Comments Add Comment

‘१४ गतेपछि हाम्रो टिमको भिजनले काम गर्छ’

११ मंसिर, काठमाडौं । आगामी शनिबार हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अञ्जन श्रेष्ठ वस्तुगत संघ तर्फबाट उपाध्यक्षका उम्मेदवार बनेका छन् । नाडा अटो मोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष भइसकेका उनी पोखराबाट उदायका व्यवसायी हुन् । व्यवसायिक घराना लक्ष्मी ग्रुपको कार्यकारी निर्देशक रहेका उनी डेढ दशकदेखि महासंघमा आवद्ध छन् ।

पटकपटक केन्द्रीय सदस्य बनिसकेका श्रेष्ठ यसपटक अर्का आकांक्षी उमेशलाल श्रेष्ठसँग वस्तुगत उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । उनीसँगको चुनावी वार्ता :

चुनाव आउँन अब २ दिनमात्रै बाँकी रहँदा तपाईंको पक्षमा कस्तो माहोल छ ?

निकै राम्रो माहोल बनेको छ । साथीहरुको प्रतिक्रियाले म निकै उत्साहित छु । वस्तुगत संघका धेरै अध्यक्षज्यूहरुले मलाई समर्थन गर्ने बताउनु भएको छ । उहाँहरुको प्रतिक्रियाले मेरो लागि उर्जामा उर्जा थपेको छ ।

चुनावमा प्रचारमा अलि कम हिड्नु भएको जस्तो देखियो नि ?

चुनाव प्रचारका लागि म बाहिर गइन । म वस्तुगत तर्फबाट भएका कारण मैले जिल्ला–जिल्ला जान पर्दैन । बाहिर वस्तुगतमा धेरै हुनुहुन्न । यहाँ भने म सक्रिय नै छु । धेरै साथीको समर्थन छ । भनिहालेँ, वस्तुगत अध्यक्षज्यूहरुले मलाई उर्जामा थप्नु भएको छ । उत्साह थप्नु भएको छ । अहिलेको अवस्था हेर्दा म विजय उन्मुख छु ।

तपाईंका एजेण्डाहरु के–के हुन् ? निर्वाचित भए के गर्ने योजना छ ?

वस्तुगतमात्रै होइन समग्र व्यवसायका समस्याहरु एकै किसिमका छन् । मुख्य कुरा भनेको व्यवसायिक वातावरण र लगानी सुरक्षा हो । यो कुरा गर्दा पहिलो कुरा नीतिगत स्पष्टता चाहिन्छ । बनेका नीतिहरु लागू हुनुपर्छ । नियन्त्रण गर्ने होइन, सुविधा दिने, व्यवसायिक वातावरण बनाउने, लगानी प्रोत्साहन गर्ने नीति–नियमहरु आउन पर्यो ।

पछिल्लो समय बनेका कानूनहरु यस्ता छैनन् । पहिले थुन्ने, पछि सुन्ने नियतका नियमहरु आएका छन् । यो विषय मैले उठान गरेको छु ।

कष्ट अफ डुइङ विजनेशको सन्दर्भमा हाम्रा पूर्वाधारहरु कमजोर छन् । यसमा ध्यान दिनु पर्छ । पहाडी सडकहरुको स्तरोन्नति गर्नुपर्नेछ । त्यसले यातायात खर्च घटाउँछ । अहिले पूर्व–पश्चिम रेलमार्गको काम भइरहेको छ । मध्य पहाडमा पनि एउटा सिधा रेलमार्ग चाहिन्छ । लुम्बिनी–पोखरा–काठमाडौं रेलमार्ग आवश्यक छ । काठमाडौं–विरगञ्ज रेलमार्गको कुरा पनि अघि बढाउनु पर्छ ।

रेलमार्गले कच्चा पदार्थ ल्याउने, लैजाने कामलाई सस्तो बनाएर उपभोक्तालाई सहज हुन्छ । लागतकै कुरा गर्दा बैंकको ब्याजदरको कुरा आउँछ । व्याजदर एकल बिन्दुमा स्थिर हुनुपर्छ । मुख्य कुरा लागत र वातावरणकै हो ।

अर्को कुरा देशलाई स्वालम्बी बनाउनु पर्छ । यसका लागि कृषिलाई आधुनिजकरण, खनिजहरुको उपयोग र वनजन्य उत्पादनको प्रयोग गर्नपर्छ । सरकारले सिमेन्ट उद्योगका लागि सडक र विजुली पुर्याउन १० करोड रुपैयाँ दिने घोषणा गरेको केही वर्षमा हामी सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेका छौं ।

अन्य उद्योगहरुलाई पनि यस्तो गर्न सकिन्छ । यहाँ फलाम खानीको कुरा भइरहेको छ । वार्षिक १५ लाख मेट्रिकटन फलामका सामान आयात भइरहेको छ । यहीँ उत्पादन गर्ने प्रचुर सम्भावना छ । यसका लागि पीपीपी मोडलमा काम गर्न सकिन्छ । यि कुराहरुका लागि मूख्य पक्ष भनेको व्यवसायिक वातावरण र लगानीको सुरक्षा नै हो । हाम्रो ध्यान यसमै केन्द्रित हुनेछ ।

निजी क्षेत्र एक भएर अघि बढ्नु पर्ने तपाईंहरु दुई फ्याक भएर प्यानल नै बनाएर जानु भो ? यसरी महासंघको एकता कायम हुन्छ ?

निजी क्षेत्र चुनावले गर्दा दुई फ्याक हुँदैन । यो एउटा फ्रेण्ड्ली म्याच हो । हिजो हामी बिद्यार्थी हुँदा पनि फुटबल खेल्थ्यौँ, प्रचिस्पर्धा हुन्थ्यो्, खेल सकिएपछि पुनः हार्दिकता हुन्थ्यो । अहिले पनि हामी फ्रेण्ड्ली म्याचमा छौँ । चुनावपछि जो नेतृत्वमा आएपनि हार्दिकता र सहकार्य नै हुन्छ ।

निर्वाचनका लागि तपाईले किशोर प्रधान नेतृत्वको प्यानल रोज्नु भयो, किन ?

यो शेखर गोल्छाको टीम हो । १४ गतेपछि गोल्छा अध्यक्ष हुन्छन्, हामी १३ गते निर्वाचित हुन्छौँ । हाम्रो टीम गोल्छलाई सहयोग गर्न बनेको हो । यो टीम अनुभवी छ । किशोर प्रधानसँग २७ वर्षको अनुभव छ । दिनेश श्रेष्ठसँग २० वर्षको अनुभव र ज्ञान छ । मैले पनि ३० को व्यवसायिक अनुभव बटुलेको छु । महासंघमा १६ वर्ष योगदान गरेको छु । १२ वर्षयता कार्यसमिति मै छु ।

मेरो भूमिका सधैं शसक्त छ । सौरभजी पनि संस्थागत रुपमा सफल व्यवसायी हुनुहुन्छ । शेखरजीसँग १० वर्षे भिजन छ । हामी जितेर गएर उहाँलाई सघाउँछौँ । पहिलो कार्यसमिति बैठकबाट उहाँको भिजन अनुमोदन हुनेछ । नीजी क्षेत्रले लिनुपर्ने अवको नीतिबारे त्यो भिजनमा छ । त्यस कारण पनि यो टीम जरुरी छ ।

तपाईंले भन्नु भएको १० वर्षे कार्ययोजनामा के छ ?

मुलभूतरुपमा तीन वटा कुरा समेटीएको छ । सफल, सुदृढ निजी क्षेत्र भन्ने हाम्रो एजेण्डा छ । नेपालमा निजी क्षेत्रको भूमिका ७० प्रतिशत भन्दा बढी छ । कुल ग्राहस्त उत्पादनमा हाम्रो ठूलो योगदान छ ।

आर्थिक समृद्धिको ढोका खोल्न सरकारले हामीलाई सघाउने हो, अनुगमन गर्ने हो । काम गर्ने हामी निजी क्षेत्रले नै हो । कोभिडका कारण अर्थतन्त्र शून्य दरमा छ । अर्थतन्त्रलाई ऋणात्मक हुनबाट रोक्नुपर्ने छ ।

हाम्रो कार्यसमितिले १० वर्षे योजनामा १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिनेछ । दोस्रो कुरा रोजगारी सृजना हो । कोभिडले स्वदेशमा रोजगारी गुमाएका, विदेशबाट फर्किएका र हरेक वर्ष श्रम बजारमा आउने युवालाई सम्बोधन गर्न पनि निजी क्षेत्रले काम गर्ने छ । यसका लागि हामी श्रम बजारको आवश्यकताअनुसारको अध्ययन, तालिम र क्षमता तथा विवरणको डिजिटल डाटा बनाउन हामी काम गर्नेछौँ ।

कोरोना भाइरसको संक्रमणका कारण विदेशबाट युवा फर्किरहेका छन् । देशभित्रै पनि वार्षिक ४ लाख युवा श्रम बजारमा आउँछन् । यी युवालाई व्यवस्थापन गर्ने जिम्मेवारी निजी क्षेत्रमा छ । यसमा सरकारको पनि भूमिका हुन्छ । सरकारले समन्वय गर्नुपर्ने हुन्छ । यसका लागि तथ्यांक बन्नु पर्छ । तथ्यांकले शिक्षा र तालीमलाई श्रमसँग जोड्न सहयोग पुग्छ ।

श्रम बजारमा आवश्यक पर्ने र माग अनुसारको शिक्षा र तालीम सञ्चालनको अवस्था हुनुपर्छ । विदेश गएका दाजुभाइको पनि एउटा डाटावेश हुनुपर्छ । युवा विदेश जाँदा र फर्कदाको अवस्था पनि हेर्न पर्यो । के परिवर्तन भयो, त्यो त थाहा पाउनु पर्‍यो ।

स्वदेश फर्कँदा नाकाबाटै उनीहरुको विस्तृत तथ्यांक राख्न सकियो भने जनशक्तिको यर्थाथ जानकारी हुन्छ । भोली ति युवाले नेपालमा जागिर खोज्दा उसको क्षमता अनुसारको काम पाउने वातावरण बन्छ ।

अर्को विषय व्यापार घाटा न्यूनिकरणको छ । कोरोना भाइरसको संक्रमणका बीच अहिले आयात केही रोकिएका कारण व्यापार घाटा घटेको देखिए पनि यसको प्रवृत्ति निकै कहालीलाग्दो छ । पछिल्लो १०–१५ वर्षयता व्यापार घाटा निरन्तर बढिरहेको छ ।

व्यापार घाटा कम गर्न मुलुकभित्र उत्पादन बढ्नु पर्छ । यसका लागि पहिलो काम कृषि क्षेत्रलाई प्राथमिकता दिइनुपर्छ । वन, खनिज, जलस्रोत नेपालका बढी सम्भावना बोकेका क्षेत्र हुन् । अब स्वदेशी उद्योगको प्रवद्र्धनका लागि जलविद्युतमा सहुलियतको नीति ल्याउनु पर्छ ।

यसले एकातर्फ मुलुकमा उत्पादित जलविद्यूत स्वदेशमै खपत हुने वातावरण बन्छ । अर्कोतर्फ उत्पादकत्व बढेर उद्योगहरु प्रतिस्पर्धी बन्छन् । हाम्रो उत्पादन छिमेकी मुलुकको तुलनामा सस्तो पर्न जान्छ । त्यो अवस्थामा हाम्रा उत्पादनले सहजै बजार पाउँछन् ।

नेपालले बढी सम्भावना बोकेको अर्को क्षेत्र हो, पर्यटन । विदेशी मुद्रा आर्जन गर्ने मुख्य माध्यम बनेको पर्यटनलाई अब पराम्परागत रुपमबाट नभई प्राथमिकतामा राखेर प्रवद्र्धनको नीति ल्याउनु पर्छ । विगतका गन्तव्यलाई कायम राख्दै अब नयाँ नयाँ गन्तब्यमा जानु पर्छ । तराई, पहाड र हिमाल सबै पक्षलाई प्रवर्द्धनका माध्यम बनाउन सकिन्छ ।

यसका लागि सरकारले पूर्वाधारमा बढीभन्दा बढी लगानी गर्नुपर्छ । निजी क्षेत्रले होटेलसहित अन्य उत्पादनमा लगानी गर्छ । तनहुँको मानहुकोट हेर्नुहोस, पृथ्वी राजमार्गमा यात्रा गर्नेहरु नै त्यहाँ पुगेर अवलोकन गरिरहेका छन् ।

सोही राजमार्ग प्रयोग गर्नेहरुकै कारण बन्दिपुरमा आन्तरिक पर्यटक पुगिरहेका छन् । अहिले मर्दी हिमालको आकर्षण बढेको छ । यसैगरी अब नयाँ क्षेत्रको खोजी गर्दै जानुपर्छ । त्यसका लागि पूर्वाधारमा सरकारले लगानी गर्नुपर्छ ।

निजी क्षेत्रले व्यवसायका लागि लगानी गर्छ । हाम्रो उद्देश्य सवल, सुदृढ र सफल निजी क्षेत्र हो । यसका लागि हामीले लगानीको र व्यवसायिक वातावरण बनाएर आर्थिक रुपमा नेपाललाई माथि उठाउँने हो । यो वातावरण बनाउन हामी नीतिगत काम गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment