैनन् ।’

सोमबारबाट विद्यालय खुला गर्ने तयारीमा रहेको कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामत कोरोनाको जोखिम कम भएकाले विद्यालय खुला गर्ने निर्णय भएको बताउँछन् । ‘कोरोना जाँच गर्न हिजोको जस्तो चासो कसैले दिदैनन्’ कामत भन्छन् ‘पोजेटिभ आए होम आइसोलेसनमा बस्छन् ।’

विद्यालय पुगेपछि ज्वरो नाप्ने र कक्षा कोठामा पनि सतर्कता अपनाइने उनले जानकारी दिए ।

मोरङको कानेपोखरी गाउँपालिकाले बुधबारबाट विद्यालय सुचारु गरेको छ । बुढीगंगा गाउँपालिकाको नरग्राम माध्यमिक विद्यालयले ८ मंसिरबाट दुई सिफ्टमा विद्यालय सञ्चालन गरिरहेको छ ।

६ पालिकाको तयारी

आगामी सोमबारबाट रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका , रंगेली नगरपालिका , धनपालथान गाउँपालिका , जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुला गर्न लागेका हुन । ६ वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखबीचको छलफलले एकैसाथ विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

६ वटा पालिकाले विद्यालयमा विद्यार्थी–शिक्षकहरूलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्र्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने, थर्मल गनको व्यवस्था पालिकाले गर्ने, विद्यालयले प्रत्येक हप्ता विद्यालय भाइरसरहित गर्ने व्यवस्था मिलाउने छन् ।

कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरूलाई विहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्नेछन् । शिक्षक विद्यार्थीलाई कोरोनाको लक्षण देखिए पीसीआर जाँच पछि मात्र विद्यालय आउन पाउने व्यवस्था मिलाइएको छ ।

 

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?